स्क्यामरको कल आइरहेको बेला वालेट वा मोबाइल बैङ्किङ एप खोले अब एन्ड्रोइडले चेतावनी दिने
मंसिर १९, २०८२ १३:३३
काठमाडौँ । गुगलले एन्ड्रोइड फोन प्रयोगकर्तालाई स्क्यामरबाट जोगाउन नयाँ सुरक्षा फिचर ल्याउने भएको छ । कम्पनीले एन्ड्रोइडमा रहेको 'स्क्याम डिटेक्सन'लाई अझ मजबुत बनाउँदै नयाँ इन-कल सुरक्षा परीक्षण गर्न थालेको हो ।
पछिल्ला वर्षमा ठगी गर्नेहरूले मानिसबाट पैसा वा निजी जानकारी थुत्नका लागि नयाँ र चतुर चालबाजी अपनाइरहेका छन् । अपराधीहरूले प्रायः बैँक वा अन्य विश्वसनीय संस्थाको नक्कल गरेर पीडितहरूलाई आफ्नो फोन स्क्रिन शेयर गर्न र बैँकिङ जानकारी उपलब्ध गराउन प्रेरित गर्छन् ।
यस्ता परिष्कृत सोसल इन्जिनियरिङ चालबाजीको सामना गर्न एन्ड्रोइडमा नयाँ फिचर ल्याउन लागिएको हो । एन्ड्रोइडको यो स्क्याम प्रोटेक्सन तब सक्रिय हुन्छ, जब स्क्यामको पहिचान हुन्छ ।
यदि तपाईँ आफ्नो कन्ट्याक्टमा सेभ नगरिएको नम्बरसँग फोनमा कुरा गरिरहनुभएको छ, स्क्रिन शेयरिङ सक्रिय छ र तपाईँले कुनै बैँकिङ वा वालेट एप खोल्ने प्रयास गरिरहनुभएको छ भने एन्ड्रोइडले सम्भावित स्क्यामको रूपमा लिनेछ । यदि यी तीन वटै अवस्था एकसाथ देखिएमा एन्ड्रोइड ११ वा सोभन्दा माथिका डिभाइसहरूमा एउटा पप-अप चेतावनी स्क्रिन स्वचालित रूपमा देखिनेछ । जसले सम्भावित खतराहरूको बारेमा सचेत गराउँछ ।
यो पप-अपले प्रयोगकर्तालाई कुनै पनि निर्देशनहरू पालना गर्न वा व्यक्तिगत वा वित्तीय जानकारी शेयर गर्नबाट टाढा रहन प्रोत्साहित गर्दछ । स्क्रिनमा एउटा ठुलो रातो रङको End call now बटन समावेश पनि हुन्छ, जसले कल काट्नुका साथै स्क्रिन शेयरिङ सेसनलाई पनि रोकिदिन्छ ।
यो अलर्ट तथा चेतावनीले प्रयोगकर्तालाई आफ्नो गतिविधि जारी राख्न अनुमति दिनु अघि ३०-सेकेन्डको पज थप गर्दछ । गुगलले यो ढिलाइ सोसल इन्जिनियरिङको प्रभावलाई भङ्ग गर्न र ठगीमा प्रयोग हुने हतार र आतङ्कको झुटा भावनालाई तोड्न डिजाइन गरिएको बताएको छ । यसले प्रयोगकर्तालाई सोच्न र सचेत हुन समय दिन्छ ।
गुगलले यो सुरक्षा सुविधालाई यस वर्षको सुरुमा बेलायतमा परीक्षण गरेको थियो । जहाँ यसले हजारौँ प्रयोगकर्ताहरूलाई महत्त्वपूर्ण रकम खर्च हुन सक्ने कलहरू अन्त्य गर्न मद्दत गरिसकेको जनाइएको छ ।
हाल यो संरक्षण उपाय संयुक्त राज्य अमेरिकामा पाइलटको रूपमा लागु भइरहेको छ । यो सुरक्षा कार्य गर्नका लागि वित्तीय संस्थाहरूले सहमति जनाउनुपर्ने हुन्छ । हाललाई गुगलले अमेरिकामा क्याश एप र जेपीमोर्गनचेस लगायतका फिनटेक र बैँकसँग सहकार्य गरिरहेको छ ।
अमेरिकामा पाइलट सुरु भएसँगै बेलायतका अधिकांश प्रमुख बैँकहरूमा यो सुरक्षा विस्तार हुनेछ र ब्राजिल तथा भारतमा पनि परीक्षण सुरु गरिनेछ ।
पछिल्लो अध्यावधिक: मंसिर १९, २०८२ १३:३३
