सञ्चारमन्त्री खरेल भन्छन्ः ३ महिनाको अवधिमा मैले फ्रि वाई-फाई लगायतका उल्लेखनीय काम गरेँ
पुस ६, २०८२ १९:८
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जिम्मेवारी सम्हालेको तीन महिनाको अवधिमा ३० प्रमुख उपलब्धि हासिल गरेको बताएका छन् । मन्त्री खरेलले गत ६ असोजमा मन्त्रीको जिम्मेवारी लिएयताकाको आफ्नो तीन महिने उपलब्धि विवरण सार्वजनिक गरेका हुन् ।
यस अवधिमा आफूले आमसञ्चार, दूरसञ्चार, सूचना प्रविधि, हुलाक सेवा, मुद्रण, चलचित्र र अन्य विभिन्न क्षेत्रमा उल्लेखनीय काम गरेको उनको भनाई छ । उनले भने,“धेरै चुनौतीकाबिच यति मुख्य उपलब्धि हासिल भएको छ । आगामी दिनमा इमान्दारीता साथ काम गरिन्छ ।”
उनका अनुसार यस अवधिमा सूचना तथा प्रसारण विभागबाटै अनलाइन दर्ता तथा नवीकरण, सुरक्षण मुद्रण केन्द्रबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको कामदेखि दुर्गम क्षेत्रमा दूरसञ्चारको पहुँच, सगरमाथाको आधार शिविरमा फोरजी सेवा विस्तारसम्मका महत्वपूर्ण काम भएका छन् । सञ्चारमन्त्री खरेलले तीन महिनाको अवधिमा आमसञ्चार क्षेत्रमा सूचना तथा प्रसारण विभागबाटै अनलाइन दर्ता तथा नवीकरण, एनटिभी वर्ल्डको शुभारम्भ, दिवङ्गत पत्रकार सुरेश रजकलाई सहिद घोषणा, गोरखापत्रमा कुलुङ भाषा थपसहित ४६ भाषामा समाचार तथा रेख रचना प्रकाशन भएको जानकारी दिए ।
यस्तै दूरसञ्चार क्षेत्रमा निःशुल्क वाई-फाई इन्टरनेट तर्फ काठमाडौँ उपत्यकाका १९ वटा सार्वजनिक स्थानमा जडान गरिएको र उपत्यका बाहिर २९ स्थानमा वाई-फाई जडानका लागि प्रक्रिया अघि बढाइएको बताए । सुदूरपश्चिम प्रदेशमा १५ वटा वायरलेस साइट जडान गरिएको, नेपाल टेलिकमको सक्रिय ग्राहक सङ्ख्या दुई लाख वृद्धि,जेनजी डेटा प्याक कार्यान्वयन, एभरस्ट बेस क्याम्पमा फोरजी सेवा विस्तार लगायतका कार्य सम्पन्न गरिएको पनि मन्त्री खरेलले उल्लेख गरे ।
सञ्चार मन्त्री खरेलले जेनजी घाइते पत्रकार सम्मान, जेनजी आन्दोलन क्षतिको विवरण तयार, सरकारी सञ्चार माध्यममा कार्यरत पत्रकार तथा कर्मचारीहरू सामाजिक सुरक्षा कोषमा आबद्धता लगायतका कामलाई उपलब्धिको रूपमा सार्वजनिक गरेका छन् ।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलले मुलुक निर्वाचनमा होमिएको बताए । उनले राजनीतिक दल, निर्वाचन आयोग, सरकार र जनता सबैतिर निर्वाचनको वातावरण छाएको उल्लेख गरे । सञ्चारमन्त्री खरेलले भने,“मुलुक अहिले निर्वाचनमा होमिसकेको अवस्था छ । सरकारले निर्वाचनको वातावरण बनाइसकेको छ । सबै राजनीतिक दल, निर्वाचन आयोग र जनता सबैतिर अहिले निर्वाचनको वातावरण छाएको छ ।”
सञ्चारमन्त्री खरेलले सरकारले जेनजी आन्दोलनको भावनाअनुसार सुशासन प्रवर्धन र भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा काम गरिरहेको सुनाए । उनले अगाडि थपे,“‘आगामी फागुन २१ गते निर्वाचनको हुने वातावरण बनिरहेको छ । त्यसको साथै सुशासनलाई आत्मसात् गर्दै सम्माननीय प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले काम अघि बढाएको छ । भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा पनि सरकारको तर्फबाट गर्नुपर्ने कामहरू भइ नै रहेको छ । सरकार समग्रमा यो नागरिक सरकार भएको कारणले जेन–जी आन्दोलनको मर्म अनुसार अघि बढेको म जानकारी गराउन चाहन्छु ।”
पछिल्लो अध्यावधिक: पुस ६, २०८२ १९:८
