काठमाडौँ । गुगलले अन्तरिक्षमा डेटा सेन्टर स्थापना गर्ने महत्त्वाकांक्षी योजना अघि सारेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर पिचाईले सन् २०२७ देखि अन्तरिक्षमा सौर्य ऊर्जाबाट चल्ने डेटा सेन्टर राख्ने काम सुरु हुने बताएका छन् ।
फक्स न्युज सन्डेसँगको अन्तर्वार्तामा पिचाईले गुगलको आन्तरिक रूपमा ‘प्रोजेक्ट सनक्याचर’ (Project Suncatcher) नाम दिइएको दीर्घकालीन अनुसन्धान पहलअन्तर्गत यो काम भइरहेको जानकारी दिए । यसको मुख्य उद्देश्य मसिन लर्निङलाई अन्तरिक्षसम्म विस्तार गर्नु रहेको उनको भनाइ छ ।
उनका अनुसार सन् २०२७ मा पहिलो कदमका रूपमा साना मसिनका र्याकहरू स्याटलाइटमा राखेर पठाइनेछ । सुरुमा यसको परीक्षण कार्य सकी विस्तारै ठुलो स्केलमा लैजाने योजना छ ।
“गुगलमा हामी सधैं 'मुनशट' (असम्भव लाग्ने महत्त्वाकांक्षी कार्य) लिन गर्व गर्छौं,” पिचाईले भने, “हाम्रो एउटा मुनशट भनेको एक दिन अन्तरिक्षमा डेटा सेन्टरहरू राख्नु हो । यसो गर्दा हामीले सूर्यको ऊर्जालाई अझ राम्रोसँग प्रयोग गर्न सक्छौं, जुन आज पृथ्वीमा उत्पादन हुने सम्पूर्ण ऊर्जाभन्दा सय ट्रिलियन गुणा बढी छ ।”
उनले अबको एक दशकमा पृथ्वीबाहिर डेटा सेन्टर निर्माण गर्नु सामान्य कुरा हुने दाबी समेत गरे । गत हप्ता ‘गुगल एआई: रिलिज नोट्स’ पडकास्टमा बोल्दै उनले सन् २०२७ सम्ममा अन्तरिक्षमा कम्पनीको कस्टम एआई चिप पुग्ने आशा व्यक्त गरेका थिए ।
विश्वभर डेटा सेन्टरहरूले खपत गर्ने अत्यधिक ऊर्जा र त्यसको वातावरणीय प्रभावबारे आलोचना भइरहेको समयमा गुगलले अन्तरिक्षमा डेटा सेन्टर स्थापना गर्ने योजना ल्याएको हो ।
पछिल्लो अध्यावधिक: मंसिर १८, २०८२ ११:३१
