काठमाडौँ । नयाँ ल्यापटप तथा पीसी खरिद गर्ने क्रममा अन्य स्पेसिफिकेसनसँगै हामीले र्याम (RAM) लाई समेत ध्यान दिइरहेका हुन्छौँ । र्याम (Random Access Memory) लाई कम्प्युटरको छोटो अवधिको मेमोरीको रूपमा बुझिन्छ, जसले द्रुत पहुँचका लागि फाइलहरू अस्थायी रूपमा भण्डारण गर्दछ र यसले गर्दा कम्प्युटरको प्रदर्शन (performance) छिटो हुन्छ ।
कम्प्युटर किन्ने बेला ध्यान दिनुपर्ने तीन मुख्य तत्त्वहरू: प्रोसेसर, स्टोरेज ड्राइभ र र्यामलाई पर्फर्मेन्स ट्राइफेक्टा (performance trifecta) पनि भनिन्छ । १६ जीबी र्यामलाई नयाँ विन्डोज मसिनहरूको न्यूनतम सञ्चालन (operational minimum) मान्न थालिएको छ ।
आधुनिक कार्यभारहरू यति बढेका छन् कि विन्डोज उपकरणमा कम र्यामले तपाईँलाई इमेल लेख्ने, इन्टरनेट ब्राउजिङ गर्ने वा युट्युब भिडिओहरू हेर्ने जस्ता दैनिक कार्यहरूमा मात्र सीमित गर्न सक्छ । धेरैजसो मानिसहरू, जो आफ्नो विन्डोज ल्यापटप कामको लागि प्रयोग गर्छन्, उनीहरूलाई सहज अनुभवको लागि कम्तीमा १६ जीबी चाहिन्छ ।
औसत मानिसहरूले प्रायः ब्राउजरमा दर्जनौँ ट्याब, पृष्ठभूमिमा धेरै एप र सम्भवतः जेनेरेटिभ एआई समेत चलाइरहेका हुन्छन् । जसलाई मेमोरी पावर चाहिन्छ । माइक्रोसफ्टले विन्डोज ११ का लागि न्यूनतम ४ जीबी र्याम आवश्यकता बताए पनि १६ जीबीलाई आधारभूत स्ट्यान्डर्डको मान्न थालिएको छ ।
म्याकबुकहरूको लागि स्थिति केही फरक छ । किनभने एप्पलका मसिनहरू दैनिक कार्यप्रवाहहरू ह्यान्डल गर्नका लागि निकै अप्टिमाइज गरिएका हुन्छन् । म्याकमा ८ जीबी र्यामले विन्डोजमा चल्ने स्टक ल्यापटप भन्दा बढी काम गर्न सक्छ ।
हालै मात्र एप्पलले नयाँ म्याकबुक एयर एम ४ मा १६ जीबीलाई सुरुवाति बिन्दु बनाएको छ । यद्यपि ८ जीबी र्याम भएका म्याकबुकहरू पनि दैनिक प्रयोगका लागि राम्रो मसिन मानिन्छन् ।
त्यस्तै क्रोमबुक (ChromeOS) हलुका अपरेटिङ सिस्टम भएकोले ८ जीबी वा सोभन्दा कम र्याममा पनि राम्ररी चल्न सक्छ । क्रोमबुक ब्राउजरमा काम गर्ने र गुगल सुइट प्रयोग गर्ने जस्ता आधारभूत कार्यहरूको लागि उत्कृष्ट मानिन्छ ।
सामान्य प्रयोगका लागि १६ जीबी र्याम पर्याप्त भए पनि यदि तपाईँ गेमर वा क्रियटिभ प्रोफेसनल हुनुहुन्छ भने तपाईँले ३२ जीबी र्याम तर्फ विचार गर्नुपर्ने हुन्छ ।
धेरै र्यामले गेम खेल्दा र भिडिओ एडिटिङ एपहरू प्रयोग गर्दा कामलाई सहज बनाउँछ ।यदि तपाईँ ८के (8K) भिडिओ एडिट गर्दै हुनुहुन्छ वा धेरै भारी एपहरू एकैसाथ चलाउँदै हुनुहुन्छ भने तपाईँलाई ४८ जीबी वा ६४ जीबीसम्म र्याम आवश्यक पर्न सक्छ । यसका लागि एमफोर म्याकबुक प्रो वा डेल प्रिमियम १६ जस्ता टप-लाइन मसिनहरू उपयुक्त हुन सक्छन् ।
तपाईँसँग जति धेरै मेमोरी हुन्छ, तपाईँको कम्प्युटरले त्यति नै राम्रो प्रदर्शन गर्नुपर्ने हुन सक्छ । तर, धेरै र्याम हुनु पनि अनावश्यक लगानी हुन सक्छ, किनकि यस्तोमा तपाईँले पूर्ण रूपमा प्रयोग नगर्ने स्रोतमा पैसा खर्च गरिरहनु भएको हुन्छ । नयाँ ल्यापटप किन्दा तपाईँ त्यसलाई केको लागि प्रयोग गर्न चाहनुहुन्छ भन्ने कुरामा स्पष्ट बुझाइ हुन जरुरी छ । ताकि तपाईँलाई वास्तवमै कति र्याम आवश्यक छ भनेर यकिन गर्न सकियोस् ।
पछिल्लो अध्यावधिक: मंसिर १५, २०८२ १५:२
