अब पैसा नतिर्ने प्रयोगकर्ताले एक्समा एआई फोटो एडिटिङ सुविधा प्रयोग गर्न नपाउने
पुस २५, २०८२ १६:३
काठमाडौँ । एलन मस्कको सामाजिक सञ्जाल प्लेटफर्म एक्सले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुल ग्रोक मार्फत गरिने फोटो एडिटिङ सुविधालाई सशुल्क प्रयोगकर्ताहरूका लागि मात्र सीमित गरेको छ । विना सहमति मानिसहरूको यौनजन्य डिपफेक तस्बिरहरू बनाउन यो टुलको व्यापक दुरुपयोग भएपछि एक्सले यस्तो कदम चालेको हो ।
ग्रोक च्याटबटले प्रयोगकर्ताको अनुरोधमा अरू व्यक्तिको फोटोलाई डिजिटल रूपमा परिमार्जन गरी लुगा हटाइदिने गरेको पाइएपछि यसको चौतर्फी विरोध भएको थियो । धेरै महिलाहरूले आफ्नो तस्बिरलाई बिकिनी वा थोरै लुगा लगाएको अवस्थामा सम्पादन गरिएको पाएपछि आफूहरूले अपमानित र अमानवीय महसुस गरेको बताइरहेका छन् ।
शुक्रबार बिहानदेखि एक्समा फोटो एडिटिङ वा सिर्जना गर्न खोज्ने प्रयोगकर्ताहरूलाई ग्रोकले 'फोटो जेनेरेसन र सम्पादन हाल सशुल्क ग्राहकहरूका लागि मात्र सीमित छ' भन्ने सन्देश दिन थालेको छ । यसको अर्थ अब यो फिचर प्रयोग गर्न प्रयोगकर्ताको नाम र भुक्तानी सम्बन्धी जानकारी एक्सको रेकर्डमा हुनुपर्नेछ । यद्यपि, सशुल्क सब्सक्रिप्सन नभएकाहरूले ग्रोकको छुट्टै एप र वेबसाइट मार्फत भने अझै पनि फोटो सम्पादन गर्न सक्नेछन् ।
बेलायती प्रधानमन्त्री सर केइर स्टारमरले ग्रोकबाट वयस्क र बालबालिकाका यौनजन्य तस्बिरहरू सिर्जना हुनुलाई लज्जास्पद र घृणित भन्दै टिप्पणी गरेका छन् । बीबीसीका अनुसार उनले यस्ता कार्य गैरकानुनी भएको र यसलाई नसहने स्पष्ट पारेका छन् ।
बेलायत सरकारले सञ्चार नियामक निकाय ओफकमलाई एक्स विरुद्ध आफ्नो पूर्ण शक्ति प्रयोग गर्न निर्देशन दिएको छ । ओफकमसँग अदालतको आदेश मार्फत एक्सको लगानी रोक्ने वा बेलायतमा यसको पहुँचमा प्रतिबन्ध लगाउनेसम्मको अधिकार छ ।
यसअघि पप स्टार टेलर स्विफ्टको डिपफेक तस्बिर सार्वजनिक हुँदा पनि एक्सले यस्तै आलोचना खेपेको थियो । अहिलेको नयाँ प्रतिबन्धले एआई प्रविधिको सुरक्षा र यसको नियमनका विषयमा विश्वव्यापी रूपमा नयाँ बहस सिर्जना गरेको छ ।
पछिल्लो अध्यावधिक: पुस २५, २०८२ १६:३
