close

सन्दीप लामिछानेलाई नखेलाएको भन्दै सामाजिक सञ्जालमा राजशाही वारियर्स विरुद्ध खनिए नेपाली फ्यान

टेकपाना टेकपाना

पुस १५, २०८२ १३:२१

सन्दीप लामिछानेलाई नखेलाएको भन्दै सामाजिक सञ्जालमा राजशाही वारियर्स विरुद्ध खनिए नेपाली फ्यान

काठमाडौँ । नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेलाई सोमबार टोलीमा समावेश नगरेको विषयलाई लिएर नेपाली क्रिकेट प्रशंसकहरूले राजशाही वारियर्स विरुद्ध खनिएका छन् । सन्दीपलाई टोलीबाट बाहिर राखिएकोमा असन्तुष्टि जनाउँदै नेपाली फ्यानहरूले उनी आबद्ध बङ्गलादेश प्रमियर लिगको राजशाही वारियर्सको चर्को आलोचना गरिरहेका छन् ।

शनिबारको खेलमा ढाका क्यापिटल्स सन्दीप आबद्ध राजशाही वारियर्सले दिएको १३३ रनको सामान्य लक्ष्य पछ्याइरहेको थियो । १६ ओभरमा ५ विकेट गुमाएर ९८ रनको स्थितिमा रहेको ढाका क्यापिटल्सलाई जितका लागि २४ बलमा ३५ रन चाहिएको थियो । 

सन्दीप १७ औँ ओभरमा बलिङका लागि आए । उनले सो ओभरमा १५ रन खर्चिएपछि खेल ढाका क्यापिटल्सको पक्षमा गयो र राजशाही वारियर्स ७ बल बाँकी छँदै पाँच विकेटले पराजित हुन पुग्यो । सोही नतिजाले गर्दा राजशाहीका लागि दोस्रो खेलसम्म लगातार टिममा समावेश भएका लामिछाने तेस्रो खेलमा अटाउन सकेनन् । 

तर नेपाली क्रिकेट फ्यानलाई सो कुरा सह्य भएन र लामिछाने जस्तो महत्वपूर्ण खेलाडीलाई टिममा नराखेर राजशाहीले गल्ती गरेको भन्दै आफ्नो असन्तुष्टि व्यक्त गर्न थाले । राजशाही वारियर्सको मात्र नभएर बीपीएललाई लिएर समेत नेपाली फ्यानहरूले सामाजिक सञ्जालमा तथानाम लेख्न छाडेनन् । 

सन्दीप बिनाको खेलमा राजशाहीले नवखली एक्सप्रेस विरुद्ध ६ विकेटको जित हात पार्‍यो ।  तर सामाजिक सञ्जालमा फ्यानहरूको आक्रोश भने मत्थर भएन । फ्यानहरूबाट निरन्तर आलोचना हुन थालेपछि राजशाही वारियर्सले सोमबार दिउँसो बाध्य भएर एक पोस्ट नै राख्नु पर्‍यो । जसमा उसले सन्दीप लामिछानेको तस्विरसँगै उनी सधैँको 'वारियर' भएको उल्लेख गर्दै अर्को म्याचमा खेलाउने सङ्केत दिएको छ । 

क्रिकेट सम्बन्धी बङ्गलादेशी अनलाइन प्लेटफर्म बीडीक्रिकटाइमले समेत नेपाली क्रिकेट समर्थकको असन्तुष्टिको विषयलाई कभरेजको विषय बनाएको छ । त्यसो त लामिछाने गएकै कारण कतिपय नेपाली क्रिकेट फ्यानले बीपीएल हेर्न थालेका थिए । 

तर लामिछानेलाई खेलमा नदेखेपछि ती फ्यानहरू निराश बने । सन्दीप आबद्ध भएकै कारण पछिल्ला दिनहरूमा राजशाही वारियर्सको सामाजिक सञ्जालमा फलोअर तथा इङ्गेजमेन्ट ह्वात्तै बढेको छ । यस्तोमा लामिछानेलाई समावेश नगराएको भन्दै पेज अनफलो गर्नेसम्मका ट्रेन्ड समेत नेपाली फ्यानहरूले चलाउन भ्याएका थिए । राजशाहीले अब अर्को खेल बिहीबार रङ्गपुर राइडर्स विरुद्ध खेल्नेछ । 

 

पछिल्लो अध्यावधिक: पुस १५, २०८२ १३:२१