क्रोम ब्राउजरमार्फत एन्ड्रोइड, आईफोन, म्याक र पीसी सबै डिभाइसमा यसरी सिङ्क गर्न सकिन्छ पासकी
पुस १०, २०८२ १५:१४
सांकेतिक तस्बिर
काठमाडौँ । आजको डिजिटल युगमा पासकीलाई पासवर्डको सुरक्षित र सुविधाजनक विकल्पको रूपमा हेरिएको छ । यद्यपि, फरक-फरक उपकरण र ब्राउजरमा यसलाई सिङ्क (एकसाथ मिलाउनु) गर्नु अझै पनि चुनौतीपूर्ण कार्य हो ।
यदि तपाईँ एउटा उपकरणमा पासकी सेभ गर्नुहुन्छ भने त्यो अर्कोमा उपलब्ध नहुन सक्छ । यो समस्या समाधान गर्न गुगलले आफ्नो गुगल पासवर्ड म्यानेजरलाई क्रोम ब्राउजरमा एकीकृत गरेको छ । जसले गर्दा एन्ड्रोइड, विन्डोज, म्याक र आईफोनमा सजिलै पासकी सिङ्क गर्न सकिन्छ ।
कसरी गर्ने ?
सबैभन्दा पहिला एन्ड्रोइडको सेटिङमा गएर Passwords & accounts वा Passwords, passkeys & accounts अथवा Users & account खोज्नुहोस् । अब त्यहाँ गुगललाई डिफल्ट (default) पासवर्ड म्यानेजर र Autofill विकल्पको रूपमा छनौट गर्नुहोस् ।
त्यसपछि क्रोममा कुनै वेबसाइट (जस्तै: फेसबुक) खोलेर त्यसको Password and security सेटिङबाट नयाँ पासकी बनाउनुहोस् । त्यसका लागि तपाईँले आफ्नो फोनको फिङ्गरप्रिन्ट, फेस आईडी वा पिन प्रयोग गर्नुपर्ने हुन्छ ।
आईफोनमा गुगल पासवर्ड म्यानेजर प्रयोग गर्न सफारीको सट्टा क्रोम ब्राउजर प्रयोग गर्नुपर्ने हुन्छ । त्यसका लागि आईफोनको Settings > General > AutoFill & Passwords मा गई Chrome लाई छान्नुहोस् ।
क्रोम एपभित्र आफ्नो प्रोफाइलमा जानुहोस् र Settings मा गएर Passwords and passkeys सिङ्क गर्ने विकल्प अन गर्नुहोस् ।
कम्प्युटरका लागि क्रोम खोल्नुहोस् र आफ्नो गुगल अकाउन्टमा साइन-इन गर्नुहोस् । अब प्रोफाइल आइकनमा क्लिक गरी Google Password Manager को Settings मा जानुहोस् र त्यहाँ Windows Hello प्रयोग गर्ने लगायतका सबै आवश्यक 'स्विच'हरू अन गर्नुहोस् ।
अब You and Google सेक्सनमा गएर Sync अन गर्नुहोस् र Customize sync मा गएर Passwords and passkeys विकल्प अनिवार्य रूपमा छनौट गर्नुहोस् ।
यसरी एकपटक कुनै एक उपकरण (जस्तै: म्याक) मा पासकी बनाएपछि, त्यो स्वतः अन्य सबै डिभाइसमा रहेको क्रोम ब्राउजरमा उपलब्ध हुन्छ । यसो गरेपछि जब तपाईँ कुनै वेबसाइटमा लग-इन गर्न खोज्नुहुन्छ, क्रोमले तपाईँलाई पहिले नै सुरक्षित गरिएको पासकी प्रयोग गर्न सुझाव दिन्छ ।
ध्यान दिनुपर्ने कुराहरू
यो सबै प्रक्रिया सुन्दा झन्झटिलो लागे पनि तपाईँले एक पटक एउटा वेबसाइटको लागि एउटा डिभाइसमा मात्र पासकी बनाउनु पर्छ । जुन पछि अरूमा स्वतः सिङ्क हुन्छ । कहिलेकाहीँ एन्ड्रोइड फोनमा सिङ्क हुन समस्या आउन सक्छ, यस्तो बेला म्यानुअल रूपमा सिङ्क गर्नुपर्ने हुन सक्छ ।
गुगलले आफ्नै अकाउन्टका लागि पासकी सिङ्क गर्न अझै पनि केही जटिलताहरू छन् । जुन अहिलेसम्म पूर्ण रूपमा समाधान भइसकेको छैन । यदि तपाईँ विभिन्न ब्राउजरहरू (जस्तै: फायरफक्स वा एज) प्रयोग गर्नुहुन्छ भने, क्रोमको पासवर्ड म्यानेजरभन्दा एउटा छुट्टै डेडिकेटेड पासवर्ड म्यानेजर एप प्रयोग गर्नु बढी राम्रो विकल्प हुन सक्छ ।
पछिल्लो अध्यावधिक: पुस १०, २०८२ १८:१७
