close

फेसबुकमा साथी बनेका युवकले काठमाडौँ घुमाउने बहानामा बोलाएर गरे १३ वर्षीया नाबालिका बलात्कार

टेकपाना टेकपाना

पुस ९, २०८२ १७:३

सांकेतिक तस्बिर सांकेतिक तस्बिर

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुक, जुन आजभोलि नयाँ सम्बन्ध गाँस्ने सजिलो माध्यम बनेको छ । तर त्यही सञ्जाल कहिलेकाहीँ अबोध बालिकाहरूका लागि एउटा भयानक पासो बन्न पुग्छ ।

धादिङको एउटा गाउँमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया एक बालिकाका लागि पनि फेसबुकको एउटा ‘फ्रेन्ड रिक्वेस्ट’ अन्धकारमा धकेल्ने कारक बन्यो । करिब सात महिनाअघि गोरखा आरुघाट-१ का २४ वर्षीय सृजन गुरुङ र ती बालिकाबिच फेसबुकमार्फत चिनजान भएको थियो ।

सामान्य गफगाफबाट सुरु भएको यो सम्बन्ध बिस्तारै मेसेन्जर र फोन कलमार्फत प्रेमको नाममा गहिरिँदै गयो । सृजनले ती बालिकालाई विवाह गर्ने र काठमाडौँ घुमाउने सपना देखाउन थाले ।

६ मङ्सिर २०८२ को चिसो रात, गाउँ सुनसान थियो । सृजनको ललाइफकाइमा परेर ती बालिका राति साढे ११ बजे उनलाई भेट्न धादिङको सिरान बजार पुगिन् । सृजनले आफ्नो मोटरसाइकलमा राखेर उनलाई काठमाडौँतर्फ हुइँकाए । काठमाडौँमा कोठा खोजेर सँगै बस्ने र काम गर्ने सपना सृजनले देखाएका थिए ।

काठमाडौँ ल्याएपछि सृजनले ती बालिकालाई तारकेश्वर-५, गोलढुङ्गास्थित आफ्नो चिनजानका गाउँले आइतेसिंह घलेको कोठामा पुर्‍याए । गुरुङले आफूले बिबाह गरी साथमा श्रीमती ल्याएको र केही दिनमा अर्कै कोठा खोजेर सर्ने बताए पछि घले आश्रय दिन तयार भए ।

अनलाइन ड्राइभिङको काम गर्ने आइतेसिंह बिहानै काममा निस्कन्थे र राति मात्र कोठा फर्कन्थे । कोठामा कोही नभएको मौकामा ८-९ मङ्सिरका दिन सृजनले ती बालिकामाथि पटक-पटक जबरजस्ती करणी गरे ।

बालिका घरबाट हराएपछि परिवारमा रुवाबासी चलेको थियो । काठमाडौँमा श्रीमानको उपचार गराइरहेकी ती बालिकाकी दिदीले बहिनी हराएको खबर पाइन् । मेसेन्जरमार्फत खोजी सुरु गरिन् ।

बहिनीसँग सम्पर्क भएपछि उनले फकाई-फुल्याई ११ मङ्सिरका दिन बाइपासमा भेट्न बोलाइन् । भेटमा बहिनीको अवस्था देखेपछि दिदी छाँगाबाट खसेझैँ भइन् । त्यसपछि प्रहरीमा जाहेरी दर्ता भयो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले सृजन गुरुङ विरुद्ध केही दिन अघि मात्र जिल्ला अदालत काठमाडौँमा जबरजस्ती करणीको मुद्दा दायर गरेको छ । पीडित बालिकाको उमेर घटनाको समयमा १३ वर्ष ६ महिना २२ दिन मात्र रहेको छ । नाबालिकासँग मञ्जुरी मै भएको करणीलाई पनि बलात्कार मानिन्छ ।

अभियोग पत्रमा सृजनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (३) (ख) बमोजिम १८ देखि २० वर्षसम्म कैद सजायको माग गरिएको छ । साथै, पीडितलाई ७ लाख रुपैयाँ जरिबाना र उचित क्षतिपूर्ति भराउन समेत मागदाबी लिइएको छ ।

पछिल्लो अध्यावधिक: पुस ९, २०८२ १७:३