close

टिकटकमा जब 'काजी बा'को मृत्युको हल्ला चलाइयो...

हिक्मत आचार्य हिक्मत आचार्य

कात्तिक ५, २०७९ १२:३७

टिकटकमा जब 'काजी बा'को मृत्युको हल्ला चलाइयो...

काठमाडौं । सामाजिक सञ्जालको जति सदुपयोग भएको छ त्यति नै दुरुपयोग पनि भइरहेको छ । हुन त आफ्नो ठाउँमा सबै कुराको सकारात्मक र नकारात्मक पक्ष हुने गर्छन् । कुन वस्तुलाई कसरी प्रयोग गरिएको छ भन्ने कुराले पनि धेरै प्रभाव पारेको हुन्छ ।

सामाजिक सञ्जालमा धेरैको पहुँच भएकाले यसको दुरुपयोगले समाजमा विकराल अवस्था सिर्जना गरिरहेको छ । इन्टरनेट तथा मोबाइल फोनको प्रयोग बढेसँगै धेरै मानिसहरू सामाजिक सञ्जालमा सक्रिय हुन थालेका छन् । त्यसैमा डिजिटल साक्षरताको अभाव हुँदा सामाजिक सञ्जालमा भ्रम फैलिने गति तीव्र छ ।

यस्ता माध्यममा राखिएका कतिपय भ्रामक पाेस्ट र समाचारले समाजमा गलत सन्देश दिइरहेको हुन्छ । पछिल्लो समय समाजिक सञ्जालमा फेसबुक पेज खोलेर समाचार प्रसारण गर्ने प्रवृत्ति बढेको छ । उनीहरूको न कुनै आधिकारिक संस्था हुन्छ, न कुनै ठाउँमा दर्ता नै हुन्छन् ।

आफूले केही देखेकै भरमा सस्तो लोकप्रियताका लागि पुष्टि नगरी सामाजिक सञ्जालमा समाचारका रूपमा राखिदिने गर्छन् । मानिसहरूलाई पनि समाचारको विस्तृत विवरण पढ्ने फुर्सद हुँदैन । कुनै पनि समाचारको सार पाएपछि उनीहरूलाई पुगिहाल्छ । यही कारणले पनि सामाजिक सञ्जालमा भ्रम फैलिरहेको हुन्छ ।

केही साताअघि सामाजिक सञ्जालमा गायक उदित नारायण झाको मृत्युको खबर भाइरल बन्याे । घरमा दशैँ मनाइरहेका झा आफ्नो मृत्युको खबर सुन्दा चकित परे । भारतका केही सञ्चारमाध्यमले उनको मृत्युको झुटो खबर फैलाएका थिए । त्यही कुरालाई आधिकारिक स्रोतबाट पुष्टि नगरी नेपालबाट फेसबुक पेज चलाइरहेका व्यक्तिले शेयर गर्दा उक्त भ्रामक खबर भाइरल भएको थियो ।

छिटो समाचार फैलाउने दौडमा यस्ता भ्रामक सूचना फैलिरहेका हुन्छन् । त्यस्तै अहिले अभिनेता रामचन्द्र अधिकारीको मृत्युको खबर पनि सामाजिक सञ्जालमा भाइरल छ । फेसबुक तथा टिकटकमा रहेका साना क्लिप तथा अपूर्ण समाचारले गर्दा धेरैले श्रद्धाञ्जलि दिन भ्याइसकेका छन् ।

अधिकारी अर्थात् टेलिसिरियल मेरी बास्सैका 'काजी बा'  निमोनिया भएपछि काठमाडौं चाबहिलस्थित मेडिकेयर अस्पतालमा उपचारत अधिकारी सन्चो भएर शनिबार डिस्चार्ज हुँदैछन् । उनीबारे बुधबारदेखि भ्रामक समाचार फैलिएपछि विभिन्न कलाकार र शुभेच्छुक उनलाई भेट्न अस्पताल नै पुगेर सामाजिक सञ्जालमा फैलिएकाे खबर गलत भएकाे बताइरहेका थिए । 

तर टिकटकमा विभिन्न अकाउन्टबाट अधिकारीकाे मृत्यु भएकाे भन्दै पाेस्ट आउने क्रम रोकिएन । कमेन्टमा 'रिप' लेख्नेहरु बढ्दै गए । यसरी जिउँदो मानिसलाई टिकटक हुँदै फेसबुक, युट्युब र अन्य अनलाइन माध्यममा श्रद्धाञ्जली दिन थालियो । यसको असर उनका आफन्त र शुभचिन्तकलाई पर्ने नै भयो ।

सामाजिक सञ्जालमा यस्ता खबर विशेषगरी अनधिकारिक पेजहरूबाट फैलिएको हुन्छ । कतिपय अवस्थामा समाचार छिटो प्रसारण गर्ने दौडलाई पछ्याउँदा भरपर्दो सञ्चार माध्यमबाट पनि भ्रामक सूचना फैलिरहेको हुन्छ ।

मृत्युजस्तो संवेदनशील विषयमा भ्रम फैलाउँदा त्यसले उनीहरूका आफन्तलाई धेरै नकारात्मक असर पुर्‍याइरहेको हुन्छ । यदि परिवार र आफन्तमा कोही मुटुको रोगी छन् वा मानसिक रोगी छन् भने उनीहरूलाई अझ धेरै असर गर्न सक्छ ।

अधिकारीको उपचार गरिरहेको नेपाल कलाकार संघले विज्ञप्ति जारी गर्दै भ्रामक र कपोलकल्पित हल्लाप्रति खेद व्यक्त गरेको छ । हल्ला फैलाउने सामाजिक सञ्जालका केही पेज र व्यक्तिलाई साइबर ब्युरोमा उजुरी दिने कलाकार संघको तयारी रहेपनि अधिकारीको आग्रहपछि रोकिएको छ ।

यसरी सस्तो फलोअर पाउने लोभ वा समाचार छिटो प्रसारण गर्ने दौडमा अनधिकारिक र भ्रामक समाचार प्रसारण गर्ने थुप्रै फेसबुक पेज र ट्वीटर अकाउन्ट छन् । यस्ता अकाउन्ट कतै दर्ता नहुने भएपछि अनुगमनमा पर्दैनन् । जसले गर्दा भ्रामक सूचना फैलिने क्रम दिनानुदिन बढ्दै गइरहेको छ ।

प्रयाेगकर्ताले सामाजिक सञ्जालमा देखिएका समाचार कस्तो माध्यमबाट आएको छ भन्ने कुरा ख्याल गर्नुपर्छ । कतिपय अवस्थामा समाचारको शीर्षकबाट नै मानिसहरूले उक्त समाचारप्रति आफ्नो धारणा राख्न भ्याइसकेका हुन्छन् ।

त्यसैले सामाजिक सञ्जालमा देखिएका समाचार पूर्ण रूपमा सत्य हुन्छन् भन्ने हुँदैन । कुनै पनि समाचारप्रति आफ्नो धारणा बनाउनुअघि समाचार पूर्ण रूपमा पढ्नुपर्छ । त्यस समाचारप्रति आशंका लागेको खण्डमा फ्याक्ट चेक (त्यस विषयमा छापिएका अन्य समाचार हेर्ने) गर्नुपर्छ ।

कतै कुनै पनि व्यक्ति वा पेजबाट भ्रामक समाचार फैलाएको खण्डमा त्यसलाई नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा रिपोर्ट गर्न सकिन्छ ।

साइबर ब्युरोका प्रहरी प्रवक्ता डीएसपी पशुपति कुमार राय भन्छन्, “सामाजिक सञ्जालबाट कसैले पनि भ्रामक समाचार फैलाएको छ भने त्यसलाई नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा रिपोर्ट गर्नुपर्छ । नजिकको प्रहरी कार्यलयले उक्त रिपोर्ट साइबर ब्यूरोमा पठाउँछ । र यहाँबाट अनुसन्धान हुन्छ । उक्त आरोप पुष्टि भएको खण्डमा विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको दफा ४७ को मुद्दा लाग्छ ।”

त्यस्तै कसैले फेसबुक, टिकटक, युट्युब जस्ता माध्यमबाट भ्रामक सूचना प्रसारण गरेको छ भने ती माध्यम र सम्बन्धित पाेस्ट उपर रिपोर्ट गर्न सकिन्छ । उक्त समाचार झुटो वा भ्रामक भएको पुष्टि भएको खण्डमा ती अकाउन्ट नै बन्द हुनसक्छ ।  

अनलाइनमा गलत सामग्री भेटे सम्बन्धित ठाउँमा यसरी दिनुहोस् उजुरी

१.साइबर ब्युरो

इन्टरनेटको युगमा अनलाइन दुर्व्यवहार एकदमै सामान्य भइसकेको छ । इन्टरनेटमा किशोरावस्थाका आधा जसो प्रयोगकर्ताहरु दैनिक अनलाइन बुलिङको सामना गरिरहेका हुन्छन् ।

तर बिडम्बनाको विषय त्यसमध्ये आधाले यस किसिमका गतिविधि विरुद्ध कहिल्यै रिपोर्ट गर्दैनन् । किनभने उनीहरुलाई रिपोर्ट तथा उजुरी गर्ने प्रक्रियाको कुनै जानकारी नै हुँदैन । 

त्यस्ता दूर्व्यवहारका घटनाहरु विरुद्ध उजुरी लिन तथा कारबाही अगाडि बढाउन नेपाल प्रहरी अन्तर्गत साइबर ब्युरो गठन भएको छ । 

  • ईमेलमार्फत ब्युरोमा उजुरी गर्न सुरुमा यहाँ क्लिक गर्नुहोस् ।
  • प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोलाई सम्बोधन गर्दै निवेदन लेख्नुहोस् र आफ्नो नाम तथा सम्पर्क नम्बर राखेर हस्ताक्षर गर्नुहोस् ।
  •  यहाँ  गरी निवेदनको नमूना डाउनलोड गरेर आवश्यक विवरणहरु भर्न पनि सक्नुहुन्छ । अंग्रेजीमा निवेदनको नमूना आवश्यक भए यहाँ क्लिक गर्नुहोस् । 
  • साथमा आफ्नो नागरिकता तथा सवारी चालक अनुमति पत्र वा अन्य परिचय खुल्ने सरकारी परिचय पत्रको दुवै पट्टीको फोटोकपी अट्याच गर्नुहोस् । 
  •  प्रमाणको रुपमा उजुरीसँग सम्बन्धित स्क्रीनसट तथा लिंकहरु समावेश गर्नुहोस् ।
  • यति गरेपछि सेन्ड बटन थिचेर साइबर ब्युरोलाई ईमेलमार्फत उजुरी टिपाउन सक्नुहुन्छ ।

२. प्रेस काउन्सिल

पत्रकार आचारसंहिता २०१६ अनुसार अनलाइन मिडियाहरुले कुनै पनि समाचार सामग्री प्रकाशन तथा प्रशारण गर्नु अघि आफ्नो स्रोत तथा जानकारी पुष्टि गर्नुपर्ने हुन्छ । हिंसा, आतंकवाद, अपराध, आत्महत्या, अश्लीलता जस्ता गतिविधिलाई प्रोत्साहन गर्ने सामग्रीको प्रसारण गर्न पाइदैन ।

विशेषगरी कोभिड-१९ अर्थात कोरोनाभाइरसको यो संकटपूर्ण घडीमा प्रेस काउन्सिल नेपालले छुट्टै निर्देशिका समेत जारी गरेको छ । झुटा तथा अफवाहपूर्ण समाचार प्रशारण गर्ने वेब तथा अनलाइन पोर्टलहरु अनेक छन् ।

यदि तपाईंहरुले समाचारको रुपमा यस्ता सामग्रीहरु अनलाइनमा कतै देख्नु भयो भने सबैभन्दा पहिले जुन प्लेटफर्ममा (फेसबुक, ट्वीटर, युट्युवमा) देख्नुभयो त्यसैमा रिपोर्ट गर्नुहोस् ।  त्यसपछि विस्तारै साइबर ब्युरो र प्रेस काउन्सिलको सहयोग लिनुहोस् । 

  • प्रेस काउन्सिलमा ईमेल मार्फत उजुरी पठाउन सुरुमा यहाँ क्लिक गर्नुहोस् ।
  •  अब यहाँ क्लिक गरी नमूनामा उल्लेख भएअनुसार निवेदन लेख्नुहोस् । 
  • स्क्रीनसट तथा लिंक जस्ता प्राप्त प्रमाणहरु अट्याच गर्नुहोस् । 

३. युट्युव

तपाईंले युट्युवलाई त्यहाँ रहेका अनुपयुक्त सामग्रीहरको विषयमा सोझै रिपोर्ट गर्न सक्नुहुन्छ ।

  • रिपोर्ट गर्न चाहेको भिडियो मूनिको प्लेयरमा रहेको मोरमा क्लिक गर्नुहोस् ।
  • त्यसपछि देखा पर्ने मेनुमा गएर रिपोर्ट अप्सन चयन गर्नुहोस् ।
  • उक्त भिडियोले कुन नियम उल्लंघन गरेको छ भन्ने कुरा खुलाउन त्यहाँ रहेकामध्ये एउटा उपयुक्त विकल्प रोज्नुहोस् ।
  • त्यसपछि तपाईंको आरोपलाई पुष्टि गर्ने विवरणहरु जस्तै टाइमस्ट्याम्प (भिडियोको कति मिनेटमा त्यस्तो सामग्री छ) वा नियम उल्लंघनको व्याख्या सकेसम्म स्पष्ट रुपमा राख्नुहोस् ।
  • प्रत्येक च्यानल मूनी एउटा बटम रहेको हुन्छ त्यहाँबाट तपाईले च्यानलविरुद्ध रिपोर्ट गर्न सक्नहुन्छ । 
  • तपाईंले कुनै निश्चित युट्युव च्यानलकै विरुद्ध समेत उजुरी गर्न सक्नुहुन्छ । त्यसका लागि सम्बन्धित च्यानल खोल्नुहोस् ।
  • त्यहाँ दायाँ तर्फ रहेको अबाउट मा क्लिक गर्नुहोस् ।
  • अब त्यसको तल पट्टी रहेको झण्डा आकारको बटन दबाउनुहोस् । 
  • अब त्यहाँ तपाईंले आफ्नो गुनासोसँग मिल्ने उपयुक्त अप्सन चयन गरेर युट्युव च्यानलकै विरुद्ध उजुरी गर्न सक्नुहुन्छ । 

कसैले अनुमति बिना तपाईंको व्यक्तिगत जानकारी युट्युवमा पोस्ट गरे के गर्ने ? 

सबैभन्दा पहिले जसले तपाईंको सामग्री अपलोड गरेको हो, उसँग सम्पर्क गरेर त्यस्तो सामग्री हटाउन आग्रह गर्नुहोस् ।

यदि तपाईंको आग्रह त्यस्तो व्यक्तिले मानेन वा सम्पर्क हुन सकेन भने तपाईंले यहाँ क्लिक गरी युट्युवको गोपनीयता निर्देशिका अनुसार त्यस्तो सामग्री हटाउनका लागि आग्रह गर्न सक्नु हुन्छ ।

यदि तपाईं अर्को तरिकाबाट युट्युवलाई रिपोर्ट गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गरी युट्युवको रिपोर्टिङ सेक्सन र सेफ्टी गाइडलाइनहरु चेक गर्न सक्नुहुन्छ । 

४. ट्वीटर

तपाईं कुनै ट्वीट विरुद्ध रिपोर्ट गर्न चाहनुहुन्छ भने आफ्नो रिपोर्टको सान्दर्भिकता र कारणलाई केलाउन ट्वीटरले त्यस सम्बन्धी थप जानकारी माग्न सक्छ ।

तपाईंले रिपोर्ट गरेको ट्वीटका शब्दहरु ट्वीटरले आफ्नो फलोअपमा समावेश गर्नेछ र तपाईंलाई नोटिफिकेसन दिनेछ । थप विस्तृत जानकारीका लागि ट्वीटरको सेफ्टी एण्ड सेक्युरिटी सेक्सनमा जानुहोस् र प्लेटफर्ममा देखिएको अनपयुक्त सामग्रीहरुको रिपोर्ट गर्नुहोस् । 

५. फेसबुक

  • पोस्टको माथिपट्टिको दायाँ भागमा रहेको तीन थोप्ला भएको बटनमा क्लिक गर्नुहोस् ।
  • त्यहाँ अन्तिममा रहेको फाइन्ड सपोर्ट अर रिपोर्ट पोस्टमा जानुहोस् ।
  • फेसबुकलाई त्यस्तो पोस्टको बारेमा सुझाव तथा प्रतिक्रिया दिन त्यहाँ रहेका मध्ये उपयुक्त विकल्प छान्नुहोस् ।
  • सबमिट बटन थिचेर तपाईंले फेसबुकमा रिपोर्ट गर्न सक्नुहुन्छ । 
  •  यहाँ क्लिक गरी फेसबुकमा रिपोर्ट गर्ने विषयमा थप जानकारी लिन समेत सक्नुहुन्छ ।

तपाईंले यसरी रिपोर्ट गर्दा फेसबुकले कन्टेन्टको भिजिबिलिटीलाई सीमित बनाउन सक्छ । सम्बन्धित प्रयोगकर्तालाई त्यस्तो कन्टेन्ट प्लेटफर्मबाट डिलिट गर्न उसले आग्रह गर्न सक्छ । त्यस अलावा फेसबुकले उक्त अकाउन्टलाई निलम्बन गर्न समेत सक्छ । 

यो पनि पढ्नुहोस्:

अनलाइनमा भेटिने सामग्री सत्य हुन् कि गलत, कसरी थाहा पाउने ? 

किन फैलिइरहेका छन् टिकटकमा भ्रामक कन्टेन्ट ?

 

पछिल्लो अध्यावधिक: कात्तिक १५, २०७९ १२:४४