अदालती आदेशले गर्दा गुम्यो अहिलेसम्मकै महँगो १० अर्ब ७७ करोडमा बेच्न खोजेको डोमेन नेम
मंसिर २५, २०८२ १३:१८
काठमाडौँ । डोमेन नेम खरिद बिक्रीबाट नाफा कमाउने दाउमा रहेका एक व्यक्तिलाई नराम्रो झड्का लागेको छ । अमेरिकी अदालतले ल्याम्बो डटकम (Lambo.com) डोमेनका मालिकलाई कार निर्माता कम्पनी ल्याम्बोर्गिनीको पक्षमा फैसला सुनाउँदै उक्त डोमेन हस्तान्तरण गर्न आदेश दिएको हो ।
एरिजोनाका रिचर्ड ब्लेयरले सन् २०१८ मा १० हजार डलर (आजको विनिमय दर अनुसार १४ लाख ३५ हजार ५०० रुपैयाँ) मा Lambo.com खरिद गरेका थिए । ल्याम्बो (Lambo) लाई ल्याम्बोर्गिनी गाडीको लागि परिचित उपनाम समेत मानिन्छ । त्यसैलाई मध्यनजर गर्दै ब्लेयरले यो डिजिटल सम्पत्तिबाट ठुलो नाफा कमाउने सपना बुनेका थिए । तर उनको प्रयास कानुनी लडाईमा हार ब्यहोरेसँगै समाप्त भएको छ ।
ब्लेयरले लगातार उक्त डोमेनको मूल्य बढाउँदै लगेका थिए । सन् २०२० मा उनले यसलाई ११ लाख २९ हजार २९८ अमेरिकी डलर (करिब १६ करोड २२ लाख रुपैयाँ) मा बिक्रीको लागि सूचीकृत गरे । जुन बढेर १५ लाख अमेरिकी डलर (करिब २१ करोड ५५ लाख रुपैयाँ) पुग्यो । २०२१ को सुरुमा सो मूल्य ३३ लाख डलर (करिब ४७ करोड ४० लाख रुपैयाँ) हुँदै सोही वर्षको अन्त्यतिर १ करोड २० लाख अमेरिकी डलर (करिब १ अर्ब ७२ करोड ३८ लाख रुपैयाँ) भयो ।
सन् २०२२ मा यो लगभग ५ करोड ८० लाख डलर (करिब ८ अर्ब ३३ करोड १७ लाख रुपैयाँ) पुगेको उक्त डोमेनको मूल्य अन्ततः २०२३ सम्ममा ७ करोड ५० लाख डलर (करिब १० अर्ब ७७ करोड ३८ लाख रुपैयाँ) निर्धारण गरियो । ब्लेयरले अन्तिममा ७ करोड ५० लाख डलरको डोमेन नेम अफर गरेर विश्व कीर्तिमान तोड्ने प्रयास गरेका थिए ।
उनी ३ करोड डलर (करिब ४ अर्ब ३१ लाख रुपैयाँ) मा बिक्री भएको भोइस डटकम, ४ करोड ९७ लाख डलर (करिब ७ अर्ब १४ करोड रुपैयाँ) को कारइन्स्योरेन्स डटकम जस्ता डोमेन डिलबाट प्रेरित थिए । तर ब्लेयर भने खाली हात बस्न बाध्य भए ।
'ब्याड फेथ' अर्थात् खराब नियतको निष्कर्ष
ब्लेयरले यो डोमेनको वैधानिकता प्रमाणित गर्ने प्रयासमा आफूलाई अनलाइनमा ल्याम्बो भन्न थाले । उनले यो नाम प्रसिद्ध स्पोर्ट्स कार निर्मातासँग सम्बन्धित नभई ल्याम्बो (Lamb) अर्थात 'भेडाको बच्चा' शब्दको शब्द-खेल (word play) बाट आएको दाबी गरे ।
तर, ब्लेयरको गतिविधिबाट प्रभावित नभएको ल्याम्बोर्गिनीले सन् २०२२ मा विश्व बौद्धिक सम्पत्ति सङ्गठन (वाइपो) को मध्यस्थता केन्द्रमा यो मुद्दा लग्यो । वाइपोको प्यानलले ब्लेयरले 'ब्याड फेथ' (खराब नियत) मा काम गरेको निश्कर्ष निकाल्यो र डोमेन कम्पनीलाई दिनुपर्ने फैसला सुनायो ।
ब्लेयरले उक्त निर्णय उल्टाउन सङ्घीय अदालतमा मुद्दा दायर गरे । तर एक अमेरिकी जिल्ला न्यायाधीशले ल्याम्बोर्गिनीलाई समर्थन गर्दै उनको मुद्दा नै खारेज गरिदिए । ब्लेयरले यो नाममा कुनै अधिकार नराखेको र डोमेन खरिद गरेपछि मात्र 'ल्याम्बो' उपनाम अपनाएको ठहर अदालतले गर्यो ।
अदालतले उनले साइट डेभलप नगरेको, धेरै पटक कम्पनीलाई आक्रमण गरेको र यसको स्थापित प्रतिष्ठाबाट नाफा कमाउने प्रयास गरेको निष्कर्ष निकालेको छ । ब्लेयरको यो प्रयासमा उनको १० हजार डलरको डोमेन गुम्नुका साथै ठुलो कानुनी खर्च समेत ब्यहोर्नु परेको खबर टेकराडारमा छापिएको छ ।
पछिल्लो अध्यावधिक: मंसिर २५, २०८२ १३:१८
