काठमाडौँ । साओमीले आफ्नो आगामी फ्ल्यागशिप स्मार्टफोन साओमी १७ अल्ट्रा विश्व बजारमा समेत सार्वजनिक गर्ने भएको छ । कम्पनीले औपचारिक रूपमा यसको पुष्टि नगरे तापनि अमेरिकाको नियामक निकाय एफसीसी (एफसीसी) ले हालै त्यसको ग्लोबल भर्सनलाई प्रमाणीकरण गरेको हो ।
प्रमाणीकरणमा प्राप्त भएको यो ग्लोबल संस्करणको मोडल नम्बर 2512BPNDAG रहेको छ । जसको अन्त्यमा रहेको G ले यो डिभाइस विश्व बजारका लागि लक्षित भएको पुष्टि गर्छ । यो मोडेल चीनमा आउँदो हप्ता सार्वजनिक हुँदैछ । विश्व बजारमा भने आगामी मार्चसम्ममा आउने अपेक्षा गरिएको छ ।
साओमी १७ अल्ट्रा एन्ड्रोइड १६ अपरेटिङ सिस्टममा आधारित हाइपरओएस ३ सँगै सार्वजनिक हुनेछ । कनेक्टिभिटीको कुरा गर्नुपर्दा यो स्मार्टफोनमा फाइभजी, वाई-फाई ७, ब्लुटुथ एलई, वायरलेस चार्जिङ लगायतका फिचर समावेश हुनेछन् ।
साथै यसमा स्न्यापड्रागन ८ एलिट जेन ५ एसओसी प्रोसेसर रहने अनुमान गरिएको छ । यो डिभाइस साओमीको उत्कृष्ट फ्ल्यागशिप क्यामेरा हुने अपेक्षा गरिएको छ । जसका लागि कम्पनीले लाइकासँग सहकार्य गरेको छ । बजार हल्ला अनुसार यसमा १ इन्चको मुख्य सेन्सर समावेश हुनेछ ।
फोनमा मोबाइल उपकरणका लागि उद्योगकै पहिलो लाइका एपीओ-प्रमाणित टेलिफोटो लेन्स समावेश हुने बताइएको छ । क्यामेरा सेटअपमा पछाडि पट्टि तीनवटा क्यामेरा हुनेछन् ।
पछिल्लो अध्यावधिक: पुस ३, २०८२ १२:१५
