फ्याक्टचेक: के धुर्मुस-सुन्तलीले पासपोर्ट च्यातेका हुन् ? यस्तो छ भाइरल भिडिओको वास्तविकता
पुस २, २०८२ ९:५२
काठमाडौँ । केही दिनयता कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस-सुन्तली) ले नेपालको पासपोर्ट च्यातेको जस्तो देखिने भिडिओ भाइरल भइरहेको छ । भिडिओमा उनीहरूले पासपोर्ट च्यातेपछि ‘मेक अमेरिका ग्रेट अगेन’ लेखिएको क्याप लगाएको देखिन्छ । विशेषगरी टिकटकमा भाइरल उक्त भिडिओ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिबाट तयार पारिएको टेकपानाको तथ्यजाँचबाट पुष्टि भएको छ ।
दाबी
टिकटक प्रयोगकर्ता ‘nepalnews292’ ले सार्वजनिक गरेको भिडिओमा सुन्तलीले भिडिओ खिचिरहेकी छिन् भने धुर्मुस उनको बायाँतर्फ बसेर क्यामेरातर्फ हेरिरहेका छन् । भिडिओमा उनीहरूले नेपालको जस्तो देखिने पासपोर्ट च्यातेर ‘Make America Great Again’ लेखेको क्याप लगाएको देखाइएको छ । भिडिओमा लेखिएको छ, “धुर्मुस सुन्तलीले भने हामि भागेको हैन । हामी छोरीको उपचारका लागि अमेरिका आएका हौँ ।”
यो सामग्री तयार पार्दा सम्म ४५ लाखभन्दा धेरै पटक हेरिएको छ । उक्त पोस्टलाई हालसम्म एक लाख ६० हजार बढि लाइक र दुई हजार बढि कमेन्ट गरिएको छ । हेर्नुहोस् भिडिओ । कमेन्टमा अधिकांशले छोरीको उपचार नेपालमा नै सम्भव छैन लगायतका प्रश्न गरेका छन् । कतिपयले भने “अमेरिकामा नै बसे हुन्छ” भन्दै असन्तुष्टि जनाएका छन् ।
अनुसन्धान
उक्त भिडिओ भाइरल भएको देखेपछि हामीले भिडिओबाट विभिन्न किफ्रेम निकालेर गुगल रिभर्स सर्च गरेर हेर्यौँ । यसरी खोज्दा अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि उक्त भिडिओ राखेको फेला पर्यो । टिकटकमा नै ‘Nepokid_101’ ले तीन दिनअघि सार्वजनिक गरेको सोही भिडिओ राखेको छ ।
उक्त भिडिओको स्टाटसमा लेखिएको छ, “Popular comedian couple Sitaram Kattel ‘Dhurmus’ and Kunjana Ghimire ‘Suntali’ have reportedly moved to the United States with their daughter.” हेर्नुहोस् भिडिओ ।
१३ सेप्टेम्बर दिउँसो १.०७ बजे फेसबुकमा ‘Nepal China village Tales’ ले पनि उक्त तस्बिर सार्वजनिक गरेको छ । तस्बिरमा लेखेको छ, “कुरा यस्तो पो आयो त !” हेर्नुहोस् पोस्ट ।
हामीले सामाजिक सञ्जालमा भाइरल भइरहेको उक्त भिडिओलाई विश्लेषण गरेर हेर्यौँ । त्यसका लागि हामीले सबैभन्दा पहिला भिडिओबाट किफ्रेम निकाल्यौँ । किफ्रेम निकालेर विश्लेषण गर्दा पनि भिडिओमा अस्वाभाविक क्रियाकलापहरू भएको देखिएको छ ।
हामीले उक्त भिडिओलाई एआई भिडिओ डिटेक्सन टुल ‘हाइभ मोडेरेसन’ मा राखेर हेर्यौँ । उक्त टुलले भिडिओ ९०% एआई जेनेरेटेड सामग्री रहेको देखायो ।
हामीले धुर्मुस-सुन्तलीको कुनै फोटोलाई आधारमा लिएर एआई भिडिओ बनाएको अनुमान लगायौँ । तर गुगल रिभर्स सर्च गर्दा धुर्मुस-सुन्तलीको भाइरल भिडिओसँग मिल्दो फोटो भने फेला पार्न सकेनौँ ।
केही दिनअघि प्रकाश सुवेदी प्रस्तोता रहेको रजतपटको “टिपन टापन टिप्पणी” नामक कार्यक्रममा “धुर्मुस सुटुक्क अमेरिका भागे ?” शीर्षकमा भिडिओ सामग्री प्रसारण भएको थियो । ११ डिसेम्बरमा ‘Rajatpat Online TV’ युट्युब च्यानलबाट सार्वजनिक भएको भिडिओ यहाँ हेर्न सकिन्छ । त्यसपछि धुर्मुस-सुन्तली अमेरिका भागेको भन्दै सामाजिक सञ्जालमा टिप्पणी हुन लागेको थियो ।
जवाफमा १२ डिसेम्बरमा सीताराम कट्टेल ‘धुर्मुस’ ले फेसबुकमा लामो ‘बकपत्र’ लेख्दै छोरीलाई ‘म्यानेन्जाइटिस’ नामक रोग लागेको र त्यसको सहज उपचार खोज्दै ‘एक्स्ट्रा अर्डिनरी भिसा’ अप्लाई गरेर अमेरिका गएको जानकारी दिएका थिए । उक्त बकपत्रमा धुर्मुसले छोरीको उपचार पूरा गरेपछि नेपालमा नै फर्किएर कलाकारितामा पुन: रम्न चाहेको बताएका थिए । सोही सन्दर्भलाई जोडेर धुर्मुस/सुन्तलीले नेपालको पासपोर्ट च्यातेर अमेरिकाको ‘मेक अमेरिका ग्रेट अगेन’ लेखेको क्याप लगाएको एआई भिडिओ बनाएर सार्वजनिक गरेको हाम्रो अनुसन्धानबाट देखाएको छ ।
दाबी
धुर्मुस-सुन्तलीले नेपालको पासपोर्ट च्यातेर ‘मेक अमेरिका ग्रेट अगेन’ लेखेको क्याप लगाए ।
दाबीकर्ता
‘nepalnews292’, ‘‘Nepokid_101’, ‘Nepal China village Tales’ सहित सामाजिक सञ्जाल प्रयोगकर्ता ।
तथ्य
धुर्मुस-सुन्तलीले नेपालको पासपोर्ट च्यातेर अमेरिकी क्याप लगाएको देखिने भिडिओ वास्तविक होइन । यो उनीहरूको अमेरिका यात्राको सन्दर्भलाई जोडेर एआई प्रयोग गरी बनाइएको भ्रामक भिडिओ हो ।
निष्कर्ष
सामाजिक सञ्जालमा भाइरल उक्त भिडिओ वास्तविक होइन । हामीले किफ्रेम निकालेर विश्लेषण गर्दा भिडिओमा अस्वाभाविक गतिविधि भएको पायौँ । एआई भिडिओ डिटेक्सन टुल ‘हाइभ मोडेरेसन’ ले उक्त भिडिओ ९०% एआई जेनेरेटेड कन्टेन्ट रहेको देखाएको छ । ‘एक्स्ट्रा अर्डिनरी भिसा’ अप्लाई गरेर धुर्मुस-सुन्तली अमेरिका गएको सन्दर्भलाई जोडेर भ्रामक तरिकाले एआईबाट उक्त भिडिओ बनाइएको हो ।
प्रतिक्रिया
तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नु हुनेछ ।
पछिल्लो अध्यावधिक: पुस २, २०८२ १०:०
