close

अब एन्ड्रोइड प्रयोगकर्ताले फोन गर्दा आफ्नो ‘कलिङ कार्ड’ अर्कोतिर देखाउन पाउने, यसरी गर्नेछ काम

टेकपाना टेकपाना

पुस २५, २०८२ १४:३

अब एन्ड्रोइड प्रयोगकर्ताले फोन गर्दा आफ्नो ‘कलिङ कार्ड’ अर्कोतिर देखाउन पाउने, यसरी गर्नेछ काम

काठमाडौँ । प्रविधिको दुनियाँमा एन्ड्रोइड र आईओएसबिचको प्रतिस्पर्धा सधैँ रोचक रहँदै आएको छ । एप्पलले आफ्ना प्रयोगकर्ताका लागि कन्ट्याक्ट पोस्टर्स (Contact Posters) मार्फत जुन सुलभता र व्यक्तिगत पहिचानको सुविधा दिएको थियो, गुगलले पनि अब आफ्ना एन्ड्रोइड प्रयोगकर्ताका लागि ठ्याक्कै त्यस्तै सशक्त फिचर ल्याउने तयारीमा छ ।

गुगलको फोन एपमा चाँडै उपलब्ध हुने माई कलिङ कार्ड (My Calling Card) फिचरले अब तपाईँले कसैलाई फोन गर्दा तपाईँको पहिचान कसरी देखिने भन्ने कुराको पूर्ण नियन्त्रण तपाईँकै हातमा सुम्पिनेछ । गत वर्ष गुगलले एन्ड्रोइडमा कलिङ कार्ड्स ल्याएको थियो, जसले परिवार वा साथीभाइबाट फोन आउँदा उनीहरूको जानकारी कसरी देखिन्छ भन्ने कुरा कस्टमाइज गर्ने अनुमति दिन्छ ।

तर, यसमा एउटा ठुलो कमजोरी थियो, तपाईँले अरूको कार्ड त मिलाउन सक्नु हुन्थ्यो, तर तपाईँले कसैलाई फोन गर्दा तपाईँको आफ्नै फोटो वा नाम कसरी देखिन्छ भन्ने कुरा मिलाउने विकल्प थिएन । यही अधुरो महसुस भइरहेको फिचरलाई पूर्णता दिँदै गुगलले अब माई कलिङ कार्ड विकल्प थप्न लागेको हो ।

यसको माध्यमबाट तपाईँले आफ्नो फोटो, फन्ट र रङहरू छनोट गरेर आफ्नै डिजिटल परिचय बनाउन सक्नु हुनेछ ।

कसरी गर्ने सेटअप ?

गुगलको फोन एपको भर्सन २०४.०.८५२०२९४७३-पब्लिक बेटा-पिक्सेल (204.0.852029473-publicbeta-pixel) मा यो फिचर पूर्ण रूपमा काम गर्ने अवस्थामा देखिएको छ । यो फिचर सार्वजनिक भएपछि प्रयोगकर्ताले निम्न चरण पुरा ग रेर आफ्नो कलिङ कार्ड बनाउन सक्नेछन् ।

यसका लागि सबैभन्दा पहिला तपाईँले Phone by Google एप खोलेर सेटिङभित्र रहेको कलिङ कार्ड्समा जानुपर्ने हुन्छ । त्यहाँ रहेको माई कलिङ कार्ड सेक्सन अन्तर्गत Create बटनमा ट्याप गरेर गुगल अकाउन्ट छनोट गर्नुपर्छ ।

यति गरिसकेपछि आफ्नो ग्यालरी, क्यामेरा वा गुगल फोटोजबाट एउटा तस्विर छनौट गर्न मिल्छ । तस्बिर छनोट गरेपछि आफ्नो रुचि अनुसारको फन्ट र रङहरू चयन गरेर कार्ड कस्तो देखिन्छ भनेर प्रिभ्यु पनि हेर्न मिल्नेछ ।

यो कार्ड कसलाई देखाउने (तपाईँका कन्ट्याक्ट लिस्टमा भएकाहरूलाई मात्र वा सबैलाई) भन्ने कुरा पनि यहाँबाट तय गर्न सकिनेछ । एक पटक कार्ड बनेपछि यो तपाईँको सेटिङमा सुरक्षित रहनेछ र तपाईँले चाहेको समयमा यसलाई एडिट गर्न सक्नु हुनेछ ।

यो फिचरमा गुगलले एउटा महत्त्वपूर्ण नियम राखेको छ- प्राथमिकता (Priority) । यदि तपाईँले कसैलाई फोन गर्नुभयो र त्यो व्यक्तिले तपाईँको कन्ट्याक्ट पहिले नै सेभ गरेर आफ्नै तरिकाले तपाईँको कार्ड कस्टमाइज गरिसकेको छ भने उसकै सेटिङले प्राथमिकता पाउनेछ । तर, यदि उसले तपाईँको कार्डमा कुनै परिवर्तन गरेका छैन वा तपाईँ नयाँ कन्ट्याक्ट हुनुहुन्छ भने तपाईँले बनाएको माई कलिङ कार्ड नै उसको स्क्रिनमा देखिनेछ ।

यसमा प्रयोगकर्ताको नाम, फोटो र गुगल अकाउन्टका अन्य केही जानकारीहरू देखिनेछन् । कल प्राप्त गर्ने व्यक्तिको फोनको स्क्रिन साइज अनुसार तपाईँको तस्बिर केही काटिन पनि सक्छ ।

 

पछिल्लो अध्यावधिक: पुस २५, २०८२ १४:३