close

स्क्यामरको निशानामा साइबर ब्युरोको आधिकारिक फेसबुक पेज

टेकपाना टेकपाना

पुस ८, २०८२ १६:४०

स्क्यामरको निशानामा साइबर ब्युरोको आधिकारिक फेसबुक पेज

काठमाडौँ । नेपाल प्रहरीको साइबर अपराध अनुसन्धान गर्ने निकाय ‘साइबर ब्युरो’ कै आधिकारिक फेसबुक पेज स्क्यामरको निसानामा परेको छ । साइबर सचेतना फैलाउने, सूचना तथा विज्ञप्ति प्रकाशन गर्ने र पीडितका गुनासो सुन्ने ब्युरोकै पेज कब्जा गर्न ह्याकरले नयाँ जुक्ती निकालेको हो ।

करिब एक लाख २६ हजार फलोअर रहेको ब्युरोको फेसबुक ‘पेज डिलिट हुँदैछ’ भन्ने त्रास देखाएर ह्याकरले आफ्नो नियन्त्रणमा लिने प्रयास गरेका छन् । ब्युरोको पेजमा ‘रिभ्यु’ दिने सेक्सनमा गएर स्क्यामरले ‘Page will be automatically deleted soon, See more’ नामको नक्कली पेजमार्फत चेतावनीपूर्ण सन्देश छोड्ने गरेका छन् ।

ह्याकरले उक्त नक्कली सन्देशमा लेखेका छन्, “तपाईँको पेजले हाम्रो नियम तथा सर्त उल्लङ्घन गरेकाले सधैँका लागि हट्ने जोखिम छ । अबको २४ घण्टाभित्र तुरुन्तै अपिल प्रक्रिया पूरा गर्नुहोला । प्रक्रियाको जानकारी कमेन्ट बक्समा दिइएको छ ।”

ह्याकरहरूले रिभ्यु लेख्ने बित्तिकै पेजको नोटिफिकेसनमा उक्त मेसेज देखिन्छ । आफ्नो पेज डिलिट हुने डरले कतिपय पेज म्यानेजरले हतारहतार कमेन्ट बक्समा रहेको ‘फिशिङ लिङ्क’ खोल्ने गर्छन् । 

उक्त लिङ्कमा क्लिक गरेपछि प्रयोगकर्तालाई अपिल गर्नका लागि ‘कुकिज’ र ‘सेसन आईडी’बारे जानकारी दिइन्छ । र, उक्त विवरण वेबसाइटमा इन्ट्री गर्न लगाइन्छ । त्यसपछि त्यहाँ रहेको इन्ट्री बटनमा ट्याप गर्दा यी विवरण स्क्यामरको कब्जामा पुग्छन् ।

यस विधिबाट पेज कब्जा गर्न स्क्यामरलाई प्रयोगकर्ताको पासवर्ड वा ओटीपी समेत चाहिँदैन । एक पटक पेजमा पहुँच पाएपछि ह्याकरले पुराना एड्मिन र एडिटरलाई हटाएर पेज आफ्नो कब्जामा लिन्छन् । त्यसपछि उक्त पेजबाट अनावश्यक, असान्दर्भिक तथा अश्लील सामग्री पोस्ट गर्ने गरिन्छ । केहीले भने पेज एड्मिनलाई ब्ल्याकमेल गरेर रकम माग्ने गरेको देखिन्छ । 

साइबर ब्युरोको पेजमा प्रयोग गरिएको उक्त फिशिङ लिङ्क हाल निष्क्रिय भइसकेको भए पनि यस्ता स्क्यामरबाट जोगिन र शङ्कास्पद लिङ्कमा क्लिक नगर्न विज्ञले सुझाव दिएका छन् । ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले सर्वसाधारणलाई यस किसिमका स्क्यामबाट जोकिन सचेत बनाएका छन् । “ब्युरोमा सामाजिक सञ्जाल व्यवस्थापन गर्ने विज्ञ अफिसरहरू हुनुहुन्छ,” प्रहरी उपरीक्षक अवस्थीले भने, “यसरी ब्युरोकै पेज ह्याक गर्ने भन्ने त हुँदैन । तर, सर्वसाधारण भने सचेत हुनुपर्छ ।”  

पछिल्लो अध्यावधिक: पुस ८, २०८२ १६:४१