सरकारका सबै मन्त्रालयलाई कागज रहित बनाउन जीआईओएमएस प्रणाली अनिवार्य गर्दै सञ्चार मन्त्रालय
पुस २५, २०८२ १८:१८
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सबै मन्त्रालयहरूमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जीआईओएमएस) अनिवार्य गर्ने भएको छ । शुक्रबार मन्त्रालय मातहतको सूचना प्रविधि विभाग पुगेका सञ्चारमन्त्री जगदीश खरेलले सबै मन्त्रालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जीआईओएमएस) अनिवार्य गराउनेगरी काम गर्न विभागलाई निर्देशन दिएका हुन् ।
मन्त्रालयहरूको सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन सबै मन्त्रालय र निकायलाई कागज रहित बनाउनुपर्नेमा जोड दिँदै उनले जीआईओएमएसलाई हरेक मन्त्रालयमा अनिवार्य गराउने निर्देशन दिए । हाल अर्थ र सञ्चार मन्त्रालयले जीआईओएमएस लागु गरिसकेका छन् ।
सरकारी निकायबाट सम्पादन हुने कामलाई एउटै सूचना प्रविधि प्रणालीमार्फत सरल, सहज, छरितो, मितव्ययी, पारदर्शी र प्रभावकारी सम्पादन गरी कागज रहित बनाउने सरकारको अवधारणालाई कार्यान्वयन गर्न यो प्रणाली विकास गरिएको हो । विभागले विकास गरेको यो प्रणाली प्रयोग गरेर विद्युतीय माध्यमबाट तोक आदेश तथा टिप्पणी निर्णय, चिठीपत्रको दर्ता तथा चलानी, हाजिरी, बिदा तथा काज स्वीकृत, अभिलेख व्यवस्थापनलगायत अनिवार्य रूपमा विद्युतीय हस्ताक्षरको प्रयोग गरी सम्पादन गर्न सकिन्छ ।
पछिल्लो अध्यावधिक: पुस २५, २०८२ १८:१८
