close

पाँच महिनामा नेपाल भित्रिए ९ अर्ब बराबरका ३,८०० ईभी, साढे ५ अर्ब राजस्व सङ्कलन

टेकपाना टेकपाना

पुस ८, २०८२ १२:३

फाइल फोटो फाइल फोटो

काठमाडौँ । नेपालमा पछिल्लो पाँच महिनामा नौ अर्ब रुपैयाँ बराबरका विद्युतीय सवारी साधन (ईभी) भित्रिएका छन् । चालु आर्थिक वर्षको पहिलो पाँच महिना (साउन-मङ्सिर) सम्ममा करिब ३८ सय ईभी बजारमा आएका हुन् ।

भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार मङ्सिर मसान्तसम्म नेपालमा विभिन्न क्षमताका कूल ३,७९८ युनिट ईभी आयात भएका छन् । आठ अर्ब ९५ करोड ५१ लाख ४० हजार रुपैयाँ बराबरका ती सवारी आयात हुँदा राज्यले पाँच अर्ब ५६ करोड ३३ लाख ९७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

५१ देखि १०० किलोवाटका ईभी सबैभन्दा बढी

नेपाल भित्रिने ईभीलाई मोटर क्षमताका आधारमा चार वर्गमा विभाजन गरिएको छ । तथ्याङ्क अनुसार ५१ देखि १०० किलोवाट क्षमताका ईभी सबैभन्दा बढी आयात भएको देखिन्छ । पाँच महिनाको अवधिमा यस क्षमताका दुई हजार १६४ ओटा ईभी भित्रिएका छन् । 

यो सेग्मेन्टका ईभीको लागत मूल्य पाँच अर्ब ६० करोड ८६ लाख ४७ हजार रुपैयाँ रहेको छ । त्यस्तै ५० किलोवाटसम्मका ईभी दोस्रो प्राथमिकतामा परेका छन् । 

यस अवधिमा ५० किलोवाट क्षमताका एक हजार २१५ ईभी भित्रिएका छन् । जसको मूल्य दुई अर्ब सात करोड ३२ लाख ५७ हजार रुपैयाँ छ ।  १०१ देखि २०० किलोवाट क्षमताका भने ४१४ ईभी मात्र आयात भएको तथ्याङ्क छ । जसको मूल्य अर्ब २३ करोड ८१ लाख तीन हजार रुपैयाँ छ । 

यता २०१ देखि ३०० किलोवाट क्षमताका ईभीको आयात भने सबैभन्दा थोरै छ । पाँच महिनामा यो क्षमताका मात्र ५ ईभी मात्र भित्रिएका छन् । जसको मूल्य तीन करोड ५१ लाख ३३ हजार रुपैयाँ रहेको छ ।

पछिल्लो अध्यावधिक: पुस ८, २०८२ १५:३८