राजनीतिक दल सहमत भए चुनावमा कम खर्चमै विद्युतीय भोटिङ सम्भव छः सञ्चारमन्त्री खरेल
पुस ६, २०८२ ९:४७
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी २१ फागुनमा हुने भनिएको चुनावमा विद्युतीय भोटिङ सम्भव रहेको बताएका छन् । शनिबार ललितपुरमा आयोजित क्यान बीटुबी समिटको उद्घाटन गर्दै मन्त्री खरेलले यस्तो अभिव्यक्ति दिएका हुन् ।
प्रविधिको उच्चतम प्रयोगमार्फत निर्वाचन प्रणालीलाई आधुनिक बनाउनुपर्नेमा जोड दिँदै उनले राजनीतिक दलहरूबिच राष्ट्रिय सहमति जुटेमा आगामी निर्वाचनमा कम लागतमै विद्युतीय भोटिङको व्यवस्था गर्न सकिने बताए । नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रलाई सुदृढ बनाउने र व्यवसायीहरूबिच समन्वय बढाउने उद्देश्यका साथ कम्प्युटर एसोसिएसन अफ नेपाल महासङ्घ (क्यान महासङ्घ) को आयोजनामा पुल्चोकस्थित द प्लाजामा दुई दिने समिट सुरु भएको हो ।
समिट उद्घाटनका क्रममा बोल्दै उनले सूचना प्रविधिको यो युगमा पनि अर्बौँ रुपैयाँ खर्च गरेर कागजको मतपत्र छाप्ने र सुरक्षाका साथ दुई दिन लगाएर बोक्नुपर्ने बाध्यता दुखद रहेको बताए । "डिजिटल नेपालको लक्ष्य पूरा गर्न सरकार प्रविधिमैत्री बन्नुको विकल्प छैन," मन्त्री खरेलले भने, "अब डिजिटल मार्गको माग बढ्दो छ र मन्त्रालयले नीतिगत तथा संरचनागत सुधारमा तीव्रता दिइरहेको छ ।"ू
उनले सरकार आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने तयारीमा जुटेको र जेनजी आन्दोलनको भावना अनुरूप सुशासन कायम गर्न प्रतिबद्ध रहेको समेत स्पष्ट पारे । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डे लगायतले सरकारले लगानीको सुरक्षा प्रत्याभूति गर्ने वातावरण बनाउन र स्पष्ट लगानी संरक्षण नीति ल्याउन आग्रह गर्दै सूचना प्रविधिको क्षेत्रमा रोजगारीका हजारौँ अवसर सिर्जना गर्न सकिनेमा जोड दिए ।
क्यान महासङ्घकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले प्रविधि र व्यवसायबिचको दुरी कम गर्दै नेपाली आईसीटी उद्योगलाई भविष्यमुखी बनाउन यो सम्मेलनले पुलको काम गर्ने विश्वास व्यक्त गरिन् । महासचिव चन्द्र विलास भुर्तेलले देशभरबाट व्यवसायी, डिलर र आयातकर्तालाई एउटै थलोमा ल्याएर व्यापार विस्तार गर्नु समिटको मुख्य उपलब्धि रहेको बताए ।
सम्मेलनको पहिलो दिन शनिबार आईटी व्यवसायको डिजिटल रूपान्तरण र आर्टिफिसियल इन्टेलिजेन्स विषयमा केन्द्रित रहेर विशेष छलफलहरू भएका थिए । जसमा हाईटेक, टेक वर्ल्ड डिस्ट्रिब्युसन लगायतका प्रमुख कम्पनीहरूले आआफ्नो नवीन प्रविधिको प्रस्तुति दिएका थिए ।
दुई दिने सम्मेलन आइतबार समापन हुँदैछ । दोस्रो दिनको कार्यक्रम विशेषगरी ुसाइबर सुरक्षा र एआईमा केन्द्रित हुने बताइएको छ । समिटमा १०० भन्दा बढी प्राविधिक प्रतिनिधि र व्यवसायीहरूको सहभागिता रहेको छ ।
पछिल्लो अध्यावधिक: पुस ६, २०८२ ९:४७
