close

नेपाली कन्टेन्ट क्रियटरका लागि सहयोग जुटाउने नेपाली प्लेटफर्म ‘बाई मि मःमः’

हिक्मत आचार्य हिक्मत आचार्य

मंसिर १५, २०८२ १२:१५

नेपाली कन्टेन्ट क्रियटरका लागि सहयोग जुटाउने नेपाली प्लेटफर्म ‘बाई मि मःमः’

काठमाडौँ । कुनै समय त्रिदेव गुरुङलाई कन्टेन्ट क्रियसनमा निकै रुचि थियो । आफ्नो सोख र रुचिलाई पछ्याउँदै उनी विभिन्न किसिमका अडियो-भिडिओ सामग्री बनाउँथे र उपलब्ध प्लेटफर्ममा अपलोड गर्थे । 

सिर्जनात्मक काममा मन रमाए पनि त्यसले जीवन धान्ने आम्दानी दिँदैनथ्यो । त्यतिबेला नेपालमा कन्टेन्ट क्रियटरलाई आर्थिक सहयोग गर्ने न कुनै संस्कृति थियो, न त सजिलो डिजिटल पूर्वाधार नै । प्लेटफर्म मनिटाइज गरेर आम्दानी गर्न सकिने अतिरिक्त विकल्प लगभग शून्य जस्तै थिए । आम्दानीको अनिश्चितता र विविध व्यावहारिक कारणले गर्दा उनले आफ्नो कन्टेन्ट क्रियसन यात्रालाई निरन्तरता दिन सकेनन् । अन्ततः सपनालाई थाती राख्दै उनी अमेरिका पलायन भए ।

त्रिदेव अहिले अमेरिकाको ‘बैँक अफ न्युयोर्क’ मा डेभसेक्टअप्समा वरिष्ठ उपाध्यक्षका रूपमा कार्यरत छन् । प्रविधिको उच्च ओहोदामा पुगे पनि उनको मन भने नेपालमै थियो । आफूले जस्तै अहिलेका नयाँ पुस्ताले समस्या भोग्नु नपरोस् भन्ने सङ्कल्पले उनलाई पछ्याइरहेको थियो । नेपालमा रहेका विभिन्न क्षेत्रका सिर्जनशील व्यक्तिलाई कसरी आर्थिक रूपमा सबल बनाउन सकिन्छ, कसरी उनीहरूको सिर्जनालाई सम्मान गर्दै आम्दानीसँग जोड्न सकिन्छ भन्ने प्रश्नले उनलाई घचघच्याइरहन्थे ।

यही हुटहुटीले एउटा नयाँ सोचको जन्म भयोः ‘बाई मि मःमः’ (Buy Me Momo) । झन्डै एक वर्षअघि उनले यसको डोमेन दर्ता गरे र आज यो प्लेटफर्म नेपाली कन्टेन्ट क्रियटरका लागि अतिरिक्त आम्दानीको एउटा राम्रो माध्यम बनेको छ । 

‘मःमः’ नै किन ? 

विभिन्न क्षेत्रका सिर्जनशील प्रतिभालाई सघाउन जन्मिएको प्लेटफर्मको नाम ‘बाई मि मःमः’ नै किन राखियो ? विश्व बजारमा ‘बाई मि अ कफी’ जस्ता प्लेटफर्म चर्चित छन् । तर, त्रिदेवलाई नेपालको मौलिकता झल्कने र हरेक नेपालीसँग भावनात्मक सम्बन्ध भएको नाम चाहिएको थियो ।

त्रिदेव भन्छन्, “मलाई मःमः असाध्यै मन पर्छ । हामी नेपालीहरू जहाँ भए पनि, जस्तो अवस्थामा भए पनि मःमः भनेपछि हुरुक्कै हुन्छौँ । साथीभाइ भेट्दा होस् वा खुसी साट्दा, ‘जाऔँ न त मःमः खान’ भन्ने हाम्रो लबज नै बनिसकेको छ । सन् २०१९ तिर मैले यूकेमा बस्ने साथी राजन जोशीसँग मिलेर ‘द मःमः सोसाइटी’ पडकास्ट पनि चलाएको थिएँ । त्यसैले मःमः शब्द मसँग एकदमै नजिक थियो ।”

त्रिदेव मःमः लाई केवल खानेकुरा मात्र नभई एउटा ‘भर्ब’ अर्थात् क्रिया ठान्छन् । यसले मानिसलाई जोड्छ । विदेशी प्लेटफर्मको नक्कल गरेर ‘कफी’ वा अन्य नाम राख्नुभन्दा नेपालीपन झल्कने ‘मःमः’ राख्दा प्रयोगकर्ताले छिटो र सहज रूपमा अपनत्व महसुस गर्छन् भन्ने उनको बुझाइ थियो । 

उनले ठट्टाकै शैलीमा डोमेन सर्च गर्दा ‘बाइ मि मःमः डटकम’ खाली भेटे र तत्कालै रजिस्टर गरे । यो नामले अहिले नेपाली डिजिटल स्पेसमा राम्रै चर्चा पाउन थालेको छ । कतिपयले त जिस्किँदै सोध्छन्, “यसले साँच्चै मःमः नै किन्ने हो कि क्या हो ?” तर, डिजिटल साक्षरता भएका र कन्टेन्ट क्रियसनमा लागेकाले भने यसको मर्म बुझिसकेको त्रिदेव सुनाउँछन् । यो विभिन्न क्षेत्रका सिर्जनशील व्यक्तिलाई आर्थिक हिसाबले समर्थन गर्ने र माया दर्साउने एउटा ‘मेटाफोर’ हो ।

समस्याको पहिचान र समाधान

अन्तर्राष्ट्रिय बजारमा ‘बाई मि अ कफी’, ‘प्याट्रिओन’ जस्ता प्लेटफर्म स्थापित छन् । तर, नेपालको सन्दर्भमा यी प्लेटफर्महरू प्रयोग गर्न अनेकौँ प्राविधिक र कानुनी जटिलता छन् । त्रिदेवले यो ग्यापलाई सूक्ष्म रूपमा केलाए ।

“बाई मि अ कफी वा प्याट्रिओन नेपालमा प्राविधिक र कानुनी रूपमा पूर्णतः उपलब्ध छैनन्,” त्रिदेव प्रस्ट पार्छन्, “त्यहाँबाट भुक्तानी लिन स्ट्राइप वा पेपाल चाहिन्छ, जुन नेपालमा चल्दैनन् । कसैले पेओनियर कार्ड बनाएर वा विदेशमा रहेका आफन्तमार्फत पैसा झिकाए पनि त्यो प्रक्रिया एकदमै झन्झटिलो र महँगो हुन्छ । मैले देखेको मुख्य समस्या यही थियो । नेपालमै बसेर, नेपालकै बैँक खातामा सिधै र सजिलै पैसा आउने वातावरण थिएन । त्यही ग्यापलाई पुरा गर्न मैले यो प्लेटफर्म बनाएको हुँ ।”

अर्कोतर्फ युट्युब, फेसबुक वा टिकटक जस्ता ठुला प्लेटफर्मको ‘गेट किपिङ’ को समस्या पनि उस्तै छ । युट्युबमा पैसा कमाउन १००० सब्स्क्राइबर्स र ४००० घण्टाको वाच टाइम चाहिन्छ । एक्समा पनि ५०० फलोअर्स र ५० लाख इम्प्रेसन चाहिन्छ । भर्खरै सुरु गरेका, तर राम्रो कन्टेन्ट बनाउनेहरूका लागि यो एउटा ठुलो तगारो हो ।

“मैले गेट किपिङको यो पर्खाल भत्काउन चाहेको हुँ,” त्रिदेव भन्छन्, “चाहे तपाईँको ५ फलोअर्स होस् वा ५ लाख, यदि तपाईँको काम राम्रो छ र मान्छेले मन पराउँछन् भने तपाईँले सहयोग पाउनुपर्छ । ‘बाई मि मःमः’ सबैका लागि खुला छ । यहाँ कुनै ठुला सर्तहरू छैनन् । मात्र हाम्रो नीति-नियम र कानुनी मापदण्ड पालना गरे पुग्छ ।”

दुई जनाको टोली र १०० दिनको यात्रा

अमेरिकामा रहेका त्रिदेव र नेपालमा रहेका उनका सह-संस्थापक पुष्पराज भट्टराई गरी जम्मा दुई जनाको टोलीले यो प्लेटफर्म हाँकिरहेको छ । ३० जनवरी २०२४ मा डोमेन किनेपछि १३ फेब्रुअरीमा त्रिदेवले एक्समा एउटा ट्वीट गरे, “मलाई एउटा प्रोजेक्टका लागि पेमेन्ट इन्टिग्रेसनमा राम्रो अनुभव भएको एक जनाको आवश्यकता परेको छ । मेरो सर्कलमा कोही हुनुहुन्छ भने कृपया डीएम गर्नुहोला ।”

त्यही ट्वीटबाट उनले पुष्पराजलाई भेटे । सुरुमा डेभलपरको रूपमा मात्र कुरा भए पनि पुष्पराजको लक्ष्य र त्यसप्रतिको रुचि मिलेपछि उनीहरू सह-संस्थापकका रूपमा अघि बढे । २७ मार्चमा गिटहबमा पहिलो कोड कमिट गरेदेखि १५ अगस्टमा लन्च हुँदासम्मको यात्रा निकै चुनौतीपूर्ण रह्यो । 

नेपालमा कम्पनी दर्ता प्रक्रिया, पेमेन्ट गेटवेको स्वीकृति र कानुनी कागजात मिलाउँदा सोचेभन्दा बढी, करिब ५ महिना लागेको त्रिदेव सुनाउँछन् । अन्ततः १५ अगस्टमा सामान्य ट्वीटमार्फत लन्च गरिएको यो प्लेटफर्मले १०० दिन पूरा गर्दा निकै लोभलाग्दो प्रगति गरेको छ । 

“हामीले अहिलेसम्म ३८ पटक भन्दा बढी सिस्टम अपडेट गरिसकेका छौँ,” त्रिदेव उत्साहित हुँदै सुनाउँछन्, “सुरुवाति चरणमा हामीले ‘वेटलिस्ट’ मोडलमा काम गरिरहेका छौँ । अहिलेसम्म करिब १००० जनाले रिक्वेस्ट पठाउनुभएकोमा मापदण्ड पुगेका ५८० जनालाई एप्रुभ गरेका छौँ र ३६९ जना भेरिफाईड क्रियटरका रूपमा सक्रिय हुनुहुन्छ । यो १०० दिनमा हामीले १७५० प्लेट मःमः (सहयोग) सर्भ गरिसकेका छौँ ।”

सुरक्षा, पारदर्शिता र विश्वास

आर्थिक कारोबार हुने प्लेटफर्म भएकाले सुरक्षा र विश्वास सबैभन्दा महत्त्वपूर्ण पक्ष हो । त्रिदेव आफैँ डेभसेक्टअप्सको विज्ञ भएकाले सुरक्षामा कुनै सम्झौता नगरिएको दाबी गर्छन् ।

“हामी प्रयोगकर्ताको कुनै पनि संवेदनशील बैँकिङ विवरण (कार्ड नम्बर, पासवर्ड) हाम्रो सर्भरमा राख्दैनौँ,” उनी आश्वस्त पार्छन्, “सबै कारोबार कनेक्ट आईपीएस, खल्ती, इसेवा वा स्ट्राइपजस्ता सुरक्षित गेटवेमार्फत हुन्छ । हाम्रो सिस्टमले केवल ट्रान्जेक्सन सफल भयो कि भएन भन्ने जानकारी मात्र राख्छ । डेटा सुरक्षाका लागि हामीले AES-256 Encryption र क्लाउड फ्लेयर जस्ता अत्याधुनिक प्रविधि प्रयोग गरेका छौँ । यदि भोलि हाम्रो सिस्टममा केही भइहाल्यो भने पनि प्रयोगकर्ताको पैसा र डेटा सुरक्षित रहन्छ ।”

पारदर्शिताको सवालमा पनि कम्पनी सजग भएको उनी सुनाउँछन् । क्रियटरले पाउने रकममा कति शुल्क काटिन्छ भन्ने कुरा वेबसाइटमै स्पष्ट लेखिएको छ । प्लेटफर्मले ७ प्रतिशत फ्ल्याट शुल्क लिन्छ र बाँकी रकम कर कटाएर सोझै क्रियटरको बैँक खातामा पठाउँछ । नेपालमा सामान्यतया महिनाको एक पटक पेमेन्ट हुने चलन भए पनि ‘बाई मि मःमः’ ले क्रियटरलाई प्रोत्साहन गर्न हरेक दुई हप्तामा पेआउट दिने व्यवस्था मिलाएको छ । १०० दिनमा मात्रै तीन लाख ५० हजार रुपैयाँभन्दा बढी रकम क्रियटरलाई भुक्तानी गरिसकेको त्रिदेव सुनाउँछन् ।

“जो क्रियटरले आफ्नो राम्रो फ्यानबेस बनाएको छ, उसले सोझै आफ्नो क्यूआर पठाएर मलाई सहयोग गर्नुहोस् भने भइहाल्यो नि । किन बीचमा शुल्क तिरेर थर्ड पार्टीबाट सहयोग लिनुपर्‍यो ?” धेरैको स्वभाविक प्रश्न हुन्छ । 

यसको जवाफमा त्रिदेव भन्छन्, “हो, सिधै आफूलाई चित्त बुझ्ने क्रियटरलाई सहयोग गर्न सकिन्छ । तर, आफ्नो व्यक्तिगत फोन नम्बर वा क्यूआर कोड सार्वजनिक गर्नु भनेको आफ्नो गोपनीयता र सुरक्षा जोखिममा पार्नु हो । ‘बाई मि मःमः’ ले तपाईँको परिचय सुरक्षित राख्दै, एक प्रोफेसनल माध्यमबाट सहयोग लिने वातावरण बनाउँछ । साथै, यहाँ सहयोग गर्ने दाताले चाहेमा आफ्नो नाम गोप्य राखेर पनि सहयोग गर्न सक्छन् ।” 

यसो गर्दा अनावश्यक रूपमा कानुनी झमेलामा पनि नपरिने र प्रणाली व्यावसायिक भएकाले अन्य लफडा नहुने हुँदा सबैका लागि यो माध्यम उपयुक्त हुने त्रिदेवको तर्क छ ।

नेपाली समाजमा आउँदै गरेको परिवर्तन

नेपालमा डिजिटल कन्टेन्टलाई पैसा तिर्ने वा क्रियटरलाई सहयोग गर्ने बानी अझै विकास भइसकेको छैन । हामी सित्तैमा पाइने कुरामा बढी रमाउँछौँ । जसलाई त्रिदेव ‘टोरेन्ट मेन्टालिटी’ भन्छन् । तर, बिस्तारै यो सोच परिवर्तन भइरहेको उनी पाउँछन् ।

“हामी विकासोन्मुख देशका नागरिक हौँ । खर्च गर्ने क्षमता कम हुनु स्वाभाविक हो,” त्रिदेव भन्छन्, “तर पछिल्लो समय मानिसले राम्रो कामको कदर गर्न थालेका छन् । हेर्ने कथा, हाम्रो खेलकुद, विभिन्न स्ट्यान्ड-अप कमेडियन र रिल्स बनाउनेलाई मानिसहरूले स्वस्फूर्त रूपमा ‘मःमः’ किनिदिएर सहयोग गरिरहेका छन् । यसले एउटा इकोसिस्टम बन्दैछ भन्ने देखाउँछ ।”

उनले स्यान्ड आर्टिस्ट बोधि विमलको उदाहरण दिँदै भने, “उहाँले हाम्रो प्लेटफर्मबाट आएको पैसा जम्मा गरेर आफ्नो पहिलो एकल कला प्रदर्शनी गर्नुभयो । त्यस्तै, ‘बुक्स फेयर’ भन्ने एउटा समूहले यहाँबाट आएको सहयोग सरकारी विद्यालयमा पुस्तकालय बनाउन खर्च गर्दैछ । यस्ता कथा सुन्दा हामीले सही काम सुरु गरेकोमा गर्व लाग्छ ।”

कसरी जोडिन सकिन्छ बाइ मि मःममा ?

बाइ मि मःममा जुनसुकै क्षेत्रका व्यक्ति पनि जोडिन सक्छन् । सुरुवाति चरणमा यसमा आफ्नो युजरनेम दाबी गरेर त्यसलाई म्यानुअल्ली भेरिफाई गरी अकाउन्ट बनाउनु पर्ने हुन्छ । “पहिला युजरनेम क्लेम गरेर अकाउन्ट बनाउनुपर्ने हुन्छ । त्यसपछि हामी आवश्यक काजगात माग्छौँ । त्यसपछि भेरिफिकेसनको प्रक्रिया अगाडि बढ्छ । अहिले म्यानुअल्ली भेरिफाई गरिरहेका छौँ । छिट्टै स्वतः भेरिफाई हुने सिस्टम बनाउँछौँ,” त्रिदेव थप्छन् । 

यस प्लेटफर्ममा कागजात र बाहिर फरक नाम भएका व्यक्ति पनि जोडिन सक्छन् । तर, यसका लागि क्रियटरले बाइ मि मःमको टिमसँग सहकार्य गरेर आधिकारिक कागजात पठाउनु पर्ने हुन्छ । सबै प्रक्रिया पूरा भइसकेपछि क्रियटरको सूचिमा नाम देखिन्छ । 

र, त्यहीबाट सहयोग पाउन सकिन्छ । त्यस्तै यसमा आबद्ध व्यक्तिले विभिन्न तवरबाट आफ्नो ‘बाइ मि मःमः’ लिङ्क शेयर गरेर सहयोगका लागि आह्वान गर्न सक्छन् । यसलाई दान (डोनेसन) भन्दा पनि सहयोग (सपोर्ट)को प्लेटफर्मको रूपमा त्रिदेव चिनाउन चाहन्छन् । हाल यसमा हेर्ने कथा, हाम्रो खेलकुद, द नेपाली कमेन्ट, ओजी, चिल एन्ड गार्डेन लगायतका क्रियटर आबद्ध भइसकेका छन् ।

 

सहयोग गर्न चाहने व्यक्तिले सबैभन्दा पहिले यहाँ क्लिक गरी क्रियटर छनोट गरेर वा क्रियटरको लिङ्कमा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि १ देखि १० (वा आफूलाई लागेको सङ्ख्या) छान्नुपर्ने हुन्छ । र, तल नाम र मेसेज लेख्नुपर्ने हुन्छ । 

यदि नाम नदेखाएरै सहयोग गर्न मन छ भने मेक मि एनोनिमस भन्ने अप्सन छान्नुपर्ने हुन्छ । नेपालबाट कनेक्ट आईपीएस, इसेवा वा खल्तीबाट सहयोग गर्न सकिन्छ भने विदेशबाट स्ट्राइप प्रयोग गर्नुपर्ने हुन्छ । नेपालमा भुक्तानीको कुनै माध्यम छानिसकेपछि उक्त प्लेटफर्मको लगइन पेज खुल्छ । आफ्नो आईडी पासवर्ड/पिन राखेर सब्मिट गरिसकेपछि उक्त रकम बाइ मि मःममा जम्मा हुन्छ र क्रियटरको खातामा देखिन्छ । उक्त रकम क्रियटरले हरेक १५ दिनमा निकाल्न सक्छन् । 

भविष्यको योजना

अहिले यो प्लेटफर्मबाट एक पटकमा एक चोटी मात्र सहयोग गर्न सकिन्छ । अर्थात् आज सहयोग गर्‍यो र भोलि गर्नुपर्‍यो भने पुनः त्यसरी नै सबै विवरण राखेर सहयोग गर्नुपर्ने हुन्छ । भविष्यमा यसलाई मासिक सदस्यता (सब्स्क्रिप्सन) मोडेलमा लैजाने त्रिदेवको योजना छ । “नेपालमा रिकरिङ पेमेन्टको सिस्टम अझै सहज छैन,” उनी भन्छन्, “हामी इसेवा, खल्तीसँग कुरा गरेर यसलाई सम्भव बनाउने प्रयासमा छौँ । विदेशबाट स्ट्राइपमार्फत भने अहिले पनि मासिक सहयोग गर्न मिल्छ ।”

त्रिदेव गुरुङ र उनको सानो टिमले सुरु गरेको यो प्रयासले नेपालको गिग इकोनोमीमा एउटा इँटा थपेको छ । अमेरिकाको व्यस्त जागिर र समयको व्यवस्थापन गर्दै उनले राति सुत्नुअघिका केही घण्टा यसका लागि छुट्याउँछन् । 

पछिल्लो अध्यावधिक: मंसिर १५, २०८२ १२:१६