१० हजारको लोभमा बैंकको ‘सर्भे’ भर्दै हुनुहुन्छ ? सावधान, रित्तिएला खाता !
मंसिर २७, २०८२ १५:८
काठमाडौँ । के तपाईँले सामाजिक सञ्जालमा ‘...बैंकको सर्वेक्षणमा सहभागी हुनुहोस् र १० हजार रुपैयाँ जित्नुहोस्’ भन्ने पोस्ट देख्नुभएको छ ? यदि छ भने सावधान रहनुहोला ! १० हजारको लोभमा पर्दा तपाईँको बैंक खाता नै रित्तिन सक्छ ।
पछिल्लो समय बैंकको लोगो र नाम दुरुपयोग गरी सर्वसाधारणलाई ठगी गर्ने गिरोह सक्रिय भएको पाइएको छ । स्क्यामरले सामाजिक सञ्जालमार्फत नक्कली सर्वेक्षण (सर्भे) को लिङ्क पठाउने र त्यसमा सहभागी भए १० हजार रुपैयाँसम्म पुरस्कार पाइने प्रलोभन देखाएर बैंक खाता ह्याक गर्ने नयाँ शैली अपनाएका हुन् ।
कसरी हुन्छ ठगी ?
स्क्यामरले बैंकको आधिकारिक जस्तै देखिने नक्कली पेज बनाउँछन् । र, त्यसबाट लिङ्कको प्रचार गर्छन् । उक्त लिङ्कमा क्लिक गरेपछि सर्वेक्षणका नाममा प्रयोगकर्तालाई व्यक्तिगत विवरण भर्न लगाइन्छ । मोटो रकम पाइने लोभमा सर्वसाधारणले आफ्ना गोप्य विवरण (पासवर्ड, मोबाइल नम्बर, खाता नम्बर आदि) उपलब्ध गराउँछन् । साइबर ब्युरोका अनुसार यस्ता ‘फिसिङ लिङ्क’ मार्फत स्क्यामरले प्रयोगकर्ताको मोबाइलमा आउने ‘ओटीपी’ कोड फुत्काउँछन् र त्यसैको मद्दतले सहजै बैंक खातामा एक्सेस बनाएर रकम चोर्छन् ।
बैंकको चेतावनी: ‘हामीले यस्तो अफर ल्याएका छैनौँ’
यस्ता गतिविधि बढेपछि ग्लोबल आईएमई, सिद्धार्थ, एनआईएमबी र प्रभु बैंक लगायतले सूचना जारी गर्दै आफ्ना ग्राहकलाई सचेत रहन आग्रह गरेका छन् ।
ग्लोबल आईएमई बैंकले एक सूचना जारी गर्दै भनेको छ, “बैंकको नाममा नगद पुरस्कार वा बोनस अफर भन्दै नक्कली सर्वेक्षण फैलाइएको पाइएको छ । बैंकले हाल कुनै पनि सर्वेक्षण, अफर वा पुरस्कार योजना सञ्चालन गरेको छैन ।” बैंकले यस्ता सन्देशमा विश्वास नगर्न, कुनै लिङ्क नखोल्न र व्यक्तिगत विवरण नदिन आग्रह गरेको छ ।
यस्तै सिद्धार्थ बैंकले पनि सामाजिक सञ्जालमा प्रसारित भइरहेका सर्वे सम्बन्धी पोस्ट भ्रामक रहेको प्रष्ट पारेको छ । बैंकले भनेको छ, “उक्त सामग्री बैंकद्वारा जारी गरिएको होइन । यस्ता शंकास्पद लिङ्कमा क्लिक नगर्नुहुन र आधिकारिक जानकारीका लागि बैंकको आधिकारिक पेज मात्र प्रयोग गर्नुहुन अनुरोध छ ।”
प्रभु बैंकले पनि आफ्ना ग्राहकलाई ‘लोयल्टी प्रोग्राम’ वा ‘गिफ्ट स्किम’ का नाममा नझुक्किन आग्रह गरेको छ । बैंकले कुनै पनि शंकास्पद लिङ्क नखोल्न र ओटीपी तथा पिन कोड कसैलाई पनि नदिन आग्रह गरेको छ ।
वित्तीय ठगीका घटना बढेपछि साइबर ब्युरोले पनि सर्वसाधारणलाई सचेत गराएको छ । ब्युरोले अनलाइनका माध्यममा देखिने प्रलोभनमा पार्ने खालका पोस्टको पछि नलाग्न आग्रह गरेको छ ।
ब्युरोले भनेको छ, “आफूले प्रयोग गर्ने बैंक तथा वित्तीय संस्थाको आधिकारिक पेज र वेबसाइटबाट मात्र सूचना लिन तथा शंका लागेमा सम्बन्धित निकायमा सम्पर्क गर्न सरोकारवाला सबैमा अनुरोध गरिन्छ ।”
पछिल्लो अध्यावधिक: मंसिर २७, २०८२ १५:१८
