काठमाडौँ । तपाईँको माउसको ब्याट्री अचानक सकियो वा कतै यात्रा गर्दा माउस बोक्न बिर्सनुभयो भने अब चिन्ता लिनु पर्दैन । तपाईँले आफ्नो एन्ड्रोइड फोनलाई नै वायरलेस माउस वा किबोर्डको रूपमा प्रयोग गर्न सक्नुहुन्छ ।
यो स्थायी रूपमा प्रयोग गर्न सकिने विकल्प नभए पनि केही विशेष परिस्थितिमा यो निकै काम लाग्छ । यदि तपाईँ पुरानो कम्प्युटरलाई टिभीमा जोडेर चलाउनुहुन्छ भने टाढैबाट नियन्त्रण गर्न यसले सजिलो बनाउँछ ।
त्यस्तै कोठाको जुनसुकै कुनाबाट आफ्नो कम्प्युटर स्क्रिनमा रहेका स्लाइडहरू परिवर्तन गर्न सक्नु हुन्छ । यसैगरी अचानक माउसको ब्याट्री सकिएको बेला वा त्यसको रिसिभर हराएको बेला फोनबाट काम चलाउन पनि सकिन्छ ।
यस किसिमको सुविधा दिने एपहरू प्ले स्टोरमा थुप्रै छन् । युनिफाइड रिमोट (Unified Remote) र रिमोट माउस (Remote Mouse) एप परीक्षणका क्रममा रिमोट माउसमा धेरै राम्रा सुविधाहरू छन् । तर यसका धेरैजसो फिचरका लागि पैसा तिर्नुपर्छ ।
सबैभन्दा सरल र प्रभावकारी विकल्पको रूपमा ब्लुटुथ किबोर्ड एन्ड माउस (Bluetooth Keyboard & Mouse) एपलाई लिन सकिन्छ । यो एप ब्लुटुथ प्रविधिमा चल्ने भएकाले कम्प्युटरमा छुट्टै सफ्टवेयर इन्स्टल गरिरहनु पर्दैन । यसबाहेक, केही प्रयोगकर्ताहरूले केडीई कनेक्ट (KDE Connect) एपलाई पनि राम्रो विकल्पको रूपमा सुझाएका गरेका छन् ।
कसरी प्रयोग गर्ने ?
विभिन्न एपहरू मध्ये उदाहरणको रूपमा यहाँ हामीले Bluetooth Keyboard & Mouse एपलाई लिएका छौँ । गुगल प्ले स्टोरमा जानुहोस् र यो एप डाउनलोड गर्नुहोस् अनि ब्लुटुथ प्रयोग गर्ने अनुमति दिनुहोस् ।
त्यसपछि आफ्नो कम्प्युटरको ब्लुटुथ अन गर्नुहोस् र एपमा आफ्नो कम्प्युटरको नाम खोजेर कनेक्ट गर्नुहोस् ।
यदि फोनबाट कनेक्ट भएन भने फोनलाई ५ मिनेटका लागि Discoverable मोडमा राखेर कम्प्युटरको ब्लुटुथ सेटिङबाट फोनलाई कनेक्ट गर्नुहोस् ।
फोनलाई माउस बनाउँदा कर्सर चलाउने गति निकै राम्रो हुन्छ । तपाईँले कर्सरको गति बढाउन वा घटाउन र ह्याप्टिक फिडब्याक (क्लिक गर्दा आउने थर्थराहट) पनि मिलाउन सक्नुहुन्छ ।
यसमा कपी-पेस्ट गर्ने सर्टकट पनि राख्न सकिन्छ । यद्यपि, किबोर्डबाट टाइप गर्दा भने केही ल्याग भएको महसुस हुन सक्छ । त्यसैले यो छोटो मेसेज लेख्नका लागि काम चलाउ हुन सक्छ ।
यसको सशुल्क भर्सनमा एयर माउस (Air Mouse) मोड पनि उपलब्ध छ । जसले फोनलाई हावामा हल्लाएरै कम्प्युटरको कर्सर नियन्त्रण गर्ने सुविधा दिन्छ ।
पछिल्लो अध्यावधिक: पुस २१, २०८२ ११:०
