रङ्गशालाको कुर्सीमा खुट्टा राखेको फोटो विवादित भएपछि अभिनेत्री करिश्मा श्रेष्ठले मागिन् माफी
मंसिर १२, २०८२ १७:५२
काठमाडौँ । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेल हेर्ने क्रममा त्रिवि क्रिकेट मैदानको प्यारापिटमा रहेको कुर्सीमा खुट्टा राखेको तस्बिर सार्वजनिक भएपछि आलोचित बनेकी अभिनेत्री तथा मोडल करिश्मा श्रेष्ठले माफी मागेकी छन् । चौतर्फी आलोचनापछि बिहीबार सामाजिक सञ्जालमा एक भिडिओ राख्दै आफ्नो गल्ती स्वीकार गरेकी हुन् ।
केही दिनअघि श्रेष्ठले एनपीएलको खेल हेर्ने क्रममा इन्स्टाग्राममा पोस्ट गरेका तस्बिरहरूमा आफू बसेको सिटभन्दा अगाडिको कुर्सीमा खुट्टा राखेर पोज दिएको देखिएको थियो । सार्वजनिक सम्पत्तिको रूपमा रहेका कुर्सीमाथि खुट्टा राखेर अपमान गरेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनको तीव्र आलोचना गरेका थिए ।
उनले बिहीबार राखेको भिडिओमा रङ्गशालाको कुर्सी ढोग्दै कान समाएर उठबस गरेको देखिन्छ । साथै, रङ्गशाला परिसरमा छरिएका फोहोर टिपेर डस्बिनमा राखेकी छन् ।
भिडिओको क्याप्सनमा स्पष्टीकरण दिँदै उनले लेखेकी छन्, “मैले त्यो कुर्सीसँग व्यक्तिगत रूपमा माफी मागेँ । मेरो कसैलाई पनि अपमान गर्ने नियत थिएन भनेर सबै जनालाई स्पष्ट पनि पार्न चाहन्छु । मैले फोटोको लागि पोज दिन कुर्सीमा केही सेकेन्डको लागि मात्र खुट्टा राखेको थिएँ । यो आपत्तिजनक देख्न सकिन्छ भनेर मैले महसुस गर्न सकिनँ । यसले कसैको भावनामा ठेस पुर्याएको भएमा मनैदेखि माफी माग्न चाहन्छु ।”
माफी माग्दा प्रयोग गरिएको कुर्सी र खुट्टा राखेको कुर्सी फरक परेको भनी सामाजिक सञ्जालमा उठेको प्रश्नमा उनले आफूले रङ्गशालाका अन्य कुर्सीहरू पनि ढोग्दै हिँडेकाले भिडिओमा फरक पर्न गएको स्पष्टीकरण दिएकी छन् ।
श्रेष्ठले भिडिओ सार्वजनिक गरेसँगै अधिकांश प्रयोगकर्ताले गल्ती महसुस गर्नु नै ठुलो कुरा भएको भन्दै सकारात्मक कमेन्ट गरिरहेका छन् । कतिपयले भने कुर्सीमा खुट्टा राखेको भरमा नै सामाजिक सञ्जालमा आलोचना गर्नु सही नभएको समेत प्रतिक्रिया दिइरहेका छन् ।
पछिल्लो अध्यावधिक: मंसिर १२, २०८२ १८:५१
