close

पठाओलाई राइड शेयरिङको पर्याय बनाएका असिममानसिँह बस्न्यातले घोषणा गरे काठमाडौँ-१ बाट उम्मेदवारी

टेकपाना टेकपाना

पुस २७, २०८२ १३:४२

पठाओलाई राइड शेयरिङको पर्याय बनाएका असिममानसिँह बस्न्यातले घोषणा गरे काठमाडौँ-१ बाट उम्मेदवारी

काठमाडौँ । उद्यमी असिममान सिंह बस्न्यातले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा काठमाडौँ १ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् । कुनै पार्टीबाट चुनाव लड्ने वा स्वतन्त्र उमेदवारका रूपमा अघि बढ्ने भन्ने कुरा भने उनले खुलाएका छैनन् ।

उनले आइतबार सार्वजनिक वक्तव्य जारी गर्दै लामो सोच–विचारपछि आफूले यो निर्णय लिएको बताएका छन् । उद्यमीका रूपमा नेपालमै बसेर केही बनाउने प्रयास, रोजगारी सिर्जनाको यात्रा, असफलता, दबाब र जिम्मेवारी नजिकबाट अनुभूति गरेको अनुभवले नै आफूलाई यो निर्णयमा पुर्‍याएको बस्न्यातको भनाइ छ ।

उनले व्यवस्था सहज नहुँदा क्षमता हुँदाहुँदै पनि भविष्य अनिश्चित बन्ने यथार्थले राजनीतिमा जिम्मेवारी लिन प्रेरित गरेको उल्लेख गरेका छन् । “म राजनीति गर्न होइन, जिम्मेवारी लिन आएको हुँ,” भन्दै बस्न्यातले आफ्नो उम्मेदवारीको उद्देश्य स्पष्ट पारेका छन् ।

उनका मुख्य एजेन्डामा उद्यमशीलता र स्टार्टअप प्रवर्धन, जवाफदेहीता र पारदर्शिता तथा अनुभव र नयाँ सोचलाई जोड्ने पहल रहेका छन् । युवाले नेपालमै सपना देख्न र त्यसलाई कार्यान्वयन गर्न सक्ने वातावरण निर्माण गर्नु आफ्नो प्राथमिकता रहेको उनले बताएका छन् ।

त्यस्तै, काम गर्नेले जवाफ दिनुपर्ने र निर्णयकर्ताले जिम्मेवारी लिनुपर्ने संस्कार स्थापित गर्नु नै सुशासनको आधार भएको उनको धारणा छ । अनुभवी पुस्ता र युवाबिच संवाद, मार्गदर्शन र सहकार्यलाई मजबुत बनाउने पहलमार्फत दिगो परिवर्तन सम्भव हुने विश्वास पनि उनले व्यक्त गरेका छन् ।

बस्न्यातले यो यात्रा एक्लै सम्भव नहुने उल्लेख गर्दै आम नागरिकको साथ, सुझाव, आलोचना र सक्रिय सहभागिताको आवश्यकता औँल्याएका छन् । “तपाईँहरूसँगै एक-एक पाइला अघि सार्दै परिवर्तनको लडाईँ लड्नु छ,” उनले भनेका छन् । नेपालमै सम्भावना छ भन्ने विश्वासलाई व्यवहारमा उतार्न सबैलाई यो यात्रामा सहभागी हुन उनले आह्वान गरेका छन् ।

उनले राइड शेयरिङ प्लेटफर्म पठाओलाई नेपालमा भित्र्याउने मात्र नभई देशमै राइड शेयरिङको संस्कृतिको विकास गर्दै गिग इकनोमीमार्फत सामाजिक–आर्थिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका छन् । पठाओ नेपाल नेपालमा भित्रिएको दिनदेखि हालसम्म उनको नेतृत्वमा सञ्चालन हुँदै आएको छ ।

तालिम प्राप्त तथा भेरिफाइड राइडर प्रणाली, दस लाख रुपैयाँसम्मको बीमा सुविधा, चौबिसै घण्टा सञ्चालनमा रहने कल सेन्टर लगायतका विशेषताका कारण उनको नेतृत्वमा पठाओ नेपाली बजारमा राइड शेयरिङ सेवाको पर्यायका रूपमा स्थापित हुन सफल भएको छ ।

पछिल्लो अध्यावधिक: पुस २७, २०८२ १४:७