एआईमा आधारित आफ्नो पहिलो चस्मा सार्वजनिक गर्दै गुगल, सिधा प्रतिस्पर्धा मेटासँग
मंसिर २३, २०८२ १२:२३
काठमाडौँ । गुगलले सन् २०२६ मा एआईबाट सञ्चालित आफ्नो पहिलो चस्मा सार्वजनिक गर्ने भएको छ । कम्पनी उपभोक्ता केन्द्रित एआई उपकरणको बजारमा मेटासँग प्रतिस्पर्धा गर्न अग्रसर देखिएको हो ।
कम्पनीले अडियो-मात्र (Audio-only) र सिसामै डिस्प्ले (In-lens display) भएको गरी दुई प्रकारका चस्मा ल्याउने योजना बनाएको छ । अडियो-अन्ली चस्माले प्रयोगकर्ताहरूलाई जेमनाई एआई असिस्टेन्टसँग बोल्न अनुमति दिनेछ भने इन-लेन्स डिस्प्ले चस्मामा लेन्सभित्रै एउटा डिस्प्ले हुनेछ । जसले प्रयोगकर्ताहरूलाई नेभिगेसन निर्देशन र भाषा अनुवादहरू जस्ता जानकारीहरू देखाउनेछ ।
गुगलले यी उपकरणको हार्डवेयर डिजाइनको लागि सामसङ, जेन्टल मनस्टर र वारबी पार्करसँग सहकार्य गरिरहेको छ । गुगलले मे महिनामा वारबी पार्करसँग १५ करोड अमेरिकी डलर प्रतिबद्धता जनाएको थियो । वारबी पार्करले सोमबारको एक फाइलिङमा गुगलसँगको साझेदारीमा आफ्नो पहिलो चस्मा सन् २०२६ मा सार्वजनिक हुने अपेक्षा गरिएको बताएको छ ।
यी चस्माहरू एन्ड्रोइड एक्सआरमा निर्माण गरिनेछ । जुन गुगलको हेडसेटको लागि तयार पारिएको अपरेटिङ सिस्टम हो । गुगलका सह-संस्थापक सर्गेई ब्रिनले पहिलेको स्मार्ट चस्माको असफलताबाट सिकेको कुरा उल्लेख गर्दै अहिलेको एआई संसारमा यी चस्माहरूको क्षमता धेरै उच्च भएको र प्रयोगकर्तालाई लगातार विचलित नगरी मद्दत गर्न सक्ने बताएका छन् ।
एआई वेअरेबल (wearables) को बजारमा मेटाको अग्रसरतामा महत्त्वपूर्ण वृद्धि भइरहेको छ । मेटाको रे-बान मेटा चस्मा (Ray-Ban Meta glasses), जुन चस्मा कम्पनी एसिलोरलक्सोट्टिका (EssilorLuxottica) सँगको साझेदारीमा डिजाइन गरिएको थियो । त्यसले आश्चर्यजनक सफलता पाएको थियो ।
मेटाले सेप्टेम्बरमा आफ्नै डिस्प्ले चस्माहरू पनि सार्वजनिक गरेको थियो । जसले प्रयोगकर्ताहरूलाई लेन्समा निर्मित सानो डिस्प्ले मार्फत मेसेज, फोटो प्रिभ्यु र लाइभ क्याप्सन हेर्ने अनुमति दिन्छ । स्न्याप (Snap) र अलीबाबा (Alibaba) जस्ता अन्य कम्पनीहरू पनि यस प्रतिस्पर्धी बजारमा आफ्ना एआई चस्माहरू ल्याइरहेका छन् ।
पछिल्लो अध्यावधिक: मंसिर २३, २०८२ १२:२५
