close

के हो डाक्टरले अस्पताल बेडमै निर्घात बिरामी कुटेको भाइरल भिडिओको वास्तविकता ?

टेकपाना टेकपाना

पुस ८, २०८२ १७:३९

के हो डाक्टरले अस्पताल बेडमै निर्घात बिरामी कुटेको भाइरल भिडिओको वास्तविकता ?

काठमाडौँ । पछिल्लो समय सामाजिक सञ्जालमा एक जना डाक्टरले अस्पतालमा बेड भर्ना भएका बिरामीलाई निर्घात कुटपिट गरिरहेको एउटा भिडिओ भाइरल भइरहेको छ । यो घटना सिमलाको इन्दिरा गान्धी मेडिकल कलेजको हो ।

यस घटनाले भारत, नेपाल सहितका देशमा समेत तरङ्ग ल्याएको छ । घटना बाहिर आएपछि हाल संलग्न डाक्टरलाई निलम्बन गरिएको छ । भाइरल भिडिओमा डाक्टर नरुलाले बेडमा सुतिरहेका बिरामीको अनुहारमा बारम्बार मुक्का प्रहार गरिरहेको स्पष्ट देखिन्छ । बिरामीले आफूलाई बचाउन लात्तीले प्रतिकार गर्न खोज्दा अर्का एक कर्मचारी वा डाक्टरले बिरामीको खुट्टा समातेर डाक्टरलाई कुटपिट गर्न सघाएको जस्तो देखिन्छ । कुटपिटबाट बिरामीको नाकमा चोट लागेको छ ।

के हो वास्तविकता ?

यो घटना सोमबार, २२ डिसेम्बर, २०२५ को हो । जुन मेडिकल कलेजको पल्मोनरी (फोक्सो सम्बन्धी) वार्डमा घटेको थियो । ३४ वर्षीय बिरामी अर्जुन सिंह (पवार) श्वासप्रश्वासमा समस्या भएपछि ब्रोन्कोस्कोपीका लागि अस्पताल गएका थिए ।

बिरामीका अनुसार ३१ वर्षीय डाक्टर राघव नरुलाले उनलाई मेडिकल रिपोर्ट माग्ने क्रममा असभ्य रूपमा तँ (तु) भनेर सम्बोधन गरे । बिरामीले आफूभन्दा कान्छो डाक्टरले 'तँ' नभनी 'तपाईँ/तिमी' (तुम) भन्नुपर्ने तर्क गर्दै 'आफ्नो परिवारसँग पनि यसरी नै बोल्नुहुन्छ' भनी प्रतिवाद गरे । त्यसपछि डाक्टर आक्रामक बनेका थिए ।

यद्यपि, रेजिडेन्ट डक्टर्स एसोसिएसनले उक्त भिडिओ एकपक्षीय र अधुरो भएको दाबी गरेको छ । डा नरुलाको लिखित बयान अनुसार बिरामीले सुरुमा रिपोर्ट देखाउन अस्वीकार गर्दै डाक्टर र उनको परिवारलाई अश्लील गालीगलौज गरेका थिए । बिरामीले पहिले आफ्नो छातीमा मुक्का हानेको र पेटमा लात्तीले प्रहार गरेको दाबी डाक्टरको छ । त्यसको प्रतिकार स्वरूप आफूले पनि हात उठाएको उनले बताएका छन् ।

घटना सार्वजनिक भएपछि हिमाञ्चल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुक्खुको निर्देशनमा डा राघव नरुलालाई तत्काल निलम्बन गरिएको छ । स्वास्थ्यमन्त्री धनीराम सान्डिलले यस घटनालाई अकल्पनीय र दुर्भाग्यपूर्ण भन्दै यस्तो व्यवहार गर्ने व्यक्ति चिकित्सा पेसामा रहन योग्य नभएको बताएका छन् ।

अस्पताल प्रशासनले यस विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ र प्रहरीले डाक्टर विरुद्ध उजुरी दर्ता गरी कानुनी प्रक्रिया अगाडि बढाएको छ । अर्कोतर्फ, अस्पतालमा सुरक्षा गार्डको कमी रहेको र डाक्टरहरूको मानसिक स्वास्थ्यलाई पनि ध्यान दिनुपर्ने माग रेजिडेन्ट डाक्टरहरूले राखेका छन् ।

 

पछिल्लो अध्यावधिक: पुस ८, २०८२ १७:३९