close

जहाज उडाउने सपना देखेका विकास नकर्मी, जो अहिले चीनमा ‘फ्लाइङ कार’ बनाउँदै छन्

रञ्जिता उप्रेती रञ्जिता उप्रेती

मंसिर २५, २०८२ १७:१२

जहाज उडाउने सपना देखेका विकास नकर्मी, जो अहिले चीनमा ‘फ्लाइङ कार’ बनाउँदै छन्

काठमाडौँ । कीर्तिपुरमा जन्मिएका विकास नकर्मी सानो छँदा आकाशमा उडिरहेका जहाज हेर्दै पाइलट बन्ने सपना देख्थे । पाइलट बन्न धेरै पढ्नुपर्छ भन्ने उनलाई थाहा थियो । खुबै मिहिनेत गरेर पढ्थे पनि । तर, पारिवारको अवस्थाका कारण एसएलसीपछि विज्ञान पढ्न पाएनन् । पाइलट बन्ने सपना त्यहीँ रोकियो । त्यसपछि उनले इन्जिनियरिङ रोजे ।

पुल्चोक क्याम्पसमा इलेक्ट्रोनिक्सको डिप्लोमा कक्षा सञ्चालन हुन्थ्यो । त्यहीँबाट उनले सन् १९९५ मा इलेक्ट्रोनिक्स विषयमा डिप्लोमा सुरु गरे । पछि उनले काठमाडौँ इन्जिनियरिङ कलेजबाट स्नातक तह पनि पूरा गरे ।

अहिले उनी उमेरले ४६ वर्ष लागेका छन् । पाइलट बन्ने सपना पूरा गर्न नसक्दाको क्षण सम्झँदा कहिलेकाहीँ उनलाई पछुतो लाग्छ । तर, पाइलट बनेर जहाज नउडाए पनि फ्लाइट परीक्षण भने गरिरहेका हुन्छन् । त्यो पनि आफैँ संलग्न भएको कम्पनीले बनाएको स्वचालित मानव बोक्ने ड्रोनमा बसेर ।

गत १७ मङ्सिरमा नकर्मीले मानव बोक्ने ड्रोन परीक्षणको ‘१००औँ उडान’ (हन्ड्रेड फ्लाइट) पूरा गरे । एक सय पटक उडान परीक्षण भइसकेको उक्त ड्रोन ‘थ्यान्लु फ्लाइङ अटो’ कम्पनीले तयार पारेको हो । सोही कम्पनीमा रिसर्च एन्ड एप्लिकेसनको भाइस प्रेसिडेन्टका रूपमा नकर्मी कार्यरत छन् । उक्त ड्रोन गत भदौमा नाडा अटो शोमा प्रदर्शन गरिएको मानव बोक्ने ड्रोनसँग मिल्दोजुल्दो छ ।

चीनमा थ्यान्लुले आफैँ अनुसन्धान गरेर तयार पारेका कयौँ ड्रोन बिक्री गरिसकेको छ । अहिले यो कम्पनी मानव बोक्ने ड्रोनलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने तयारीमा छ । सोही कम्पनीले पाँच हजार मिटरसम्म उड्न सक्ने र पाँच सय केजीसम्म बोक्न सक्ने ‘रेस्क्यु ड्रोन’ पनि तयार पारेको छ ।

थ्यान्लु फ्लाइङ अटोले जमिनमा गुड्ने र त्यही कारको केही हिस्सा छुट्टिएर यात्रु बोकी आकाशमा उड्ने ‘फ्लाइङ कार’ निर्माण गरिरहेको छ । गत अप्रिलमा भएको ‘साङ्घाई अटो शो’ मा कम्पनीले पहिलोपटक फ्लाइङ कारको ‘प्रोटोटाइप’ प्रस्तुत गरेको थियो । त्यहाँ प्रदर्शनमा राखिएको नीलो रङको फ्लाइङ कार हेर्नेको निकै भीड लागेको थियो ।

चीनको स्मार्ट सिटी परियोजनाअन्तर्गत फ्लाइङ कार पनि समेटिएकाले यसको अनुसन्धानका लागि सरकारी तर्फबाट पनि ठुलो लगानी भएको छ । नकर्मी भन्छन्, “नेटवर्कमा टुजी, थ्रीजी हुँदै फाइभजी पुगेजस्तै ड्रोनको पनि जेनेरेसन हुन्छ । मानव बोक्ने ड्रोन तथा फ्लाइङ कार पनि ड्रोनहरूको ‘फाइभजी’ हो । यसको अनुसन्धानका लागि नान्जिङ प्रान्तले मात्र दुई अर्ब अमेरिकी डलर छुट्याएको छ ।”

प्रा.डा. नकर्मीका अनुसार चीनमा उड्ने कारमा अनुसन्धान गरिरहेका मुख्य ४० कम्पनी छन् । तीमध्ये उनी कार्यरत थ्यान्लु फ्लाइङ अटो प्रमुख पाँचभित्र पर्छ ।

कसरी काम गर्छ फ्लाइङ कारले ?

फ्लाइङ कार अहिले परीक्षण चरणमा छ । यसको ड्राइभिङ र फ्लाइङ मोड लगायतका फिचरहरूको विभिन्न चरणका परीक्षण सफलतापूर्वक सम्पन्न भइसकेका छन् ।

फ्लाइङ कारको परीक्षण हुँदै

यो फ्लाइङ कार सडकमा अन्य कारहरूजस्तै गुडाउन सकिन्छ । त्यसपछि सडकबाट नै चार्जिङ हुने स्थानमा पार्किङ गरेर कारको तल्लो भाग (Chassis) लाई त्यहीँ चार्जमा छाड्न सकिन्छ भने कारको माथिल्लो भाग (केबिन) यात्रु लिएर उड्न तयार हुन्छ । यो फ्लाइङ कार पाइलट बिना नै स्वचालित रूपमा यात्रु लिएर उड्न सक्ने उनले बताए । चीनको स्मार्ट सिटी परियोजनाअन्तर्गत व्यस्त सहरमा पनि १८ किलोमिटरसम्मको यात्रा १० देखि २० मिनेटसम्ममा गर्न सम्भव हुने गरी यो कार निर्माण प्रक्रिया अघि बढाइएको हो ।

यो फ्लाइङ कारमा प्रा.डा. नकर्मीले उडान प्रणालीलाई सुरक्षित, विश्वसनीय र अटोनोमस (स्वचालित) बनाउने कामको नेतृत्व गरिरहेका छन् । उनले भने, “फाइभ जीको मोबाइल टावरले प्लेन र एयरपोर्टको कम्युनिकेसन र दुरी मापनमा समस्या पारेजस्तै फ्लाइङ कार उड्ने क्रममा कुनै पनि बाधा वा नेटवर्क जामिङको समस्या नपरोस् भन्ने विषयमा मैले काम गरिरहेको छु ।” स्पुफिङ (सेन्सरहरूलाई भ्रममा पारेर गलत डेटा दिने), इन्टरफेयरेन्स र जामिङले दुर्घटना निम्त्याउन सक्ने भएकाले फ्लाइङ कारमा त्यस्तो समस्या हुन नदिन प्रा.डा. नकर्मीले अनुसन्धान गरिरहेका छन् ।

साङ्घाई अटो शोमा प्रदर्शनमा राखिएको फ्लाइङ कारमा प्रा.डा नकर्मी

थ्यान्लुमा सल्लाहकार हुँदै भाइस प्रेसिडेन्टसम्मको यात्रा

नकर्मी पहिलो पटक चीन स्नातकोत्तर अध्ययनका लागि पुगेका थिए । हार्बिन इन्जिनियरिङ युनिभर्सिटीबाट उनले वायरलेस कम्युनिकेसन र कग्निटिभ रेडियोजस्ता विषयमा अध्ययन गरे । त्यसपछि उनी कोरियाली सरकारको छात्रवृत्ति पाएर ‘काइस्ट’ अर्थात् कोरिया एड्भान्स्ड इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी (KAIST) मा विद्यावारिधि गर्न गए । काइस्टलाई रिसर्च र इनोभेसनको क्षेत्रमा कोरियाको नम्बर वन विश्वविद्यालय मानिन्छ । त्यहाँ उनले पीएचडी गर्ने क्रममा पहिलोपटक अप्टिकल अर्थात् फोटोनिक्स (इलेक्ट्रोनिक्समा विद्युतीय प्रवाहको प्रयोग गरिएजस्तै प्रकाशको प्रयोग गरिने प्रविधि) क्षेत्रमा काम सुरु गरे । अहिले उनी सोही फोटोनिक्स प्रविधिको प्रयोग गरेर फ्लाइङ कार अटोमेसनको अनुसन्धान गरिरहेका छन् ।

यस्तै, अप्टिकल कम्युनिकेसन, डिजिटल फोटोनिक्स, एआई इन्टिग्रेटेड माइक्रोवेभ फोटोनिक्स तथा एसपीआर आधारित बायो सेन्सरमा उनको विशेषज्ञता छ । आफ्नो नाममा शरीरमा चिरफार, सुई घोप्ने वा रगत निकाल्नेजस्ता कुनै पनि भौतिक हस्तक्षेप नगरी र्‍याल प्रयोग गरेर मधुमेह मापन गर्ने विधिसम्बन्धी दुई ओटा कोरियन पेटेन्ट पनि उनले लिएका छन् ।

पीएचडी पूरा गरेपछि प्रा.डा. नकर्मीले अमेरिकन-कोरियन कम्पनी ‘आईएनसीएल टेक्नोलोजी’ मा रिसर्च एन्ड डेभलप्मेन्ट म्यानेजरका रूपमा काम गरे । त्यसपछि उनले काइस्टमा नै रिसर्च प्रोफेसरका रूपमा काम गर्न थाले । पीएचडी र काम गरेर नौ वर्ष कोरियामा बिताएपछि नकर्मीलाई सन् २०१६ मा चीनको नान्जिङ युनिभर्सिटी अफ एरोनटिक्स एन्ड एस्ट्रोनटिक्सले सह-प्राध्यापकको रूपमा काम गर्न प्रस्ताव गर्‍यो । सन् २०१९ देखि उनी सोही विश्वविद्यालयको प्राध्यापक पदमा रहेर अध्यापन गराउँदै आएका छन् ।

प्राध्यापनकै क्रममा सन् २०२३ मा ‘थ्यान्लु फ्लाइङ अटो’ कम्पनीमा सल्लाहकारको रूपमा काम गर्न प्रा.डा. नकर्मीलाई अनुरोध गरिएको थियो । थ्यान्लु फ्लाइङ अटोका सीईओ जाङ सुइफङले पहिला फक्सवागनसँग मिलेर ‘बाइटन’ नामक विद्युतीय कार कम्पनी सञ्चालनमा ल्याएका थिए । तर चीन सरकारबाट लाइसेन्स लिन नसकेपछि उक्त कम्पनी असफल भयो ।

त्यसपछि सन् २०२१ मा उनले थ्यान्लु सुरु गरेका थिए । कम्पनीमा आफू जोडिँदा अनुसन्धानमा तीन जना मात्र रहेको प्रा.डा. नकर्मी सम्झन्छन् । अहिले यो स्टार्टअपमा २५ जना अनुसन्धानकर्ताको टोली छ । नकर्मी पनि अहिले सल्लाहकार मात्र नभएर भाइस प्रेसिडेन्टको जिम्मेवारी सम्हालिरहेका छन् ।

थ्यान्लुले फाइभ जी ड्रोनको अनुसन्धान गर्छ । अनुसन्धानपछि तयार भएको डिजाइनअनुसार सामान तयार पार्न म्यानुफ्याक्चरिङ कम्पनीलाई जिम्मा दिइन्छ । त्यसपछि तयार भएर आएका ड्रोनका भागहरूलाई आवश्यकताअनुसार एसेम्बल गर्ने र परीक्षण गरेर बजारमा बिक्रीका लागि तयार पार्ने काम कम्पनीले गर्दै आएको छ । यो कम्पनीले आगामी वर्षभित्र बजारमा फ्लाइङ कार पठाउने योजनासहित काम गरिरहेको छ ।

थ्यान्लु फ्लाइङ अटोका सीईओ जाङ सुइफङ

नेपाल फर्किएर ड्रोनलाई व्यवसायीकरण गर्ने सपना

सन् २००४ मा अध्ययनको सिलसिलामा विदेशिएका प्रा.डा. नकर्मी पछिल्लो २१ वर्षदेखि विदेशी भूमिमै छन् । जहाँ पुगेका छन्, त्यही ठाउँलाई कर्मभूमि बनाएर बसेका छन् । जीवनको लामो ऊर्जाशील समय विदेशी भूमिमा बिताइसकेका नकर्मीलाई अब भने छिट्टै नेपाल फर्कने चाहना छ । उनी भन्छन्, “थ्यान्लु बजारमा स्थापित भइसकेपछि दुई/तीन वर्षभित्रमा नेपाल फर्किने योजना छ ।”

प्रा.डा. नकर्मीको नेतृत्वमा नेपाली अनुसन्धानकर्ता इन्जिनियरहरू विमान रिमाल, विमल भट्टराई, विवेक ढुङ्गाना, सचिदानन्द, सृष्टि महत लगायत मिलेर सन् २०२४ मा नेपालमा ‘रिसर्च सेन्टर फर लो अल्टिट्युड इकोनोमी’ (आरसीएलएई) नामक कम्पनीसमेत सञ्चालनमा ल्याएका छन् । जसलाई थ्यान्लु फ्लाइङ अटोले प्राविधिक सहयोग उपलब्ध गराएको छ ।

‘लो अल्टिट्युड इकोनोमी’ को बारेमा जानकारी दिँदै उनले भने, “लो अल्टिट्युड इकोनोमीको मुख्य अर्थ एक हजार मिटरको उचाइभित्र उड्ने सबै गतिविधिबाट अर्थतन्त्र उत्पादन गर्नु हो । जसअन्तर्गत सामान बोक्ने ड्रोन, रेस्क्यु ड्रोन, मानव बोक्ने ड्रोन र फ्लाइङ कारजस्ता ड्रोनहरू पर्छन् ।”

रिसर्च सेन्टर फर लो अल्टिट्युड इकोनोमीको टिम

नेपालमा कृषिजन्य काम, विकट स्थानमा सामग्री ओसारपसार र विपद्को समयमा उद्धारलगायतका काममा ड्रोन प्रयोग हुनसक्ने सम्भावना प्रा.डा. नकर्मीले औँल्याए । उनका अनुसार रिसर्च सेन्टर फर लो अल्टिट्युड इकोनोमीले आन्दोलन तथा झडपको समयमा भीडको निगरानी, चेतावनी दिने, टियरग्यास फाल्ने, पानीको फोहोरा हानेर भीड नियन्त्रण गर्न सकिने (रायोट कन्ट्रोल) लगायतका ड्रोनमा अनुसन्धान गरिरहेको छ ।

यस्तै हिमाली जिल्लामा फल्ने स्याउलगायत विभिन्न सामान यातायातको अभावले समयमा बजार पुग्न नसक्दा बर्सेनि अर्बौँ घाटा भइरहेको र ड्रोनको प्रयोगले त्यो घाटालाई एक चौथाइ कम गर्न सक्ने उनले दाबी गरे । उनले थपे, “पछिल्लो समय नेपालमा युवाहरूले कृषिमा चासो नै देखाउन छाडेका छन् । सहज तरिकाले र ठुलो क्षेत्रफलमा काम गर्नका लागि ड्रोनको प्रयोग गर्न सकिन्छ ।”

माटोमा पानीको मात्रा, माटोको पीएच स्केल र आर्द्रताका बारेमा पनि ड्रोनबाट पत्ता लगाएर सोहीअनुसारको खेती गर्न सकिन्छ । बिरुवाहरू कति स्वस्थ छन् वा रोग लागेको छ/छैन भन्ने पत्ता लगाउन सकिन्छ । मल छर्ने, बीउ छर्नेदेखि जमिनमा गाडेर नै बिरुवा रोप्न सक्ने ड्रोन पनि बनाउन सकिन्छ । यस्तै राष्ट्रिय निकुञ्जमा ‘एन्टी पोचिङ’ तथा वन्यजन्तु गणनाका लागि पनि ड्रोन उपयोगी हुन्छन् ।

यस्तै पर्वतारोहणमा पनि ड्रोनको प्रयोग प्रभावकारी हुने उनको भनाइ छ । भन्छन्, “नेपालमा हिमाल चढ्दा पाँच केजीसम्म फोहोर पर्वतारोहीले आफैँसँग ल्याउनुपर्ने नियम छ । पर्वतारोहणका क्रममा हिमालहरू धेरै फोहोर भइरहेका छन् । हामीले बनाएको पाँच हजार मिटरसम्मको उचाइमा उड्न सक्ने ड्रोन प्रयोग गरेर फोहोर ओसारपसार पनि गर्न सकिन्छ ।”

यी सबै आवश्यकता परिपूर्तिका लागि आरसीएलएईले थ्यान्लु फ्लाइङ अटोशँग सहकार्य गर्ने उनले बताए । यही सहकार्यबाट सन् २०२८ सम्ममा मानव बोक्ने ड्रोनलाई नेपालमा व्यवसायीकरण गर्ने योजना उनले सुनाए । उनका अनुसार आरसीएलएईले साढे २ मिटर लामो ‘विङ्स्पान फिक्स्ड विङ’ ड्रोन नेपालमा नै तयार पारेर सफल परीक्षण गरिसकेको छ । पहिले नै रुट निर्धारण गरेर निर्देशन दिएपछि रिमोट कन्ट्रोल बिना नै यो ड्रोन स्वचालित रूपमा चल्न सक्छ ।

साङ्घाई अटो शोमा प्रदर्शनमा राखिएको फ्लाइङ कार

नेपालमा ड्रोन ल्याउन नीतिगत अस्पष्टता

नेपालमा ड्रोन सञ्चालनका लागि स्पष्ट नीतिगत व्यवस्था नभएको प्रा.डा. नकर्मी बताउँछन् । ड्रोन आयातमा लिने करको निश्चित दरदेखि कति उचाइसम्म उडाउन पाउने लगायतका व्यवस्था कानुनमा स्पष्ट रूपमा समेटिएका छैनन् । यसका लागि कानुन बनाउनेदेखिका काममा नै पहल गर्नुपर्ने उनले बताए ।

उनले भने, “जेनजी आन्दोलन हुनुभन्दा पहिला म नेपालमा नै गएर ड्रोनसम्बन्धी आवश्यक कानुन बनाउन पहल गरेको थिएँ । आन्दोलनका कारणले कानुन मस्यौदाको लागि हुने भनिएको सचिवस्तरीय बैठक स्थगित भयो । अब निर्वाचित नयाँ सरकार नबनेसम्म कानुन निर्माणसम्बन्धी काम रोकिएको छ ।”

ड्रोनसम्बन्धी कानुन बनाउन पहल गरेर यसको व्यवसायीकरणको मार्ग खुला गर्ने उनको योजना छ । नेपालका विश्वविद्यालयहरूसँग सहकार्य गरेर ‘लो अल्टिट्युड इकोनोमी’ लाई एउटा छुट्टै सङ्कायको रूपमा अघि बढाउन पहल गर्ने उनले बताए ।

हाल उनी नेपालका अनुसन्धानकर्ता र विद्यार्थीहरूको क्षमता विकासका लागि अनुसन्धानमा समेत सक्रिय रहेका छन् । आई ट्रिपल ई (IEEE) फोटोनिक्स सोसाइटीको नान्जिङ च्याप्टरका सभापतिसमेत रहेका उनको अध्यक्षतामा आगामी फागुनमा नेपालमा सूचना तथा सञ्चार प्रविधि र फोटोनिक्ससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (आईसीटीपी २०२६) आयोजना हुँदै छ ।

उक्त सम्मेलनमा काइस्टका प्रा.डा. चाङ-ही ली, प्रा.डा. स्युङ हन हान, प्रा.डा. चुल हो ली, भियतनामको इस्टर्न इन्टरनेसनल युनिभर्सिटीको स्कुल अफ कम्प्युटिङ एन्ड टेक्नोलोजीका संस्थापक डीन प्रा.डा. नारायण सी. देवनाथ, चीनको नान्जिङ युनिभर्सिटी अफ एरोनटिक्स एन्ड एस्ट्रोनटिक्सका निर्देशक प्रा.डा. शिलङ पान र प्रा.डा. सुपिंग झाङ ‘की नोट स्पिकर’ को रूपमा उपस्थित हुनेछन् ।

सम्मेलनमा नेपालसहित अन्तर्राष्ट्रिय स्तरका स्नातकदेखि पीएचडी तहसम्मका विद्यार्थी तथा अनुसन्धानकर्ताहरूले १५० भन्दा बढी अनुसन्धान पत्रहरू प्रस्तुत गर्ने बताइएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा हुने उक्त कार्यक्रममा काइस्टअन्तर्गतको ‘स्कुल अफ ग्लोबल डिजिटल इनोभेसन’ द्वारा ग्लोबल डिजिटल इनोभेसन र यसको प्रभावसम्बन्धी कार्यशालासमेत सञ्चालन हुनेछ । यसले कोरिया र नेपालबिच शैक्षिक र प्राविधिक सहकार्यका लागि थप सम्भावनाको ढोका खोल्ने प्रा.डा. नकर्मी बताउँछन् ।

पछिल्लो अध्यावधिक: मंसिर २५, २०८२ १८:२६