यस्ता छन्, एन्ड्रोइड १५ भित्र लुकेका जरुरी ९ फिचर, तपाईँलाई कुन-कुन बारे थाहा छ ?
मंसिर २९, २०८२ १३:४९
काठमाडौँ । गुगलले एन्ड्रोइड १५ मा प्राइभेट स्पेस र चोरी रोकथाम गर्ने टुल लगायतका अनेकन् उपयोगी फिचरहरू समावेश गरेको छ । जसमा कम चर्चामा रहेका 'लुकेका' फिचरहरू पनि छन् ।
यी साना, तर अर्थपूर्ण फिचरले प्रयोगकर्ताको उत्पादकत्व, सुरक्षा र दैनिक अनुभवलाई थप सरल र कुशल बनाउन मद्दत गर्छन् । आज हामी तपाईँलाई एन्ड्रोइडमा लुकेका र तपाईँले थाहा पाउनै पर्ने त्यस्ता किसिमका ९ महत्त्वपूर्ण फिचरको बारेमा यहाँ बताउँदै छौँ ।
१. नोटिफिकेसन इतिहास चेक गर्ने
यदि तपाईँले कुनै महत्त्वपूर्ण नोटिफिकेसन (notification) गल्तीले स्वाइप गर्नुभयो भने एन्ड्रोइडले तपाईँलाई पछिल्लो २४ घण्टामा प्राप्त भएका सबै नोटिफिकेसनको हिस्ट्री सेभ गर्ने सुविधा पनि दिन्छ । यसका लागि Settings मा जानुहोस् र Notifications मा ट्याप गर्नुहोस् ।
त्यसपछि Use notification history ट्याप गरेर टोगल अन गर्नुहोस् । अब उपरान्त कुनै पनि नोटिफिकेसन छुटेमा तपाईँले यसलाई नोटिफिकेसन सेक्सनको हिस्ट्रीमा गएर हेर्न सक्नुहुन्छ ।
२. वाई-फाई पासवर्ड क्यूआरकोड मार्फत शेयर गर्ने
आफ्नो घरमा पाहुना आउँदा वाई-फाई पासवर्ड एक-एक गरेर भन्नुको सट्टा तपाईँ क्यूआर कोड बनाएर सजिलै शेयर गर्न सक्नुहुन्छ । यसले लामो र जटिल पासवर्डहरू टाइप गर्ने झन्झटबाट मुक्ति दिन्छ र सुरक्षा कायम राख्न पनि मद्दत गर्छ ।
यसका लागि Settings हुँदै Wi-Fi मा जानुहोस् । तपाईँको डिभाइस कनेक्टेड भएको नेटवर्कको छेउमा रहेको गियर आइकनमा ट्याप गर्नुहोस् ।
अब त्यहाँ QR code वा Share लेखिएको स्थानमा ट्याप गर्नुहोस् । आफ्नो स्क्रिन अनलक गरेर (पिन वा फिङ्गरप्रिन्ट प्रयोग गरी) भेरिफाई गर्नुहोस् । अब स्क्रिनमा आएको क्यूआर कोडलाई पाहुनाको फोनबाट स्क्यान गर्न लगाउनुहोस् ।
३. एप पिनिङ मार्फत सुरक्षा
यदि तपाईँले आफ्नो फोन साथी वा परिवारका सदस्यलाई दिनुभएको छ र उनीहरूले तपाईँको व्यक्तिगत जानकारी भएका अन्य एपहरू नखोलून् भन्ने चाहनुहुन्छ भने एप पिनिङ प्रयोग गर्न सक्नुहुन्छ । यसबाट तपाईँले आफ्नो फोन दिनु अघि चयन गरिएको एउटा एपमा मात्र फोन लक गरिदिन्छ ।
यो सुविधा प्रयोग गर्न Settings हुँदै Password and security मा जानुहोस् ।त्यहाँ App pinning फिचर खोज्नुहोस् । कहिले भेटिएन भने More security settings भित्र गएर हेर्नुहोस् ।
अब App pinning लाई on गर्नुहोस् । एप पिन गर्नका लागि रिसेन्ट एप अर्थात् हालसालै प्रयोग गरिएका एपहरूको स्क्रिनमा गएर पिन गर्न चाहेको एपको आइकनमा ट्याप गर्नुहोस् र Pin चयन गर्नुहोस् ।
यसरी पिन गरिएको एपबाट बाहिर निस्कन Back र Recent apps बटन एकसाथ थिचिराख्नुहोस् र पिन वा फिङ्गरप्रिन्ट राखेर अनलक गर्नुहोस् ।
४. गेस्ट मोड
तपाईँले आफ्नो फोन साथीभाइ वा परिवारलाई केही बेरको लागि चलाउन दिँदा यो मोड प्रयोग गर्न सक्नु हुन्छ । यसले तपाईँले प्रयोग गरिरहेका एपहरूबाट कुनै पनि जानकारी लिक नगरी अरूलाई तपाईँको फोन एप प्रयोग गर्ने सुविधा दिन्छ ।
यो सुविधा प्रयोग गर्न Settings हुँदै Users & accounts मा जानुहोस् । त्यहाँबाट Multiple users मा ट्याप गरेर Users को टोगल अन गर्नुहोस् । अब Add user मा थिचेर OK गर्नुहोस् र कुनै नाम दिनुहोस् । यसबाट आवश्यक सेटिङहरू मिलाएर Switch to New user मा दबाउनु होस् ।
यस बाहेक तपाईँले नोटिफिकेसन प्यानलबाट युजर आइकनमा गएर पनि गेस्ट युजर छान्न सक्नु हुन्छ ।
५. वन-ह्यान्डेड मोड
ठुला स्क्रिन भएका फोनहरूमा एक हातले सबै कुरा नियन्त्रण गर्न गाह्रो हुन्छ । यो मोडले स्क्रिनको सम्पूर्ण युजर इन्टरफेसलाई तल झार्छ । जसले गर्दा सबै चिजहरू सजिलै पहुँचयोग्य हुन्छन् ।
यसका लागि Settings हुँदै Shortcuts & accessibility मा जानुहोस् ।त्यहाँ One-handed मा ट्याप गर्नुहोस् र टगल अन गर्नुहोस् । अब प्रयोग गर्नका लागि औँलालाई स्क्रिनको एक छेउबाट बिचतिर लगेर फेरि बाहिर तर्फ स्वाइप गर्नुहोस् ।
६. टेक्स्ट अनुवाद गर्ने
विदेश यात्राको क्रममा वा कुनै विदेशी भाषाको मेनु पढ्न समस्या भएमा तपाईँ गुगल लेन्स प्रयोग गरेर क्यामेराबाटै टेक्स्टलाई तुरुन्त अनुवाद गर्न सक्नुहुन्छ ।
यसका लागि गुगलको लेन्स एप खोल्नुहोस् अथवा क्रोम ब्राउजरको सर्च बार छेउमा रहेको क्यामेरा आइकनमा ट्याप गर्नुहोस् । अब स्क्रिनको तल रहेको Translate मा ट्याप गर्नुहोस् ।
आफ्नो क्यामेरालाई अनुवाद गर्न चाहेको टेक्स्टमाथि देखाउनुहोस् र फोटो खिच्नुहोस् ।एन्ड्रोइडले मूल लेआउटमै अनुवादित टेक्स्ट देखाउँछ ।
७. स्मार्ट लक/एक्सटेन्ड अनलक
यदि तपाईँ घरमै आराम गरिरहेको बेला बारम्बार फोन अनलक गर्नुपर्ने झन्झटबाट मुक्ति चाहनुहुन्छ भने Extend Unlock (पहिले यसलाई Smart Lock पनि भनिन्थ्यो) फिचर प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि तपाईँले Trusted places (सुरक्षित स्थानहरू) सेट गर्न सक्नुहुन् । जहाँ पुगेपछि फोन स्वतः अनलक हुन्छ ।
यो फिचर प्रयोग गर्न Settings हुँदै password and security भित्र जानुहोस् र Extend Unlock मा ट्याप गर्नुहोस् । अब त्यहाँ Trusted places (विश्वसनीय स्थानहरू) मा ट्याप गर्नुहोस् । र Add trusted places ट्याप गरेर आफ्नो घर वा सुरक्षित स्थान चयन गर्नुहोस् । यो फिचर प्रयोग गर्दा सुरक्षाको बारेमा भने सचेत हुनुपर्छ ।
८. आपत्कालीन स्वास्थ्य जानकारी सेट गर्ने
यो जीवन बचाउने महत्त्वपूर्ण फिचर हो । जसले आपत्कालीन अवस्थामा पहिलो प्रतिक्रिया दिने व्यक्तिहरू (first responders) लाई तपाईँको रगत समूह, एलर्जी वा तपाईँले लिइरहेका औषधिहरूको जानकारी उपलब्ध गराउँछ । यो जानकारी फोन लक हुँदा पनि हेर्न सकिन्छ । यो फिचर प्रयोग गर्न Settings हुँदै Safety & Emergency मा जानुहोस्।
Medical information मा ट्याप गर्नुहोस् । त्यसपछि त्यहाँ रहेका आवश्यक विवरणहरू भर्नुहोस् (थप विवरण राख्न More भित्र जानु होस्) । अन्तिममा रहेको Change setting मा गएर यो जानकारी लक स्क्रिन वा तपाईँले इमर्जेन्सी कल गर्ने क्रममा हेर्न मिल्ने गरी सेट गर्नुहोस् ।
९. ब्याट्री जोगाउन स्क्रिन रिजोलुसन घटाउने
यदि तपाईँ आफ्नो ब्याट्रीको चार्ज सकेसम्म धेरै बचाउन चाहनुहुन्छ भने स्क्रिनको चमक कम गर्नुका साथै केही एन्ड्रोइड डिभाइसहरूमा स्क्रिन रिजोलुसन घटाउने विकल्प प्रयोग गर्न सक्नु हुन्छ । सामान्यतया रिजोलुसन 1440p बाट 1080p मा घटाउनाले ब्याट्री लाइफ बढाउन मद्दत गर्छ ।
यसका लागि (यदि तपाईँको डिभाइसमा उपलब्ध छ भने) Settings हुँदै Display मा जानुहोस्। अब त्यहाँ Screen resolution मा ट्याप गर्नुहोस् ।त्यहाँबाट कम रिजोलुसन विकल्प चयन गर्नुहोस् ।
पछिल्लो अध्यावधिक: मंसिर २९, २०८२ १४:७
