close

भ्रम र उत्तेजना फैलाउने ४८ युट्युब-फेसबुक पेजमाथि कारबाही, १३ ओटाको विवरण साइबर ब्युरोमा

टेकपाना टेकपाना

मंसिर ११, २०८२ ९:५०

भ्रम र उत्तेजना फैलाउने ४८ युट्युब-फेसबुक पेजमाथि कारबाही, १३ ओटाको विवरण साइबर ब्युरोमा

काठमाडौँ । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ४८ ओटा सामाजिक सञ्जाल (युट्युब च्यानल तथा फेसबुक पेज) माथि कारबाही प्रक्रिया अघि बढाएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै काउन्सिलले समाजमा हिंसा, त्रास र अफवाह फैलाउने सामग्री राखेको भन्दै ती माध्यमहरूलाई कारबाहीको दायरामा ल्याएको जनाएको हो ।

आफ्नो विशेष अनुगमनका क्रममा युट्युब र फेसबुकबाट अश्लील, उत्तेजक, गलत, निराधार र सामाजिक सद्भाव खलबल्याउने किसिमका सामग्री सम्प्रेषण भएको पाइएको काउन्सिलको भनाइ छ । 

कारबाहीमा परेका ४८ सामाजिक सञ्जाललाई तीन समूहमा वर्गीकरण गरिएको छ । यसअनुसार मिडिया अन्तर्गत आबद्ध भएर पनि आचारसंहिता विपरीत गलत, भ्रमपूर्ण र गालिगलौजयुक्त सामग्री सम्प्रेषण गर्ने २४ ओटा युट्युब र फेसबुक पेजलाई काउन्सिलले सचेत गराएको छ । ती माध्यमहरूलाई अब उप्रान्त यस्ता सामग्री सम्प्रेषण नगर्न निर्देशन दिइएको छ । यस समूहमा ‘एभिन्युज खबर’ लाई जवाफ पेस गर्न पत्राचार गरिएको छ भने ‘अबाउट नेपाल’, ‘इन्द्रेणी टाइम्स’, ‘मधेश खबर’ लगायतलाई सचेत गराइएको छ ।

त्यसैगरी मिडियाकै झल्को दिने तर दर्ता वा अभिलेख नभएका १० ओटा सामाजिक सञ्जाललाई त्यस्ता सामग्री तत्काल हटाउन र नियमअनुसार दर्ता भई आचारसंहिताको परिधिभित्र रहन निर्देशन दिइएको छ । यसमा ‘धरान अनलाइन न्युज’, ‘गुड न्युज नेपाल’, ‘इन्फो खबर न्युज’, ‘नेपाल सन्देश’ लगायत छन् ।

अर्कोतर्फ सम्पर्क ठेगाना नखुलेका र गम्भीर प्रकृतिका सामग्री सम्प्रेषण गर्ने १३ ओटा सामाजिक सञ्जालमाथि थप अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा पत्राचार गरिएको छ । प्रहरीको जिम्मा लगाइएकाहरूमा ‘मेरो नेपाल’, ‘के६ नेपाल न्युज’, ‘मुग्लानी खबर एचडी’, ‘नागरिक आवाज’, ‘नेपालतन्त्र’ लगायतका पेज तथा च्यानलहरू छन् ।

प्रेस काउन्सिलले पत्रकारिताको मूल्यमान्यता विपरीत समाजमा उत्तेजना, घृणा तथा द्वेष फैलाउने सामग्री सम्प्रेषण नगर्न सञ्चार माध्यम तथा आम सर्वसाधारणलाई अपिल समेत गरेको छ ।

पछिल्लो अध्यावधिक: मंसिर ११, २०८२ १०:४८