काठमाडौँ । अन्य आधुनिक अपरेटिङ सिस्टममा वर्षौँदेखि उपलब्ध रहेको एक उपयोगी फिचर अन्ततः माइक्रोसफ्टले विन्डोज ११ मा समावेश गरेको छ । विन्डोज ११ को नयाँ अपडेटमा टास्कबारको सिस्टम ट्रेमा रहेको ब्याट्री आइकनको छेवैमा ब्याट्री प्रतिशत देखाउने विकल्प उपलब्ध भएको हो ।
हाल बजारमा उपलब्ध म्याकओएस, आईप्याडओएस, आईओएस र धेरैजसो एन्ड्रोइड डिभाइसमा ब्याट्री प्रतिशत सिधै स्क्रिनमा हेर्न मिल्ने सुविधा छ । विन्डोज मात्र यस्तो आधुनिक अपरेटिङ सिस्टम थियो जसमा यो फिचर सिधै उपलब्ध थिएन । माइक्रोसफ्टले यो कमीलाई सम्बोधन गरेको छ ।
यसअघि विन्डोज प्रयोगकर्ताले आफ्नो विन्डोज कम्प्युटरमा कति प्रतिशत चार्ज बाँकी छ भनेर हेर्न ब्याट्री आइकनमा माउसको कर्सर लैजानुपर्ने बाध्यता थियो । अब भने टास्कबारमै प्रतिशत देखिने भएपछि प्रयोगकर्ताले अनुमान भरमा ब्याट्रीको अवस्था थाहा पाउनुपर्ने झन्झट हटेको छ ।
विन्डोज ११ को पछिल्लो भर्सन प्रयोग गर्ने जोकोहीले यो फिचर प्रयोग गर्न सक्छन् । त्यसका लागि टास्कबारको सिस्टम ट्रेमा देखिएको ब्याट्रीको अप्सनमा क्लिक गर्नुहोस् ।
त्यसपछि पुनः तलपट्टि देखिएको ब्याट्री अप्सनमा ट्याप गर्नुहोस् ।
अनि, ‘ब्याट्री पर्सेन्टेज’ (Battery Percentage) को अप्सनमा गई यो अप्सन अन गर्नुहोस् ।
यती गर्नुभयो भने तपाईंको टास्कबारमा रहेको सिस्टम ट्रेमै कति प्रतिशत ब्याट्री बाँकी छ भन्ने जानकारी हेर्न सक्नुहुन्छ ।
माइक्रोसफ्टले ब्याट्री पर्सेन्टेज मात्र नभई आइकनमा अन्य साना सुधार गरेको छ । यस अन्तर्गत ‘ब्याट्री सेभर’ मोड अन हुँदा ब्याट्री आइकन सुन्तला रङको देखिन्छ । चार्ज हुँदा भने हरियो रङ्ग देखिन्छ ।
पछिल्लो अध्यावधिक: पुस २६, २०८२ १०:२९
