close

आईटीमा लाग्ने युवालाई राष्ट्र बैङ्कको साथ, गभर्नर भन्छन्ः अब ढुक्कले विश्व बजारमा आँखा लगाऊ

टेकपाना टेकपाना

पुस १५, २०८२ ९:४८

आईटीमा लाग्ने युवालाई राष्ट्र बैङ्कको साथ, गभर्नर भन्छन्ः अब ढुक्कले विश्व बजारमा आँखा लगाऊ

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर विश्व पौडेलले देशमा आईटी क्षेत्रको विकासका लागि आवश्यक नीतिगत सहजीकरण गरिएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा आए पोस्ट गर्दै उनले अब युवाहरूले ढुक्क भएर विश्व बजार लक्षित प्रडक्टहरूमा काम गर्न सक्ने बताएका हुन् ।

गएका केही वर्षमा नेपालको आईटी क्षेत्रले राम्रो मेहनत गरेको उल्लेख गर्दै उनले अर्थमन्त्रालयबाट भएका सहजिकरणको समेत चर्चा गरेका छन् । "कम्पनीहरू खोल्न सहज गर्ने, प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा सीमा संशोधन गर्ने, करको दर विश्वसनीय बनाउने जस्ता सुधारको आंशिक फलस्वरूप २ वर्ष अघि वैदेशिक लगानीमा ४० वटा जति आईटी कम्पनी खुलेकामा एक वर्ष अघि लगभग ४०० कम्पनी खुलेका थिए," उनले भनेका छन् ।

"म राष्ट्र बैङ्क आएपछि यी सुधारभन्दा अघि बढेर नेपाली निर्यातकर्ता कम्पनीहरूलाई विदेशमा १० लाख डलरसम्म लगानी गर्न अनुमति दिइएको छ भने हाल निर्यात नगरेका कम्पनीहरूलाई पनि २० हजार डलरसम्म लगानी गर्न दिइएको छ । नतिजा हेरेर यी सीमाहरू संशोधन गर्दै जाने कुरामा सबैलाई विश्वास दिलाउन पनि चाहन्छु । वैदेशिक लगानीकर्ताहरू पेपरवर्क धेरै भयो भनेर गुनासो गरेको सन्दर्भमा नाफा लैजान राष्ट्रबैङ्कको स्वीकृति लिनु नपर्ने गरिएको छ। "

हेर्दा साधारण लागे पनी २०२१ सालमै वैदेशिक लगानी गर्न प्रतिबन्ध लगाइएको हाम्रो देशमा भएका यी पहल दूरगामी असर पार्ने प्रकृतिका रहेको गभर्नरले बताएका छन् । "अब युवाहरूलाई अनुरोध: ढुक्क भएर नयाँ प्रडक्ट निकाल्नु होस्, विश्व बजारमा आँखा लगाउनुहोस् । पखेटा फैलाउनु होस्, मेहनत गर्नुहोस्, नेपालबाटै जित्नलाई संसार हुनेछ । बैङ्किङ क्षेत्रले तपाईँहरूको विस्तारमा सदैव साथ दिनेछ," उनले अगाडि भने छन् ।

 

पछिल्लो अध्यावधिक: पुस १५, २०८२ ९:४८