एससीटीले ल्यायो माईकार्ड सेवा, अब ग्राहकले आफ्नो डेबिट कार्डमा चाहे अनुसार फोटो राख्न सक्ने
पुस २४, २०८२ १६:५९
काठमाडौँ । भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले माईकार्ड नाममा पर्सनलाइज्ड कार्ड सर्भिस सेवा औपचारिक रूपमा सुरुवात गरेको छ । यस अन्तर्गत एससीटी नेटवर्क अन्तर्गतका बैङ्क तथा वित्तीय संस्थाका ग्राहकहरूले आफ्नो इच्छा अनुसारको फोटो राखेर एससीटी-युनियनपे डेबिट कार्ड लिन सक्नेछन् ।
हाललाई एससीटी-युनियनपे स्किम अन्तर्गत आईसीएफसी फाइनान्स लिमिटेडबाट यो सेवा सुरु गरिएको हो । यो सेवा बैङ्क तथा वित्तीय संस्थाको मागअनुसार भविष्यमा भिसा तथा नेपालपे स्किममा समेत सुरु गर्न सकिने गरी विकास गरिएको छ कम्पनीले जनाएको छ ।
एससीटी नेटवर्क बाहेकका बैङ्क तथा वित्तीय संस्थाले समेत माईकार्डको यो प्लेट्फर्म प्रयोग गरी सेवा प्रदान गर्न सक्नेछन् । एससीटीले हाल २३ वटा बैङ्क तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससीटी-युनियनपे कार्ड जारी गर्दै आइरहेको छ ।
एससीटीले आफ्नै कार्ड स्विचिङ संरचना स्मार्ट स्विच मार्फत एससीटी-युनियनपे कार्ड र भिसा कार्ड जारी गर्ने तथा भिसा, रुपे, मास्टरकार्ड तथा डिस्कभर कार्ड स्वीकार गरि कार्ड मार्फत हुने कारोबारको सेवा प्रदान गर्दै आएको छ । विगत दुई दशकदेखि नेपालभर सुरक्षित सरल र भरपर्दो भुक्तानी सेवा दिँदै आएको एससीटी नेपालकै पहिलो स्वदेशी कार्ड स्किम हो ।
एससीटीले कार्ड सेवाका अतिरिक्त विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरूलाई स्मार्ट क्यूआर, स्मार्ट पे – आईबीएफसी अन्तर बैङ्क भुक्तानी सेवा, स्मार्ट बैङ्किङ मोबाइल बैङ्किङ लगायतका सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
पछिल्लो अध्यावधिक: पुस २४, २०८२ १६:५९
