उपचारमा छँदा फेसबुकमा ‘श्रद्धाञ्जली’ लेख्नेलाई आशा गौतमले दिइन् ‘मानवता हराएका मान्छे’को संज्ञा
पुस २१, २०८२ १२:६
काठमाडौँ । ‘कान्छी’ र ‘भुन्टी’ जस्ता चर्चित टेलिसिरियलकी अभिनेत्री एवं सञ्चालिका आशा गौतमले आफ्नो स्वास्थ्यका बारेमा सामाजिक सञ्जालमा फैलाइएको भ्रामक हल्लाप्रति कडा आपत्ति जनाएकी छिन् । अस्पतालमा उपचाररत रहेकै अवस्थामा केही व्यक्ति र पेजले उनको निधन भएको भन्दै ‘श्रद्धाञ्जली’ दिएपछि उनले दुःख व्यक्त गरेकी हुन् ।
केही दिनको अस्पताल बसाईपछि निको भएर घर फर्किएकी गौतमले सामाजिक सञ्जालमार्फत आफ्ना शुभचिन्तकलाई यस्ता भ्रमदेखि सचेत रहन आग्रह गरेकी छिन् । उनले आफू बिरामी भएको मौका छोपी एआई सिर्जित तस्बिर प्रयोग गरेर फेक आईडीमार्फत भ्रामक जानकारी फैलाइएको गुनासो गरेकी छिन् ।
आफू जीवितै छँदा मृत्युको खबर फैलाउने प्रति आक्रोश पोख्दै उनले लेखेकी छिन्, “खाइरहेको मिठो गाँसमा ढुङ्गा भेटिए जस्तै म बिरामी हुँदा स्वास्थ्य लाभको कामना गर्ने लाखौँ शुभचिन्तकका बीचमा म जिउँदै हुँदा श्रद्धाञ्जलि दिने केही व्यक्तिहरू पनि भेटिए ।” उनले यस्ता व्यक्तिलाई ‘मानवता हराएका मान्छे’ को संज्ञा दिएकी छिन् ।
उनले अगाडि लेखेकी छिन्, “मेरो नामको फेक आईडी खोलेर एआईबाट तस्बिर बनाई भ्रामक कुरा लेखेर मानिसलाई त्रसित बनाउनेदेखि होसियार रहनुहोला । स्वस्थ शरीरभन्दा ठुलो केही छैन, आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला ।”
आशा गौतम मात्रै होइन अस्पतालमा उपचार भइरहँदा भ्रामक सूचनाको शिकार बन्नेमा अन्य कलाकार पनि छन् । अप्सरा नामले परिचित स्वर्गीय लक्ष्मी श्रेष्ठको उपचार भइरहेकै बखत सामाजिक सञ्जालमा उनको निधन भएको भन्दै भ्रामक पोस्ट भाइरल भएका थिए । त्यसैगरी ‘काजी बा’ नामले परिचित अभिनेता रामचन्द्र अधिकारीबारे पनि मृत्युको मिथ्या सूचनाको सिकार भएका थिए ।
पछिल्लो अध्यावधिक: पुस २१, २०८२ १२:१२
