close

यस्तो छ लाजिम्पाटमा खुलेको नियोको नयाँ प्रिमियम स्टोर, अनुभव लिएर किन्न मिल्नेे (भिडिओ टुर)

टेकपाना टेकपाना

पुस ८, २०८२ १२:२८

काठमाडौँ । प्रविधि प्रेमीहरूका लागि काठमाडौँको लाजिम्पाटमा एक नयाँ र अत्याधुनिक गन्तव्य थपिएको छ । नेपालमा लामो समयदेखि गुणस्तरीय इलेक्ट्रोनिक्स र कम्प्युटर सामग्री उपलब्ध गराउँदै आएको नियोले आफ्नो सातौँ र अहिलेसम्मकै ठुलो फ्ल्यागशिप स्टोर सञ्चालनमा ल्याएको हो ।

लाजिम्पाटस्थित लाजिम पार्कमा अवस्थित यो स्टोरले ग्राहकहरूलाई केवल सामान खरिद गर्ने ठाउँ मात्र नभई, प्रविधिको प्रत्यक्ष अनुभव गर्ने अवसर समेत दिनेछ । नियोको यो नयाँ आउटलेट यसको सातौँ शाखा हो, जुन काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा रहेका अन्य शाखाहरू भन्दा फरक र प्रिमियम शैलीमा निर्माण गरिएको छ ।

स्टोरको बनावट अत्यन्तै सुन्दर र व्यवस्थित छ । जहाँ विभिन्न ब्रान्डका ल्यापटप, मोबाइल, गेमिङ सामग्री र एक्सेसरिजका लागि छुट्‍टाछुट्‍टै सेक्सनहरू बनाइएका छन् । स्टोर भित्रको वातावरणलाई अन्तर्राष्ट्रियस्तरको बनाइएको छ, जसले ग्राहकहरूलाई प्रिमियम शपिङको अनुभूति गराउँछ ।

यो स्टोरको मुख्य आकर्षण नै यहाँ उपलब्ध ल्यापटप तथा ग्याजेटहरूको विविधता हो । विशेष गरी काम गर्ने प्रोफेसनल र गेमरहरूका लागि यहाँ अनेकौँ विकल्पहरू छन् । यदि तपाईँ नयाँ ल्यापटप, मोबाइल वा कुनै पनि टेक एक्सेसरिजको खोजीमा हुनुहुन्छ भने यो स्टोर एक पटक भ्रमण गर्नैपर्ने ठाउँ बनेको छ ।

विभिन्न ब्रान्डका ल्यापटप

स्टोरमा एसुसका पछिल्ला मोडेलहरू उपलब्ध छन्, जसमा डुअल स्क्रिन भएको 'एक्जुकेटिभ ल्यापटप' मुख्य आकर्षणको रूपमा रहेको छ । यसले मल्टिटास्किङ गर्नेहरूका लागि उत्कृष्ट विकल्प प्रदान गर्दछ । साथै, क्वालकमको स्न्यापड्रागन चिपसेट प्रयोग गरिएका नयाँ मोडेल जेनबुक एस१४ र एस१६ का पछिल्ला भेरियन्ट पनि यहाँ पाउन सकिन्छ ।

यस्तै डेलको ब्रान्डमा रुचि राख्नेहरूका लागि इन्सपिरन र ल्याटिच्युड सिरिजका थुप्रै मोडेलहरू पनि यहाँ उपलब्ध छन् । स्टोरमा ६९,००० रुपैयाँदेखि सुरु हुने डेलका पोर्टेबल ल्यापटपहरू छन्, जसमा राम्रो ब्याट्री लाइफ, उत्कृष्ट स्क्रिन र स्पिकरको सुविधा रहेको छ । विशेष गरी आई५ प्रोसेसर, १६ जीबी र्‍याम र १ टीबी एसएसडी भएका मोडेलहरूमा २ वर्षको वारेन्टी समेत दिइएको छ ।

एप्पल म्याकबुक प्रयोगकर्ताहरूका लागि पनि यो स्टोर एक उत्कृष्ट केन्द्र हो । यहाँ म्याकबुक एयर र म्याकबुक प्रोका एम२, एम३ र पछिल्लो एम४ चिपसेट भएका मोडेलहरू उपलब्ध छन् ।

यहाँ १६ जीबी र्‍याम र २५६ जीबी स्टोरेज भएको बेस मोडेलदेखि लिएर उच्च क्षमताका मोडेलहरू पनि राखिएका छन् ।

प्रिमियम ल्यापटपका साथै नियोले विद्यार्थी र सामान्य कार्यालय प्रयोजनका लागि बजेट ल्यापटपहरू पनि उपलब्ध गराएको छ । एसर एस्पायर गो १४ र एस्पायर लाइट १४ जस्ता मोडेलहरू ६३,५०० रुपैयाँको सुरुवाती मूल्यमा उपलब्ध छन्, जसमा राइजन ५ वा इन्टेल आई३ प्रोसेसरसहितका छन् । एचपीका आई५ प्रोसेसर र ८ जीबी र्‍याम भएका ल्यापटपहरू पनि बजेट प्रयोगकर्ताका लागि राम्रो विकल्पका रूपमा रहेका छन् ।

गेमिङ र मनोरञ्जनको थलो

यो स्टोरको सबैभन्दा रोचक पक्ष भनेको यसको गेमिङ एक्सपिरियन्स जोन हो । यहाँ ग्राहकहरूले रेसिङ सेटअपमा बसेर गेमको अनुभव लिन सक्छन् । गेमिङका लागि भिक्टस र अन्य उच्च क्षमताका वर्कस्टेसन ल्यापटपहरू उपलब्ध छन् । यसका साथै गेमिङका सौखिनहरूका लागि पीएस५, गेमिङ माउस, हेडफोन र फ्यान्टेक तथा रापु जस्ता ब्रान्डका एक्सेसरिज पनि प्रशस्त मात्रामा राखिएका छन् । मनोरञ्जनको क्षेत्रमा ल्यापटप र मोबाइल मात्र नभई मङ्गा (Manga) र कमिक पुस्तकहरूको सङ्ग्रह पनि छ । जसले स्टोरलाई एउटा आधुनिक ह्याङ्गआउट स्थल जस्तो बनाएको छ ।

एक्सेसरिज र मोबाइल

मोबाइल फोन सेक्सनमा साओमी, नथिङ, सामसङ, एप्पल, ओप्पो लगायत ब्रान्डका फोनहरू छन् । एक्सेसरिज तर्फ ब्ल्याकशार्क, निवन, हाई फ्युचर, ब्ल्याक सार्क आदि ब्रान्ड पाउन सकिन्छ ।

ह्वावेका मनिटरदेखि लिएर जेबीएल र साउन्डकोरका स्पिकरहरू, चार्जरहरू, टाइप-सी केबुलहरू, एचडीएमआई केबुलहरू र ब्याकप्याकसम्मका सामग्रीहरू यहाँ पाउन सकिन्छ ।

विशेष अफर र सुविधा

नयाँ स्टोर उद्घाटनको अवसरमा नियोले आफ्ना ग्राहकहरूका लागि आकर्षक डिलहरू सार्वजनिक गरेको छ । ४९९ रुपैयाँमा टाइप-सी केबुल र ९४९ रुपैयाँमा पावर एडाप्टर जस्ता सामग्रीहरू सीमित समयका लागि उपलब्ध छन् ।

सहजताका लागि स्टोरले ४० प्रतिशत डाउन पेमेन्टमा फाइनान्सिङ (ईएमआई) को सुविधा पनि उपलब्ध गराएको छ । जसले महँगा ग्याजेट खरिद गर्न चाहनेहरूलाई सजिलो बनाउँछ ।

 

पछिल्लो अध्यावधिक: पुस ८, २०८२ १२:५७