close

बैंकिङ कसुरमा प्रभु बैंकका रेमिट्यान्स प्रमुख सुजित शाक्य पक्राउ, १ अर्ब बढी घोटालाको आरोप

टेकपाना टेकपाना

मंसिर २४, २०८२ १७:५४

बैंकिङ कसुरमा प्रभु बैंकका रेमिट्यान्स प्रमुख सुजित शाक्य पक्राउ, १ अर्ब बढी घोटालाको आरोप

काठमाडौँ । प्रभु बैंकलाई एक अर्ब रुपैयाँभन्दा बढी हानी नोक्सानी पुर्‍याएको आरोपमा बैंकका रेमिट्यान्स विभाग प्रमुख सुगेन भनिने सुजित शाक्य पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसुरको आरोपमा उनलाई बुधबार ललितपुरबाट पक्राउ गरेको हो ।

ललितपुर महानगरपालिका-१७ कनिबहाल घर भएका ४२ वर्षीय शाक्यलाई उच्च अदालत पाटनको अनुमतिमा ललितपुरको ईखांछेबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

प्रहरीका अनुसार शाक्यले नियम विपरीत ‘सुपर एजेन्ट’ खडा गरी प्रभु म्यानेजमेन्ट प्रा.लि.लाई पेस्की रकम दिएका थिए । उक्त कम्पनीसँगको रेमिट्यान्स कारोबार स्थगित भइसक्दा पनि लामो समयसम्म स्वार्थ समूहलाई त्यो रकम प्रयोग गर्न दिएर बैंकलाई आठ करोड ९३ लाख १९ हजार ९८६ रुपैयाँ नोक्सान पुर्‍याएको आरोप उनीमाथि छ ।

यो कसुरलाई लुकाउन कर्जा प्रवाह गरी दुरुपयोग गरेको अभियोगमा बैंकका सीईओ अशोक शेरचनमाथि पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

शाक्यले ‘प्रिफन्डिङ’ को नाममा पदको दुरुपयोग गरी अर्को ठुलो अनियमितता गरेको समेत प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । उनले आफ्नो स्वार्थ समूह अन्तर्गतको ‘प्रभु मनी ट्रान्सफर’ लाई फाइदा हुने गरी नियम विपरीत रकम उपलब्ध गराएको र सो बापत बैंकले पाउनुपर्ने ब्याजसमेत नलिई बैंकलाई एक अर्ब रुपैयाँभन्दा बढी हानी नोक्सानी पुर्‍याएको सीआईबीले जनाएको छ ।

पक्राउ परेका शाक्यमाथि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

 

पछिल्लो अध्यावधिक: मंसिर २४, २०८२ १८:३