प्रिक्साले अधिग्रहण गर्यो दैलो कृषि, खाद्य प्रणालीमा विश्वास बढाउन प्रविधि प्रयोग गर्ने
पुस १३, २०८२ १०:४१
काठमाडौँ । प्रिक्सा टेक्नोलोजीले दैलो कृषिलाई अधिग्रहण गरेको घोषणा गरेको छ । कम्पनीले नेपालको खाद्य प्रणालीमा भरोसा र विश्वासिलो पूर्वाधार निर्माण गर्ने लक्ष्यका साथ यो अधिग्रहण गरिएको जनाएको छ ।
"प्रिक्साले नेपाललाई एउटा बजारको रूपमा मात्र नभई एउटा 'एक्सपेरिमेन्ट ल्याब' को रूपमा हेर्छ, जहाँ धेरै पहिले नै बनिसक्नुपर्ने प्रणालीहरू हामी अहिले निर्माण गर्दैछौँ," प्रिक्साका सीईओ मनीष शर्माले भने । "दैलो कृषि नेपालका ती थोरै टिममध्ये एक हो, जसले खाद्य सुरक्षा र विश्वासको समस्याको जरैदेखि समाधान गर्न खोजिरहेको छ ।"
यस अधिग्रहणपछि दैलो कृषिले प्रिक्साको प्रविधि, प्रणाली र इकोसिस्टमको प्रयोग गर्नेछ भने आफ्नो मूल उद्देश्यमा अडिग रहनेछ । प्रिक्साका अनुसार यो कदम तुरुन्तै ब्रान्ड परिवर्तन गर्ने वा तीव्र गतिमा विस्तार गर्ने भन्दा पनि कृषि क्षेत्रमा विश्वासिलो र दिगो पूर्वाधार विकासका लागि आवश्यक स्रोतहरू जुटाउने तर्फ केन्द्रित छ ।
"हामी जे खान्छौँ, त्यसप्रति विश्वास हुनु सबैभन्दा महत्त्वपूर्ण कुरा हो," शर्माले थपे, "यो अधिग्रहण हाम्रो खाद्य प्रणालीमा प्रविधिमार्फत 'ट्रस्ट इन्जिनियरिङ' गर्ने प्रयास हो ।"संस्थापक धीरज चापागाईँको नेतृत्वमा दैलो कृषिले नेपालका विभिन्न कृषि सहकारीहरूसँगको सहकार्यमा 'ट्रेसिबल' (उत्पादनको स्रोत खुल्ने) ताजा उपजहरू उपभोक्तासम्म पुर्याउँदै आएको छ ।
अर्थात् दैलो कृषि सिधै फार्मबाट उपभोक्ताको दैलोसम्म 'ट्रेसिबल' उपज पुर्याउने प्लेटफर्म हो । स्थानीय कृषि सहकारीहरूसँगको साझेदारीमा यसले ग्रामीण समुदायलाई सशक्त बनाउँदै स्वस्थ र प्रमाणित कृषि उपजहरूलाई सहज र किफायती बनाउने काम गरिरहेको छ ।
प्रिक्सा भने एक प्रविधि कम्पनी हो, जसले एआई/मसिन लर्निङ सोलुसन, हाइपर-स्केल क्लाउड इन्फ्रास्ट्रक्चर र डाटा इन्जिनियरिङमा काम गर्दै आइरहेको छ ।
पछिल्लो अध्यावधिक: पुस १३, २०८२ १०:४१
