close

‘अश्लील भिडिओको लिङ्क पाउन मलाई मेसेज गर्नू’ भन्ने सामाजिक सञ्जाल प्रयोगकर्तालाई पक्राउ गर्दै भारत

टेकपाना टेकपाना

पुस ७, २०८२ २३:३१

सांकेतिक तस्बिर सांकेतिक तस्बिर

काठमाडौँ । सामाजिक सञ्जालमा अश्लील भिडिओको लिङ्क उपलब्ध गराइदिने भन्दै प्रलोभन देखाउने अकाउन्टविरुद्ध उजुरी परेको छ । भारतको केन्द्रीय साइबर अपराध महाशाखाले आइतबार त्यस्ता २८ ओटा सामाजिक सञ्जाल अकाउन्ट विरुद्ध एफआईआर दर्ता गरेको हो । 

भारतीय सञ्चारमाध्यम द हिन्दुका अनुसार इन्स्टाग्राम, फेसबुक, युट्युब जस्ता प्लेटफर्ममा ती अकाउन्ट अश्लील भिडिओका छोटा अंश वा स्क्रिनशट पोस्ट गर्दै पूरा भिडिओका लागि ‘मेसेज’ गर्न वा ‘बायो’ मा रहेको लिङ्कमा क्लिक गर्न उक्साउँथे । यसरी अर्काका संवेदनशील र व्यक्तिगत भिडिओ बाँड्ने प्रयोगकर्तालाई लक्षित गरी भारतको प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको हो ।

एक सामाजिक सञ्जाल प्रयोगकर्ताले दिएको उजुरीका आधारमा प्रहरीले सूचना प्रविधि ऐन, २००० का विभिन्न दफा अन्तर्गत मुद्दा दर्ता गरी २८ ओटा शङ्कास्पद लिङ्क र अकाउन्टमाथि विस्तृत अनुसन्धान सुरु गरेको बताइएको छ ।

प्रहरीका अनुसार ती अकाउन्टले प्रयोगकर्तालाई सिधै अश्लील वेबसाइटमा पुर्‍याउने गरी लिङ्क शेयर गर्ने गरेका थिए । सामाजिक सञ्जाल सबै उमेर समूहका व्यक्तिले प्रयोग गर्ने भएकाले यस्ता गतिविधिले बालबालिकालाई समेत यौनजन्य सामग्रीको पहुँचमा पुर्‍याउने र समाजमा अनैतिकता फैलाउने भन्दै यसलाई गम्भीर सामाजिक समस्याका रूपमा लिइएको छ । 

“केवल आफ्नो अकाउन्टको फलोअर बढाउन र चर्चा कमाउनका लागि यस्ता अवैध तथा घातक ट्रेन्डमा संलग्न हुनु दण्डनीय अपराध हो,” एक प्रहरी अधिकारीले द हिन्दुलाई भने । प्रहरीले यस्ता गतिविधिमा संलग्न हुनेमाथि कडा कानुनी कारबाही गरिने चेतावनी दिएको छ ।

नेपालमा पनि विभिन्न ‘काण्ड’ (कसैका निजी पलका संवेदनशील भिडिओ) का लिङ्क वितरण गर्ने, खरिद बिक्री गर्ने गतिविधि देखिएको छ । १६ असार २०८२ मा टिकटक र टेलिग्राममा ‘नेपाली काण्ड’ भन्दै नेपाली महिलाका अश्लील भिडिओ बिक्री गरेको आरोपमा एक युवक पक्राउ परेका थिए ।

पछिल्लो अध्यावधिक: पुस ८, २०८२ ९:५५