close

एआईले निम्त्याउनसक्ने जोखिम हेर्ने कर्मचारी खोज्दै च्याटजीपीटी निर्माता ओपनएआई, तलब ८ करोड

टेकपाना टेकपाना

पुस १३, २०८२ १९:५५

एआईले निम्त्याउनसक्ने जोखिम हेर्ने कर्मचारी खोज्दै च्याटजीपीटी निर्माता ओपनएआई, तलब ८ करोड

काठमाडौँ । एआई प्रविधिको क्षेत्रको प्रमुख मध्येको कम्पनी ओपनएआईले आफ्ना मोडेलहरूबाट हुन सक्ने सम्भावित गम्भीर क्षति र जोखिमहरूलाई पूर्वानुमान तथा न्यूनीकरण गर्नका लागि ‘हेड अफ प्रिपयर्डनेस’ पदमा कर्मचारी नियुक्त गर्ने घोषणा गरेको । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यानले सामाजिक सञ्जाल एक्स मार्फत उक्त पदका लागि आह्वान गर्दै एआई मोडेलहरू सुधारिँदै जाँदा तिनले केही वास्तविक चुनौतीहरू खडा गर्न थालेको स्वीकार गरेका छन् ।

यस पदमा नियुक्त हुने व्यक्तिले साइबर सुरक्षा, मानसिक स्वास्थ्य र नियन्त्रण बाहिर जान सक्ने एआई जस्ता गम्भीर विषयहरूमा काम गर्नुपर्नेछ ।  यो भूमिकामा रहने व्यक्तिको मुख्य काम भविष्यका शक्तिशाली एआई मोडेलहरूमा हुन सक्ने जैविक क्षमताको दुरुपयोग रोक्न सुरक्षा मापदण्डहरू निर्माण गर्नु र कम्पनीको सुरक्षा पाइपलाइनलाई व्यवस्थित बनाउनु हुनेछ ।

यो नियुक्तिको घोषणा यस्तो समयमा भएको छ, जब एआई च्याटबटहरूका कारण मानिसहरूको मानसिक स्वास्थ्यमा परेको नकारात्मक प्रभावलाई लिएर विभिन्न प्रश्नहरू उठिरहेका छन् । मानिसहरूमा भ्रम पैदा गर्ने, षड्यन्त्रका सिद्धान्तहरूलाई प्रोत्साहन दिने र किशोरकिशोरीहरूमा आत्महत्या जस्ता घटनामा एआई च्याटबट जोडिएका उजुरीहरू परेपछि यो सुरक्षा रणनीति अपनाइएको हो । 

साम अल्टम्यानले मानसिक स्वास्थ्यमा देखिएका प्रभावहरू एउटा 'प्रिभ्यु' मात्र भएको र यसलाई गम्भीरतापूर्वक लिनुपर्ने कुरा यस अघि नै बनाइसकेका छन् ।यो पदका लागि वार्षिक ५ लाख ५५ हजार अमेरिकी डलर (करिब ८ करोड रुपैयाँ) र अतिरिक्त इक्विटी तोकिएको छ । 

यद्यपि, अल्टम्यानले यो कामलाई अत्यन्तै तनावपूर्ण हुने चेतावनी पनि दिएका छन् । जहाँ नियुक्त हुने व्यक्तिले तुरुन्तै गम्भीर चुनौतीहरूको सामना गर्नुपर्नेछ।

 


 

पछिल्लो अध्यावधिक: पुस १३, २०८२ १९:५५