मङ्गलबार राजधानीमा आयोजना हुँदै ‘डिजिटल राइट्स कन्फ्रेन्स २०२५’, निःशुल्क सहभागी हुन यसरी गर्नुहोस् रजिस्ट्रेसन
मंसिर २९, २०८२ १४:३५
काठमाडौँ । काठमाडौँमा डिजिटल अधिकार सम्बन्धी कन्फ्रेन्स आयोजना हुने भएको छ । मङ्गलबार (१६ डिसेम्बर) मा काठमाडौँको ठमेलस्थित मल्ल प्लाजामा ‘बिल्डिङ ट्रस्ट इन डिजिटल एज’ शीर्षकमा कन्फ्रेन्स आयोजना हुन लागेको हो ।
उक्त कन्फ्रेन्सको आयोजकमा डिजिटल फ्रिडम कोलिसन रहेको छ । कन्फ्रेन्समा डिजिटल प्रविधिमा मानव अधिकारको संरक्षण, एल्गोरिदमिक ट्रान्सपरेन्सी, डिजिटल बायस र प्लेटफर्म नियमनका विषयमा छलफल हुनेछ । यस्तै, नेपालको एआई नीतिको विश्लेषण, नेपालमा सूचनाको विश्वसनीयता र डिजिटल साक्षरताका बारेमा सम्बन्धित क्षेत्रका विज्ञहरूले प्यानल छलफल गर्नेछन् ।
बिहान ८:३० बजेदेखि साँझ ५:०० बजेसम्म चल्ने एक दिने उक्त कन्फ्रेन्समा एक सयदेखि ११० जनासम्म सहभागी हुने अनुमान गरिएको डिजिटल फ्रिडम कोलिसनका संस्थापक तथा अधिवक्ता बाबुराम अर्यालले जानकारी दिए ।
समारोहमा सहभागिता जनाउन इच्छुक व्यक्तिहरूले यहाँ क्लिक गरेर आफ्नो नाम दर्ता गराउन सक्ने छन् । नि:शुल्क रूपमा नाम दर्ता गर्न सकिने र अनुमानित सङ्ख्यामा सहभागीहरूले नाम दर्ता गरेपछि फाराम बन्द गरिने उनले बताए ।
पछिल्लो अध्यावधिक: मंसिर २९, २०८२ १४:४९
