close

‘झ्याप’ को तालमा कानुनकी विद्यार्थीलाई आफ्नो गोप्य अङ्गको फोटो पठाएपछि…

टेकपाना टेकपाना

पुस ५, २०८२ १५:५४

सांकेतिक तस्बिर सांकेतिक तस्बिर

काठमाडौँ । सामाजिक सञ्जालको दुरुपयोग गरी महिलालाई अश्लील तस्बिर र सन्देश पठाएर हैरानी दिएको आरोपमा नुवाकोटका प्रभुशरण खतिवडा विरुद्धमुद्दा दायर भएको छ । बिहीबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले खतिवडाविरुद्ध काठमाडौं जिल्ला अदालतमा विद्युतीय कारोबार ऐन अन्तर्गतको मुद्दा दायर गरेको हो । 

खतिवडामाथि सामाजिक सञ्जाल ‘एक्स’ मार्फत एक महिलालाई पुरुषको संवेदनशील अङ्गको तस्बिर र अश्लील सन्देश पठाएको आरोप लागेको छ ।

अभियोगपत्रमा उल्लेख भए अनुसार पीडित महिला र प्रतिवादी खतिवडाबिच पहिलेदेखि नै फेसबुकमा चिनजान थियो । पीडित र प्रतिवादी दुवै कानुनका विद्यार्थी भएकोले उनीहरूबिच सामाजिक सञ्जालमा कुराकानी हुने गरेको थियो । पीडित महिलाले आफू फेसबुकभन्दा एक्समा सक्रिय हुने बताएपछि उनीहरू उक्त प्लेटफर्ममा जोडिएका थिए । 

तर, ५ कात्तिक २०८२ (तिहारको समयमा) खतिवडाले आफ्नो ‘एक्स’ ह्यान्डलबाट पीडितको ह्यान्डलमा अश्लील तस्बिरसहित “How is my d**k, last jhap vaya sorry’ भन्ने अपमानजनक सन्देश पठाएको आरोप छ । यस कार्यले पीडितलाई मानसिक यातना र दुःख हैरानी भएको भन्दै पीडितले साइबर ब्युरोमा उजुरी दिएकी थिइन् ।

पीडितको उजुरीपछि प्रहरीले खतिवडालाई पक्राउ गरी उनको साथबाट रेड्मी ब्रान्डको मोबाइल बरामद गरेको थियो । प्राविधिक परीक्षणका क्रममा उक्त मोबाइलमा पीडितले दाबी गरेको ‘एक्स’ एकाउन्ट लगइन अवस्थामा भेटिएको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।

अनुसन्धानका क्रममा बयान दिँदै प्रतिवादी खतिवडाले कसुर स्वीकार गरेका छन् । उनले तिहार मनाउने क्रममा मादक पदार्थ सेवन गरी मातिएको अवस्थामा अन्जानवश आफ्नो गोप्य अङ्गको तस्बिर र सन्देश पठाएको बयान दिएका छन् ।

सरकारी वकिल कार्यालयले खतिवडाविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिमको कसुर गरेको अभियोग लगाएको छ । उक्त दफा अनुसार सामाजिक सञ्जालमा प्रचलित कानुनले रोक लगाएका वा सार्वजनिक नैतिकता विरुद्धका सामग्री प्रकाशन गर्ने वा महिलालाई जिस्क्याउने, हैरानी गर्ने कार्य गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

अभियोगपत्रमा प्रतिवादीलाई हदैसम्मको सजायका साथै पीडितलाई मनासिब क्षतिपूर्ति भराउन र कसुरमा प्रयोग भएको मोबाइल जफत गर्न समेत माग गरिएको छ ।

पछिल्लो अध्यावधिक: पुस ५, २०८२ १६:१