के तपाईंलाई थाहा छ, गुगल पिक्सेल फोनमा रहेको यो कालो थोप्लोले गर्छ अरू कुनै फोनले नसक्ने काम ?
पुस ६, २०८२ १६:४१
काठमाडौँ । अधिकांश आधुनिक स्मार्टफोनहरूका पछाडि सामान्यतया दुईवटा चिज देखिन्छन्: क्यामेरा र फ्ल्याश लाइट । तर, यदि तपाईँसँग गुगल पिक्सेलको पछिल्लो प्रो भर्सन छ भने, क्यामेरा लेन्सको छेउमा एउटा सानो र अस्पष्ट देखिने कालो थोप्लो अर्थात् गोलाकार सङ्केत देख्न सक्नुहुन्छ ।
यो कुनै सामान्य सजावट नभई एउटा इन्फ्रारेड टेम्प्रेचर सेन्सर हो, जसले पिक्सेल फोनलाई अन्य कुनै पनि एन्ड्रोइड वा आईफोनले गर्न नसक्ने अनौठो र उपयोगी क्षमता प्रदान गर्दछ ।
गुगलले यो विशेष सेन्सर पहिलो पटक सन् २०२३ मा पिक्सेल ८ प्रोसँगै सार्वजनिक गरेको थियो । त्यसपछिका हरेक 'प्रो' भर्सनका फोनहरूमा यसलाई समावेश गरिएको छ । धेरैजसो कम्पनीहरूले छिटो चल्ने चिप्स, उज्यालो स्क्रिन र ठुला क्यामेरा सेन्सरमा मात्र ध्यान दिइरहेका बेला गुगलले भौतिक संसारसँग अन्तरक्रिया गर्ने यो फरक प्रविधि अपनाएको हो ।
यो सेन्सरको सबैभन्दा चर्चा गरिएको काम मानव शरीरको तापक्रम नाप्नु हो । सन् २०२४ मा गुगलले यो फिचरका लागि एफडीए (अमेरिकी खाद्य तथा औषधि प्रशासन) बाट समेत स्वीकृति प्राप्त गरेको छ ।
क्लिनिकल परीक्षणहरूका अनुसार यो सेन्सर ९६.९ देखि १०४ डिग्री फरेनहाइटको बीचमा ०.५४ डिग्रीको सामान्य फरकमा सही नतिजा दिन सक्षम छ । स्वास्थ्य बाहेक यसका अन्य उपयोगिता समेत छन् ।
यो सेन्सरको मद्दतले खाना, तरल पदार्थ र खाना पकाउने भाँडाहरूको सतहको तापक्रम नाप्न सकिन्छ । उदाहरणका लागि मासु पकाउनका लागि प्यान पर्याप्त तातो छ कि छैन भनेर फोनलाई दुई इन्च टाढा राखेरै थाहा पाउन सकिन्छ । यो सेन्सरले ३९२ डिग्री फरेनहाइटसम्मको तापक्रम नाप्न सक्छ ।
झ्याल वा ढोकाका कुनाहरूबाट हावा छिरेको छ कि छैन भनेर चेक गर्न वा भित्ताहरू कत्तिको तातो वा चिसो छन् भनेर हेर्न पनि यो उपयोगी हुन्छ । घरका विभिन्न कोठाहरूको हावाको तापक्रम तुलना गर्न पनि यसको प्रयोग गर्न सकिन्छ ।
यो सुविधा गुगलका सबै फोनहरूमा भने उपलब्ध छैन । गुगलले यसलाई आफ्ना हाई-इन्ड प्रो मोडेलहरूमा मात्र सीमित राखेको छ । यो सेन्सर पिक्सेल ८ प्रो, पिक्सेल ९ प्रो र पछिल्लो पटक सार्वजनिक भएको पिक्सेल १० प्रो तथा १० प्रो एक्सएलमा मात्र पाइन्छ । साधारण पिक्सेल ८, ९ वा १० र फोल्ड मोडेलमा यो सुविधा समावेश गरिएको छैन ।
यो सेन्सरले स्मार्टफोन केवल डिजिटल सञ्चारको माध्यम मात्र नभई भौतिक वातावरण बुझ्ने एउटा वैज्ञानिक उपकरण समेत बन्न सक्छ भन्ने देखाएको छ ।
पछिल्लो अध्यावधिक: पुस ६, २०८२ १६:४१
