close

गुगल ट्रान्सलेटले अब कुनै पनि हेडफोन मार्फत रियल-टाइम स्पिच ट्रान्सलेसन गर्ने

टेकपाना टेकपाना

मंसिर २८, २०८२ ११:७

गुगल ट्रान्सलेटले अब कुनै पनि हेडफोन मार्फत रियल-टाइम स्पिच ट्रान्सलेसन गर्ने

काठमाडौँ । गुगल ट्रान्सलेटमा रियल-टाइम स्पिच ट्रान्सलेसन सुविधा थपिएको छ । एपमा पछिल्लो अपडेटमार्फत आएको यो सुविधा अब प्रयोगकर्ताले चाहेको कुनै पनि हेडफोनमा उपलब्ध हुनेछ ।

यो सुविधा पहिले केवल पिक्सेल बड्समा मात्र सीमित राखिएको थियो । यो अपडेटमा नेपाली सहित ७० भन्दा बढी भाषाको सपोर्ट रहेको छ । गुगलले ट्रान्सलेटमा जेमनाईको सबैभन्दा शक्तिशाली अनुवाद क्षमता समावेश गरेको छ । जसमा टेक्स्ट अनुवाद र हेडफोन मार्फत लाइभ स्पिच-टु-स्पिच अनुवाद रहेका छन् ।

गुगलका प्रोडक्ट, सर्चका भीपी रोज याओका अनुसार यो अपडेटबाट मानिसहरूले के भन्छन् मात्र होइन, उनीहरूले कसरी भन्छन् भन्ने सूक्ष्मतालाई पनि बुझ्न मद्दत गर्छ । गुगल ट्रान्सलेटले इडियम (idioms), स्थानीय अभिव्यक्ति वा स्ल्याङ जस्ता सूक्ष्म अर्थ भएका वाक्यांशहरूको अनुवाद सुधार गर्न एड्भान्स जेमनाई क्षमता प्रयोग गर्नेछ ।

यसले अभिव्यक्तिको शाब्दिक अनुवादको सट्टा सन्दर्भ बुझेर अझ प्राकृतिक र सही अनुवाद प्रदान गर्दछ । यो सुधारिएको टेक्स्ट अनुवाद अमेरिका र भारतमा एन्ड्रोइड, आईओएस एप र वेब संस्करणमा रोल आउट भइरहेको छ ।

जेमनाईको नयाँ नेटिभ स्पिच-टु-स्पिच अनुवाद क्षमतामा आधारित यो सुविधामा हेडफोनमार्फत रियल-टाइम अनुवाद सुन्न सकिन्छ । यो नयाँ अनुभवले प्रत्येक वक्ताको स्वर (tone), जोड (emphasis) र लय (cadence) लाई कायम राख्ने काम गर्छ । जसले गर्दा अनुवाद अझ प्राकृतिक सुनिन्छ ।

यो लाइभ स्पिच ट्रान्सलेसन सुविधा अमेरिका, मेक्सिको र भारतमा ट्रान्सलेटको एन्ड्रोइड एपमा बेटा भर्सनको रूपमा रोल आउट भइरहेको छ । यसका लागि ट्रान्सलेट एप भएको उपयुक्त एन्ड्रोइड फोन आवश्यक पर्दछ । गुगलले सन् २०२६ मा आईओएस ट्रान्सलेट एप र थप देशहरूमा पनि यो सुविधा विस्तार गरिने बताएको छ ।

पछिल्लो अपडेटमार्फत ट्रान्सलेट एपमा रहेको भाषा सिक्ने (Practice) सुविधाको पनि विस्तार भइरहेको छ । अगस्टमा बेटा भर्सनको रूपमा सुरु भएको यो प्राक्टिस सुविधाले एआई प्रयोग गरेर प्रयोगकर्ताको सीप स्तरको आधारमा शब्दावली अभ्यास र सुन्ने क्षमता सहितको भाषा सिक्ने कस्टमाइज सेसनहरू तयार पारिदिन्छ ।

जुन केही हदसम्म डुओलिङ्गो जस्तै हो । यो सुविधा जर्मनी, भारत, स्विडेन र ताइवान लगायत लगभग २० नयाँ देशमा विस्तार भइरहेको छ ।

पछिल्लो अध्यावधिक: पुस ५, २०८२ १६:६