close

एन्ड्रोइडका १९ टच जेस्चर, स्मार्ट बन्न यसरी गर्नुहोस् प्रयोग

टेकपाना टेकपाना

मंसिर ७, २०८२ १४:४६

एन्ड्रोइडका १९ टच जेस्चर, स्मार्ट बन्न यसरी गर्नुहोस् प्रयोग

काठमाडौँ । मल्टी-टच डिस्प्लेको आगमनदेखि नै जेस्चर (Gestures) हाम्रो स्मार्टफोन अनुभवको प्रमुख आधार बनेका छन् । अब हामी फोटोमा जुम गर्नका लागि 'पिन्च' (डबल ट्याप) गर्ने वा ट्वीटर (एक्स) रिफ्रेश गर्न तल तान्ने जस्ता सामान्य अन्तरक्रियाहरूमा खासै ध्यान दिँदैनौँ ।

एन्ड्रोइड १० सँगै जेस्चर नेभिगेसनले तीन-बटन नेभिगेसन प्रणाली (ब्याक, होम र मल्टिटास्किङ) लाई प्रतिस्थापन गरिसकेको छ । जसले तल्लो भागमा बटनहरू नदेखिने गरी प्रयोगकर्ताको अनुभवलाई सहज बनाएको छ ।

यद्यपि एन्ड्रोइड इकोसिस्टम साधारण जेस्चरहरू भन्दा धेरै लुकेका वा कम परिचित तरिकाले भरिपूर्ण छ । यी जेस्चर प्रयोग गरेर तपाईँ आफ्नो एन्ड्रोइड डिभाइस अझ छिटो, प्रभावकारी र सहज रूपमा चलाउन सक्नुहुन्छ ।

१. फास्ट नेभिगेसनको आधारभूत तरिका

जेस्चर नेभिगेसन सक्रिय गरिएपछि, स्क्रिनको तलका बटनहरू हराउँछन् र यी कार्यहरू स्वाइपबाटै पुरा गर्न सकिन्छ ।

  • होम स्क्रिनमा जान: स्क्रिनको तल्लो भागबाट माथि स्वाइप गर्नुहोस् ।

  • पछिल्ला एपहरू (Recent Apps) हेर्न: स्क्रिनको तल्लो भागबाट माथि स्वाइप गर्नुहोस् र केही बेर होल्ड गर्नुहोस् ।

  • पछाडि फर्कन (Go Back): स्क्रिनको बायाँ वा दायाँ किनाराबाट बिचतिर स्वाइप गर्नुहोस् । यो जेस्चरले एन्ड्रोइडमा जुनसुकै एपमा पनि काम गर्छ ।

  • एपहरूबिच तुरुन्तै स्विच हुन: खोलिएका एपहरूबिच तुरुन्तै स्विच गर्नका लागि स्क्रिनको सबैभन्दा तल रहेको होरिजन्टल जेस्चर बार (तेर्छो धर्सो) लाई बायाँ र दायाँतिर ड्र्याग (तान्नुहोस् ) होस् ।

  • डिजिटल असिस्टेन्ट सक्रिय गर्न: स्क्रिनको सबैभन्दा तल रहेको होरिजन्टल जेस्चर बार (तेर्छो धर्सो) माथि केही बेर थिचिराख्नुहोस् ।

२. मल्टि-टच र स्क्रिन कस्टमाइज जेस्चर

धेरै औँलाको प्रयोग वा विशेष तरिकाले गरिने टचले कामलाई झन् सहज बनाउँछ:

  • तुरुन्तै सेटिङ (Quick Settings) खोल्न: नोटिफिकेसन प्यानल खोल्न एक वा दुई औँलाले तल स्वाइप गर्नुहोस् ।

  • एक हातले जुम गर्न: गुगल म्याप्स, गुगल फोटोज वा गुगल ड्राइभमा फोटो वा पीडीएफ हेर्दा जुम गर्न एक औँलाले दुई पटक ट्याप गर्नुहोस् । दोस्रो ट्यापलाई होल्ड गर्नुहोस् र त्यसपछि जुम इन गर्न तल र जुम आउट गर्न माथि स्वाइप गर्नुहोस् ।

  • पीआईपी (Picture-in-Picture) विन्डोको साइज कस्टमाइज गर्न: युट्युब, गुगल म्याप्स जस्ता एपहरूबाट आएको फ्लोटिङ पीआईपी बक्सको साइज बढाउन वा घटाउन पिन्च-टु-जुम (अर्थात् दुई औँला एकसाथ स्क्रिनमा राखेर नजिक वा टाढा लैजाने) अथवा डबल ट्याप प्रयोग गर्नुहोस् ।

  • साइड मेनु (Hamburger Menu) अर्थात् ३ थोप्ला वा धर्सा भएको मेनु खोल्न: ‘ब्याक’ जेस्चरसँग नजुधोस् भनेर धेरै एपहरूमा बायाँ किनाराबाट भित्रतिर स्वाइप गर्ने प्रयास गर्नुहोस् ।

  • एक हाते मोडको लागि: पिक्सेल लगायतका कतिपय डिभाइसमा ठुलो स्क्रिनको तल्लो भागमा तल स्वाइप गरेर सम्पूर्ण स्क्रिनको कन्टेन्टलाई एकहातको सजिलो पहुँचमा तल झार्न सकिन्छ ।

  • सामसङमा स्प्लिट-स्क्रिन: सामसङ ग्यालेक्सी डिभाइसहरूमा स्प्लिट-स्क्रिन मल्टिटास्किङ सुरु गर्नका लागि स्क्रिनको तल्लो भागबाट दुई औँलाले माथि स्वाइप गर्नुहोस् ।

३. किबोर्ड र टेक्स्ट कन्ट्रोल जेस्चर

गुगलको जीबोर्ड (Gboard) किबोर्डमा यी जेस्चरले टाइप गर्न छिटो बनाउँछन् ।

  • कर्सरलाई ठिक स्थानमा सार्न: कर्सरलाई टाइप गरिरहेका अक्षरहरूबिच सटीक स्थानमा राख्नका लागि स्पेस बारमा आफ्नो औँला दायाँ वा बायाँ स्लाइड गर्नुहोस् । यो जेस्चरले सही स्थानमा ट्याप गर्न पटक-पटक गर्नुपर्ने प्रयासलाई कम गर्छ ।

  • तुरुन्तै सिम्बोल इन्सर्ट गर्न: ?123 किलाई ट्याप गर्नुहोस्, आफ्नो औँलालाई चाहिएको सिम्बोलमा स्लाइड गर्नुहोस् र त्यसपछि छोड्नुहोस् । यसरी सिम्बोल राखिएपछि किबोर्ड स्वतः वर्णमाला (अल्फाबेटिकल) मोडमा फर्किन्छ ।

४. एपभित्रका स्मार्ट जेस्चर

निश्चित एपहरूमा काम गर्ने यी जेस्चरहरूले अन्तरक्रियालाई सरल बनाउँछन्:

  • युट्युब फुलस्क्रिन: भिडिओ प्ले भइरहेको बेला स्क्रिनमा माथि स्वाइप गरेर फुलस्क्रिनमा जानुहोस् । बाहिर निस्कन तल स्वाइप गर्नुहोस् ।

  • युट्युबमा तुरुन्तै सिक (Seek) गर्न अर्थात् अघि पछि जान: भिडिओमा एक औँलाले बायाँ वा दायाँतिर दुई पटक ट्याप गर्दा १० सेकेन्ड अगाडि वा पछाडि जान्छ ।

  • युट्युबमा च्यापटरहरू स्किप गर्न: दुई औँलाले स्क्रिनको छेउमा दुई पटक ट्याप गर्दा भिडिओको प्रत्येक च्याप्टरमा अगाडि वा पछाडि जान सकिन्छ (च्याप्टर विभाजन गरिएका भिडिओको लागि) ।

  • गुगल फोटोजमा फोटो छनोट: धेरै फोटोहरू छनोट गर्नका लागि एउटा फोटोमा ट्याप गरी होल्ड गर्नुहोस् । त्यसपछि अरू फोटोहरूमाथि ट्याप गर्दै जानुहोस् ।

  • गुगल क्रोममा ट्याब स्विच गर्न: क्रोम ब्राउजरमा खुलेका ट्याबहरूबिचमा स्विच गर्नका लागि माथि रहेको यूआरएल बारमा बायाँ वा दायाँ स्वाइप गर्नुहोस् । यो तरिकाले ब्रेभ लगायतका अन्य केही ब्राउजरमा पनि काम गर्छ ।

  • गुगलका एपहरूमा अकाउन्ट परिवर्तन: जिमेल, गुगल सर्च, फोटोज र प्ले स्टोर जस्ता गुगल एपहरूमा माथि दायाँ कुनामा रहेको प्रोफाइल आइकनमाथि वा तल स्वाइप गरेर तुरुन्तै अकाउन्टहरू परिवर्तन गर्न सकिन्छ ।

 

पछिल्लो अध्यावधिक: मंसिर ७, २०८२ १४:४६