ट्वीटर ब्रान्ड र लोगो प्रयोग गरी ट्रेडमार्क हनन गरेको भन्दै एक स्टार्टअप विरुद्ध एक्सको मुद्दा
पुस २, २०८२ ११:३५
काठमाडौँ । ट्वीटरको नाम परिवर्तन भएर एक्स बनिसकेको भए पनि एलन मस्कको कम्पनी एक्स कर्पले एक स्टार्टअप 'अपरेसन ब्लु बर्ड' विरुद्ध ट्रेडमार्क हननको मुद्दा दायर गरेको छ । यो स्टार्टअपले नयाँ सामाजिक सञ्जालको लागि ट्वीटर ब्रान्डलाई पुन: स्थापित गर्ने लक्ष्य राखेको थियो ।
मङ्गलबार दायर गरिएको यो मुद्दामा एक्स कर्पले अपरेसन ब्लु बर्डले निर्लज्जतापूर्वक ट्वीटरको ट्रेडमार्कहरू चोर्न खोजेको आरोप लगाएको छ । ट्वीटर कहिल्यै नहराएको र यसको विशेष स्वामित्व एक्स कर्पसँग नै रहेको दाबी एक्स कर्पले गरेको छ ।
गत हप्ता अपरेसन ब्लु बर्डले यूएस प्याटेन्ट एन्ड ट्रेडमार्क अफिसमा एक निवेदन दर्ता गराउँदै एक्स कर्पको ट्वीटर र ट्वीट ट्रेडमार्कहरूको स्वामित्व रद्द गर्न माग राखेको थियो । एक्स कर्पले सो ब्रान्ड प्रयोग गर्ने कुनै मनसाय नराखी ट्रेडमार्क अधिकारहरू कानुनी रूपमा त्यागेको दाबी ब्लु बर्डको थियो । साथै अपरेसन ब्लु बर्डले ट्विटर डट न्यु नामक नयाँ साइट सुरु गर्ने योजनाका साथ ट्वीटर ट्रेडमार्कका लागि आवेदन पनि दिएको थियो ।
तर एक्स कर्पले सामाजिक सञ्जाल साइटको नाम परिवर्तन गरी एक्स बनाउनु भनेको ट्रेडमार्क अधिकारहरूको परित्याग नभएको तर्क अघि सारेको छ । प्रयोगकर्ताहरूले अझै पनि एक्सलाई ट्वीटर र पोस्टहरूलाई ट्वीट नै भन्ने गरेको दाबी समेत प्रस्तुत गरेको छ ।
केही वेबसाइटहरूले प्रयोगकर्ताहरूलाई एक्समा लिङ्क गर्दा अझै पनि ट्वीटरको चरा आकारको फेभिकन देखिन्छ । ११ डिसेम्बर, २०२५ सम्म ४० लाख भन्दा बढी प्रयोगकर्ताहरूले ट्वीटर डटकम डोमेन मार्फत एक्समा पहुँच गरेका थिए । यद्यपि एक्सले गत वर्षदेखि नै ट्राफिकलाई एक्स डटकममा रिडाइरेक्ट गर्न थालेको थियो ।
एक्स कर्पले अपरेसन ब्लु बर्डले आफ्नो ट्वीटर डट न्यु साइटमा ट्वीटरसँग मिल्दोजुल्दो लोगो, नाम र रङ्ग प्रयोग गरेर गलत सम्बन्ध जोड्न खोजेको दाबी गरेको छ । कम्पनीले ब्लु बर्डले ब्रान्डको ख्याति (गुडविल) मा व्यापार गर्न खोजेको र अर्बौँ डलरको ब्रान्डको ख्यातिबाट फाइदा उठाउन खोजेको आरोप लगाएको छ ।
एक्स कर्पले अदालतसँग अपरेसन ब्लु बर्डलाई ट्वीटर ब्रान्डसँग सम्बन्धित ट्रेडमार्कहरू प्रयोग गर्नबाट रोक्न, ब्लु बर्डको ट्रेडमार्क आवेदनलाई अस्वीकार गर्न र एक्स कर्पलाई ब्लु बर्डको ट्रेडमार्क हननका कारण भएको क्षतिपूर्ति दिलाउन माग गरेको छ ।
ट्रेडमार्क कानुनका वकिल जोश गर्बेनले एक्स कर्पले यो मुद्दा दायर गर्नुपर्ने अनिवार्य नभएको द भर्जसँग बताएका छन् । उनका अनुसार कम्पनीले ट्रेडमार्क ट्रायल एन्ड अपिल बोर्डमा खारेजीको निवेदनको प्रतिरक्षा गर्न सक्थ्यो । यो मुद्दाबाट एक्स कर्पले ट्वीटर ब्रान्डलाई समाप्त गर्न खोजे पनि यसलाई अरू कसैले पुनः प्रयोग दिन भने तयार नरहेको देखिएको छ ।
पछिल्लो अध्यावधिक: पुस २, २०८२ ११:३५
