चीनमा बन्ने स्मार्टफोनका लागि बाइटडान्सले सुरु गर्यो एआईमा आधारित भोइस असिस्टेन्ट
मंसिर १५, २०८२ १९:२७
काठमाडौँ । प्रविधि क्षेत्रको ठुलो चिनियाँ कम्पनी बाइटडान्सले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) भ्वाइस कन्ट्रोल टुल सुरु गर्ने घोषणा गरेको । कम्पनीले सोमबार गरेको घोषणा अनुसार यो नयाँ टुल सुरुमा जेडटीई कर्पले तयार पार्ने स्मार्टफोनमा उपलब्ध हुनेछ र त्यसपछि उपयुक्त समयमा अन्य निर्माताहरूका फोनहरूमा पनि उपलब्ध हुनेछ ।
यो एआई असिस्टेन्ट बाइटडान्सको लोकप्रिय डोउबाओ लार्ज ल्याङ्ग्वेज मोडेल (एलएलएम) द्वारा सञ्चालित छ । यस उपकरणले प्रयोगकर्ताहरूलाई आवाजको माध्यमबाट कन्टेन्ट खोज्ने, टिकट बुकिङ गर्ने जस्ता काम गर्न (voice activate) अनुमति दिन्छ ।
बाइटडान्स टिकटक र यसको चिनियाँ संस्करण डोयुनको मातृ कम्पनी हो । जो आफ्नो च्याटबट डोउबाओको कारण चीनमा उपभोक्ता एआई एपहरूको क्षेत्रमा प्रमुख खेलाडीको रूपमा उदाएको छ ।
एआई उत्पादन ट्र्याकिङ प्लेटफर्म एआईसीपीबी डटकमका अनुसार अक्टोबर महिनामा डोउबाओका १५ करोड ९ लाख मासिक सक्रिय प्रयोगकर्ता थिए । यो सङ्ख्या टेन्सेन्टको युआन्बो (७ करोड ३ लाख) र डिपसिक (७ करोड २० लाख) भन्दा धेरै हो ।
बाइटडान्सको यो नयाँ एआई भ्वाइस टुल सुरुमा जेडटीईको नुबिया एम १५३ (Nubia M153) ह्यान्डसेटमा देखिनेछ । यो डिभाइस हाल एक प्रोटोटाइपको रूपमा रहेको छ । जसको मूल्य ३,४९९ युआन तोकिएको छ । यो ह्यान्डसेट सीमित मात्रामा प्रि-अर्डरका लागि उपलब्ध छ ।
यो टुलले ह्वावे र साओमी जस्ता चिनियाँ स्मार्टफोन निर्माताहरूले प्रस्तुत गरेका समान एआई सुविधाहरूसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्नेछ । अन्तर्राष्ट्रिय बजारमा एप्पलले आफ्नो एप्पल इन्टेलिजेन्स चीनमा उपलब्ध गराउन बाँकी छ । यद्यपि आईफोनहरूका लागि चीनमा एआई सुविधाहरू विकास गर्न अलिबाबाले एप्पलसँग साझेदारी गर्ने बताएको छ ।
यद्यपि बाइटडान्सले आफ्नै स्मार्टफोनहरू विकास गर्ने कुनै योजना नभएको स्पष्ट पारेको छ । कम्पनीले एआई भ्वाइस असिस्टेन्ट रोल आउट गर्न धेरै फोन निर्माताहरूसँग कुराकानी गरिरहेको बताएको छ ।
फोन सम्बन्धी यो समाचार र जेडटीईले भियतनाममा फाइभजी उपकरण आपूर्ति गर्ने टेन्डर पाएको खबरले गर्दा सोमबार जेडटीईको शेयर मूल्य १० प्रतिशतले बढेको बताइएको छ । जुन २९ अक्टोबर पछिकै उच्च स्तरको वृद्धि हो ।
पछिल्लो अध्यावधिक: मंसिर १५, २०८२ १९:२७
