सञ्चारमन्त्रीले उद्घाटन गरे ५० लाख ग्राहकलाई भोल्टे-वाईफाई कलिङ सेवा दिनसक्ने एनसेलको आयोजना
पुस १५, २०८२ १४:४३
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आइतबार पोखराको एनसेल डेटा सेन्टरमा एनसेलको भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) क्षमता अभिवृद्धि परियोजना उद्घाटन गरेको छन् । अत्याधुनिक सर्भरहरू मार्फत भोल्टे र भ्वाइस ओभर वाईफाई (भोवाईफाई) सेवा प्रदान गर्न विस्तार गरिएको आईपी मल्टिमिडिया सबसिस्टम (आईएमएस) प्रणालीको स्विच अन गरी उनले औपचारिक रूपमा परियोजनाको उद्घाटन गरेका हुन् ।
यससँगै अब एनसेलले यो डेटा सेन्टरमार्फत् ५० लाख सक्रिय ग्राहकलाई भोल्टे सेवा दिन सक्ने भएको छ । दूरसञ्चार सेवाको क्षेत्रमा भोल्टे एक नयाँ प्रविधि भएकाले यसले उच्च गुणस्तरको हाई डेफिनिसन (एचडी) र छिटो कनेक्ट हुने भ्वाइस कल सेवा प्रदान गर्दछ । त्यसैगरी, एनसेलको भोवाईफाई भनेको यस्तो प्रविधि हो, जसले प्रयोगकर्तालाई कुनै पनि वाईफाईको प्रयोग गरेर आफ्नै एनसेल नम्बरबाट फोन कल गर्न र रिसिभ गर्ने सुविधा दिन्छ ।
यसमार्फत प्रयोगकर्ताले एचडी भ्वाइस कल र एसएमएस पठाउन सक्छन् । विशेष गरी मोबाइल सिग्नल कमजोर हुने बेसमेन्ट, अग्ला भवन वा दुर्गम ठाउँहरू, जहाँ स्थिर वाईफाई उपलब्ध हुन्छ, त्यस्ता ठाउँहरूमा भोवाईफाईमार्फत सहजै सम्पर्कमा रहन सकिन्छ ।
मन्त्री खरेलले विभिन्न कार्यालयको निरीक्षण, अवलोकन तथा भेटघाट गर्ने क्रममा पोखरामा रहेको एनसेलको डिजास्टर रिकभरी सेन्टरको रूपमा सञ्चालित डेटा सेन्टरको अवलोकन भ्रमण गरेका हुन् । एनसेलका चिफ कर्पोरेट एन्ड रेगुलेटरी अफिसर डिल्लीराम श्रेष्ठ र कर्पोरेट कम्युनिकेसन एन्ड सस्टिनेबिलिटी डाइरेक्टर विशाखालक्ष्मी खड्काले मन्त्री खरेललाई स्वागत गरेका थिए ।
अवलोकन भ्रमण पश्चात मन्त्री खरेलले भने, “डिजिटल नेपाल निर्माण गर्ने लक्ष्यलाई एनसेलका यस्ता पूर्वाधारले निरन्तर साथ दिइरहेको छ र डिजिटलाइजेसन ड्राइभका प्रमुख आधारभूत संरचना मध्ये एनसेलको पोखरा डेटा सेन्टर एक रहेको छ ।”
साथै उनले डेटा सेन्टरको सञ्चालन र व्यवस्थापनको प्रशंसा समेत गरेका छन् । एनसेलका चिफ कर्पोरेट एन्ड रेगुलेटरी अफिसर श्रेष्ठले यो डेटा सेन्टर सन् २०१२ मा स्थापना गरी सञ्चालनमा ल्याइएको जानकारी दिँदै नेपालको दूरसञ्चार र सूचना प्रविधिको क्षेत्रका यो एक प्रमुख पूर्वाधार भएको बताए ।
“भोल्टेको क्षमता अभिवृद्धिपछि अब कम्पनीले यो आधुनिक सेवा अझ धेरै ग्राहकहरूलाई प्रदान गर्न सक्ने भएको छ,” उनले भने । श्रेष्ठ र एनसेलका अन्य जिम्मेवार शाखाका कर्मचारीहरूले पोखरा डेटा सेन्टरको काम, क्षमता, प्राविधिक पक्ष, दूरसञ्चार र सूचना प्रविधिमा उक्त डेटा सेन्टरको भूमिका लगायतका विषयमा मन्त्री खरेललाई जानकारी गराएका थिए ।
पछिल्लो अध्यावधिक: पुस १५, २०८२ १४:४३
