दुर्घटनामा परेका ‘सजिलो’ का राइडर लामाले यसरी पाए १ लाख १० हजार बीमा रकम
मंसिर १९, २०८२ १०:४४
काठमाडौँ । शनिबार दिउँसो नेपाली राइड शेयरिङ एप ‘सजिलो’ का राइडर दाछेम्बो लामा यात्रुलाई गन्तव्यसम्म पुर्याउँदै थिए । गुह्येश्वरीबाट गौशाला जाँदै गर्दा उनले चलाइरहेको मोटरसाइकल अर्को मोटरसाइकलसँग ठोक्किएर दुर्घटनामा पर्यो ।
घटनाबारे लामा भन्छन्, “पछाडि बस्ने यात्रुलाई त केही भएन, तर मेरो खुट्टामा चोट लाग्यो । सुरुमा त धेरै दुखेको थिएन, सामान्य नै होला भन्ने ठानेँ । तर एकैछिनमा रगत पनि आउन थाल्यो ।” त्यसपछि उनले तत्कालै ‘सजिलो’ का प्रतिनिधिलाई सम्पर्क गरेर दुर्घटनाबारे जानकारी गराए ।
कम्पनीका प्रतिनिधिले उनलाई तुरुन्तै अस्पताल जान सुझाए । त्यसपछि लामा चाबहिलस्थित मेडिकेयर अस्पताल पुगे । उनी सम्झन्छन्, “हस्पिटल पुगेको एकछिनपछि सजिलोबाट प्रतिनिधि आइपुग्नुभयो । त्यसपछिको उपचार खर्च उहाँहरूले नै बेहोर्नुभयो ।”
लामाको खुट्टा तीन ठाउँमा फ्र्याक्चर भएको छ । उपचारका लागि उनी पाँच दिन अस्पताल बसे । स्वास्थ्यमा केही सुधार आएपछि उनी बिहीबार दिउँसो डिस्चार्ज भएका छन् ।
अस्पताल बस्दाको अधिकांश खर्च एप (सजिलो कम्पनी) बाटै व्यहोरिएको उनले बताए । उनले भने, “सजिलोका कर्मचारी अस्पतालमा नहुँदा अलि-अलि औषधि किन्न आफ्नै गोजीबाट खर्च भएको छ । तर त्यो रकम पनि फिर्ता हुने जानकारी पाएको छु ।” शनिबार फलोअपका लागि पुनः अस्पताल जानुपर्ने र त्यसको खर्च पनि कम्पनीले नै बेहोर्ने उनले बताए ।
सजिलो एपमार्फत राइड शेयरिङ गरिरहँदा कुनै दुर्घटना भएमा एपले सहजै बिमा रकम उपलब्ध गराउने व्यवस्था मिलाएको सजिलोका सीईओ अमिर लामाले बताए । उनले भने, “राइडर तथा यात्रुका लागि शिखर इन्स्योरेन्समा बिमा गरिएको छ । उहाँहरूको उपचारलाई थप सहज बनाउन हामीले ‘सजिलो कोष’ पनि सञ्चालनमा ल्याएका छौँ ।”
दुर्घटना हुँदा घाइते आफैँले तत्कालै बिमा रकम दाबी गर्न नसक्ने भएकाले दाबी प्रक्रियाका सम्पूर्ण काम कम्पनीका कर्मचारीले नै गर्ने व्यवस्था मिलाइएको सीईओ लामाले बताए ।
उनले थपे, “ठूला दुर्घटना हुँदा पीडितसँग तत्काल उपचार अघि बढाउने पैसा नहुन सक्छ । यस्तो अवस्थामा बिमाको प्रक्रिया लामो हुँदा उपचारमा ढिलाइ हुन सक्छ । त्यसैले हामी आफैँले कर्मचारी खटाएर बिमा दाबीदेखि भुक्तानीसम्मका काम गर्छौँ ।”
दाछेम्बोको उपचारका लागि बिमाबापत हालसम्म एक लाख १० हजार रुपैयाँ भुक्तानी भइसकेको उनले जानकारी दिए ।
सीईओ लामाका अनुसार सजिलोले दुईपाङ्ग्रे सवारीमा यात्राका क्रममा दुर्घटना भएमा प्रतिव्यक्ति १ लाख २५ हजारका दरले (चालक र यात्रु गरी) २ लाख ५० हजार रुपैयाँसम्मको बिमा गरिदिएको छ । यस्तै, ट्याक्सीमा चालकसहित पाँच जनाको दुर्घटना बिमा गरिन्छ, जसमा प्रतिव्यक्ति १ लाख २५ हजारका दरले कुल ६ लाख २५ हजार रुपैयाँसम्मको बिमा रकम भुक्तानी हुन्छ ।
पछिल्लो अध्यावधिक: मंसिर १९, २०८२ १२:३५
