काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दल र नेताहरूले सामाजिक सञ्जालमा पैसा तिरेर बुस्ट गराएका पेज निगरानीमा राख्न सुरु गरेको छ । आयोगले शुक्रबार गरेको पत्रकार सम्मेलनका क्रममा कार्य बाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले अहिलेदेखि नै सामाजिक सञ्जालमा पैसा तिरेर दल र नेताहरूको प्रचार भइरहेको प्रति आयोग चनाखो रहेको र निगरानी गरिरहेको बताएका हुन् ।
निर्वाचन प्रयोजनको लागि आयोगले दल र उम्मेदवारलाई खर्चको सीमा छुट्याइएको स्मरण गराउँदै कार्य बाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले अहिले सामाजिक सञ्जालमा खर्च गरिरहेका दल र नेताहरूले निर्वाचनको बेला खर्च गर्न नपाउने जोखिम पनि रहेको बताए । उनले भने, "निर्वाचन प्रचार प्रसारमा गर्न पाउने खर्च कति हो र उहाँहरूले अहिले कति खर्च गर्नुभएको छ भनेर हामीले अहिलेदेखि नै हेरिरहेका छौँ । अहिले सामाजिक सञ्जालमा पैसा खर्च गर्दा पछि निर्वाचनको समयमा पैसा तिरेर प्रचार प्रसार गर्नै नपाउने अवस्था आउन सक्छ ।"
आयोगले दल र नेताहरूलाई खर्चको सीमा ख्याल गरेर सामाजिक सञ्जालमा प्रचार प्रसार गर्न सचेत गराएको छ । "हामी मितव्ययी निर्वाचन गराउने भनेर लागिरहेका छौँ । तर दल र नेताहरूले खर्चिला गतिविधि गर्छन् भने आयोगलाई सह्य हुँदैन," भण्डारीले भने ।
पछिल्लो अध्यावधिक: पुस ११, २०८२ २०:५०
