close

लबिम मलपछि टोयोटाको नाममा नक्कली विज्ञापन, कार पाउने लोभमा @highlights लेख्दै कमेन्टको वर्षा

टेकपाना टेकपाना

पुस ९, २०८२ १३:२१

लबिम मलपछि टोयोटाको नाममा नक्कली विज्ञापन, कार पाउने लोभमा @highlights लेख्दै कमेन्टको वर्षा

काठमाडौँ । अटोमोबाइल ब्रान्ड टोयोटाको नाम दुरुपयोग गर्दै फेसबुकमा उपहारको प्रलोभन देखाएर ठगी गर्ने गिरोह सक्रिय भएको छ । टोयोटाको ८६ औँ वार्षिकोत्सवको अवसरमा ‘आरएभी फोर’ गाडी उपहार दिन लागिएको भन्दै फेसबुकमा नक्कली विज्ञापन भाइरल गराइएको हो ।

‘टोयोटा डिलर फ्यान्स’ (Toyota Dealler Fans) नामक भ्रामक फेसबुक पेजले गाडीको फोटो राख्दै उपहारको प्रलोभन देखाएको पाइएको छ । सो पेजले खासगरी फेसबुकको ‘@highlights’ फिचर प्रयोग गरेर कमेन्ट गर्नेमध्ये एक जनालाई विजेता छनोट गर्ने दाबी गरेको छ । तर, टोयोटाले यस्तो कुनै पनि अफर नल्याएको र उक्त पेज पूर्ण रूपमा नक्कली भएको स्पष्ट पारेको छ । 

कसरी हुन्छ ठगी र जोखिम ?

यो स्क्यामले प्रयोगकर्तालाई उपहारको लोभ देखाएर कमेन्ट र शेयर गर्न प्रोत्साहित गर्छ । जब प्रयोगकर्ताले कमेन्ट गर्छन्, उनीहरूलाई मेसेज पठाएर ‘विजेता छनोट भएको’ भन्दै दर्ताका लागि एउटा शंकास्पद लिङ्क पठाइन्छ । जहाँ प्रयोगकर्ताको नाम, फोन नम्बर र ईमेल जस्ता व्यक्तिगत विवरण मागिन्छ ।

यस्ता भ्रामक लिङ्कले प्रयोगकर्ताका लागि गम्भीर सुरक्षा जोखिम निम्त्याउने गर्छन् । 

यसअघि गाडी उपहार दिने लोभ देखाएर लबिम मलको नाममा पनि नक्कली पेज खोलेर यस्तै भ्रामक विज्ञापन गरिएको थियो । उक्त पेजबाट कमेन्ट गर्ने प्रयोगकर्तालाई पठाइएको लिङ्क ‘मालभर्टाइजिङ’सँग सम्बन्धित रहेको पाइएको थियो । यो पेजले पनि सोही प्रकृतिको पोस्ट राख्ने र लिङ्क उपलब्ध गराएको पाइएको छ । 

सो लिङ्कमा क्लिक गर्दा आधिकारिक जस्तै देखिने नक्कली वेबसाइट खुल्छ र त्यसपछि प्रयोगकर्तालाई दर्ता गर्न भन्दै विभिन्न बेटिङ साइट, एडल्ट साइट वा भाइरस तथा मालवेयर वितरण गर्ने खतरनाक वेब एड्रेसमा पुर्‍याइन्छ ।

यस्ता वेबसाइटमार्फत प्रयोगकर्ताको ब्राउजर वा मोबाइलमा छिरेर बैङ्क अकाउन्ट, पासवर्ड र निजी तस्बिर चोरी हुने सम्भावना रहने साइबर सुरक्षा विज्ञको चेतावनी छ । त्यस्तै प्रयोगकर्ताले फेसबुकमा ‘@highlights’ मेन्सन गरेर कमेन्ट गर्दा उसका सबै साथी र फलोअरलाई सो पोस्टको नोटिफिकेसन जान्छ । यसले गर्दा त्यस्तो पोस्ट व्यापक रूपमा फैलिएको देखिन्छ ।

पछिल्लो अध्यावधिक: पुस ९, २०८२ १३:२२