फेसबुकको ‘लन्च स्क्रिन’ मा देखियो फरक किसिमको लोगो, तपाईंले चाल पाउनुभयो ?
मंसिर ९, २०८२ २०:५५
काठमाडौँ । फेसबुकको मोबाइल एप खोल्दा प्रयोगकर्ताले फरक किसिमको लोगो देख्न थालेका छन् । एप खोल्नासाथ ‘स्प्लाश स्क्रिन’ (लन्च स्क्रिन) मा देखिने लोगो फेसबुकको आधिकारिक लोगोभन्दा पृथक् देखिएको हो ।
सामान्यतः फेसबुकको आधिकारिक लोगो नीलो र सेतो रङ्गको हुने गर्छ । तर, अहिले एप खोल्नासाथ मुख्य पेज आउनुभन्दा अगाडि क्षणिक रूपमा देखिने लोगोमा विभिन्न रङ्ग उछिट्टिएको जस्तो देखिएको छ ।
यस्तो परिवर्तन देखिएपछि प्रयोगकर्ताले विभिन्न अनुमान लगाउन थालेका छन् । डिसेम्बर महिना अर्थात् जाडो याम सुरु हुन लागेकाले फेसबुकले हिउँ वा शीत परिरहेको जस्तो देखिने गरी ‘विन्टर थिम’ राखेको हुनसक्ने कतिपयको अनुमान छ । यद्यपि यो नयाँ डिजाइन हो वा प्राविधिक त्रुटि भन्नेबारे कम्पनीले आधिकारिक जानकारी दिएको छैन ।
यस विषयमा ‘रेडिट’ लगायतका अनलाइन प्लेटफर्ममा पनि चर्चा भइरहेको छ । त्यहाँ व्यक्त गरिएका प्रतिक्रिया हेर्दा एन्ड्रोइड तथा आईओएस दुवै अपरेटिङ सिस्टमका प्रयोगकर्ताले आफ्नो मोबाइलमा यस्तो परिवर्तन महसुस गरेको देखिन्छ ।
यसअघि फेसबुकको मोबाइल एपमा रियाक्सन इन्टरफेस फेरिएको थियो । डबल ट्याप गर्दा लाइक हुने फिचर पनि थपिएको छ । यो नयाँ लोगो त्यही परिवर्तनको हिस्सा हो वा क्षणिक समयका लागि फेसबुकले उपलब्ध गराएको हो भन्ने स्पष्ट छैन ।
पछिल्लो अध्यावधिक: मंसिर ९, २०८२ २०:५५
