तैरिने फोहोर सङ्कलन गर्न बाग्मती नदीमा राखियो ट्रास बेरियर, थप ५ स्थानमा विस्तार गरिने
पुस ६, २०८२ १५:७
काठमाडौँ । सहरी विकास मन्त्रालय अन्तर्गत रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौँका नदीहरूमा तैरिने फोहोर पदार्थ सङ्कलन गर्न ट्रास बेरियर जडान गरेको छ । हाल गुह्येश्वरीबाट ट्रास बेरियर जडान सम्पन्न गरी बागमती नदीका थप ५ स्थानमा क्रमशः यसलाई विस्तार गरिनेछ ।
मन्त्रालयका अनुसार गुह्येश्वरीसँगै गोकर्ण ब्यारेज, तिलगङ्गा आँखा अस्पताल, बाग्मती मनहरा दोभान, यूएन पार्क र मनोहरा नदीको कर्मनासा दोभानमा गरी जम्मा ६ स्थानमा ट्रास बेरियर राख्ने काम धमाधम हुँदैछ । यसका लागि ६५ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको हो ।
ट्रास बेरियरले नदीको सतहमा तैरिने प्लास्टिक, पोलिथिन, बोतल, काठका टुक्रा लगायतका फोहोर वस्तुहरूलाई रोक्ने र एक निश्चित स्थानमा जम्मा गराउने काम गर्दछ । काठमाडौँ उपत्यकाका बागमती, विष्णुमती, मनोहरा र धोबीखोला जस्ता नदीहरूमा सहरीकरण, अव्यवस्थित फोहोर व्यवस्थापन कारण ठुलो मात्रामा तैरिने फोहोर बग्ने गरेको पाइएको छ । यस्ता नदीहरूमा ट्रास बेरियर जडान गर्दा नदीको बहावलाई अवरुद्ध नगरी फोहोर मात्र निकाल्न सकिन्छ । जसले गर्दा नदी प्रदूषण न्यूनीकरण गर्न सहयोग पुग्छ ।
ट्रास बेरियरबाट सङ्कलित फोहोरलाई नियमित रूपमा निकालेर वर्गीकरण, पुनःप्रयोग तथा सुरक्षित रूपमा व्यवस्थापन गर्न समेत सकिन्छ । यसले नदी प्रदूषण न्यूनीकरण गर्नुका साथै नदीको सौन्दर्य, जलजीवको संरक्षण र सार्वजनिक स्वास्थ्यमा सकारात्मक योगदान पुग्ने देखिन्छ । नदीको सतहमा तैरिने प्लास्टिक, पोलिथिन, बोतल, काठका टुक्रा लगायतका फोहोर वस्तुहरूलाई नदीको बहावलाई अवरुद्ध नगरी रोक्ने र पानीको सतह घटबढसँगै ट्र्यास बैरियरको सतह आफै तलमाथि हुने ढङ्गले रबरको कन्भेयर बेल्ट र तैरिने भाग सहितको संरचना जडान हुनेछ ।
पछिल्लो अध्यावधिक: पुस ६, २०८२ १५:७
