काठमाडौँ । एभरेस्ट इन्जिनियरिङ कलेजका विद्यार्थी भुवनप्रसाद जोशीले व्यवसाय खोज्ने र वृद्धि गर्ने प्लेटफर्म फाउन्डर्स नेपाल (Founders Nepal) सार्वजनिक गरेका छन् । स-साना कपडा पसल, रेस्टुरेन्टदेखि लिएर ठुला प्रविधि कम्पनीहरूसम्मलाई एउटै मञ्चमा जोड्ने लक्ष्यका साथ उनले यो प्लेटफर्म तयार पारेका हुन् ।
नेपालमा दैनिक सयौँ नयाँ व्यवसायहरू सुरु भए पनि ग्राहकसम्म पुग्न र आफ्नो पहिचान बनाउन उनीहरूले ठुलो सङ्घर्ष गर्नुपर्ने अवस्था छ । सामाजिक सञ्जालमा गरिने विज्ञापनहरू महँगो र अस्थायी हुने तथा एउटा केन्द्रीकृत प्लेटफर्मको अभावले गर्दा कयौँ राम्रा व्यवसायहरू ओझेलमा पर्ने गरेका छन् । व्यवसायमा नभई भिजिबिलिटीमा रहेको भन्दै जोशीले त्यसको समाधानमा फाउन्डर्स नेपाल स्थापना गरिएको बताए । यस किसिमको समस्या समाधान गरी फाउन्डर्स नेपालले व्यवसायहरूलाई उपयुक्त ग्राहकसम्म पुर्याउन मद्दत गर्ने उनको भनाई छ ।
यो प्लेटफर्म केवल व्यवसायको सूची राख्ने वेबसाइट मात्र नभई एउटा पूर्ण व्यावसाय विकास प्लेटफर्म भएको दाबी जोशीको छ । फाउन्डर्स नेपालमा व्यवसाय सूचीकृत गर्नका लागि रेस्टुरेन्ट, फेसन, प्रविधि, कृषि र शिक्षा जस्ता विभिन्न क्याटेगरीमा विभाजित गरिएको छ ।
ग्राहकहरूले सूचीकृत व्यवसायलाई अपभोट (Upvote) र रिभ्यु गर्न सक्छन् । जसले गर्दा व्यवसायको विश्वसनीयता बढ्ने दाबी गरिएको छ । स्टार्टअपका अनुसार विस्तार गर्न चाहने व्यवसायहरूले यही प्लेटफर्ममार्फत लगानीकर्ताहरूसँग जोडिने अवसर समेत पाउने छन् ।
संस्थापक जोशीले यसलाई एउटा प्लेटफर्म मात्र नभई स्थानीय खरिद बिक्री क्याम्पेन र युवा उद्यमशीलतालाई प्रोत्साहन गर्ने अभियानका रूपमा व्याख्या गरेका छन् । इच्छुक व्यवसायीहरूले foundersnepal.com मा गएर २ मिनेटमै आफ्नो व्यवसाय दर्ता गर्न सक्नेछन् ।
पछिल्लो अध्यावधिक: पुस ६, २०८२ १८:३३
